वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क सङ्कलन गर्दै भरतपुुर महानगर

भरतपुर । भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारीमा गएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । कामको सिलसिलामा विभिन्न मुलुकमा गएका नागरिकको सही तथ्याङ्क लिन वैशाख १६ गतेदेखि विवरण सङ्कलन गर्न लागिएको हो । महानगरका २९ वटै वडामा गएर गणकले वैदेशिक रोजगारीमा गएका घरपरिवारका सदस्यसँग यथार्थ विवरण सङ्कलन गर्नेछन् । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले वैदेशिक रोजगारसम्बन्धी तथ्याङ्क सङ्कलन, अभिलेखीकरण तथा पाश्र्वचित्र निर्माण गर्न गणकलाई दुई दिने अभिमुखीकरण कार्यशाला गोष्ठी आयोजना गरेको छ । स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलले प्रत्येक वडाबाट एक/एक गणकलाई प्रशिक्षण दिएर सम्बन्धित वडामा खटाइने बताए । ‘यो महानगरको एउटा महत्वपूर्ण काम हो’ उनले भने, ‘महानगरले अब वैदेशिक रोजगारीमा गएका व्यक्तिको दस्तावेज निर्माण गर्ने छ ।’ गणकले आगामी असार १५ भित्रमा तथ्याङ्क सङ्कलन गरेर महानगरपालिकामा बुझाइ सक्नुपर्ने निर्देशक पौडेलको भनाइ थियो । वडामा जाने गणकहरूले वैदेशिक रोजगारीमा गएका व्यक्तिको घरघरमा गएर उनीहरुको पारिवारिक विवरणका साथै लिङ्ग, उमेर, वैदेशिक रोजगारीमा गएको अवधि, बुझेर गए नगएको, सीप सिके नसिकेको, मान्यता प्राप्त म्यानपावरबाट गए नगएको, वैदेशिक रोजगारीबाट फर्कनु पर्नाको कारण, फर्केर आएपछि व्यापार व्यवसाय गरे नगरेको जस्ता थुप्रै विवरण अध्यावधिक गर्ने छन् । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले यो विवरण सङ्कलन भएपछि वैदेशिक रोजगारीमा गएकाको यकिन तथ्या¬ङ्क आउने र फर्केर आएकाले महानगरपालिकाबाट कस्तो अपेक्षा गरेका छन् भन्ने कुराको प्रष्ट खाका तयार बनाउन सहयोग पुग्ने जानकारी दिए । रासस

हुम्लाको उत्तरी नाम्खामा ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलासुस्ती

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका चार पक्की पुल हालसम्म अधुरै छन् । ठेकेदारको लापरवाहीले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन् । पाँच वर्ष बितिसक्दा पनि हेप्का, तागु, सल्ली र याङगार खोलाका पुल अधुरै छन् । यी स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै सवारीसाधन चल्दै आएका छन् । पुल नबन्दा नाम्खालगायत छिमेकी गाउँपालिकाका बासिन्दाले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । ठेकेदारको चरम लापरवाहीले निर्माण सम्झौताको म्याद सकिँदासम्म काम पूरा हुन नसकेको भन्दै स्थानीयले विरोध गरेका छन् । चार पुल दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । निर्माणमा संलग्न ठेकेदारले बेला–बेलामा म्याद थप गर्दै रकम भुक्तानी भने लिने गरेका छन् । ठेकेदारले विभिन्न बाहना बनाउँदै पुल निर्माणमा ढिलाइ गर्दै आएका छन् । नाम्खा–१ स्थित हेप्काखोलामा पक्की पुल १० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको छ वर्ष पुगेको छ भने उक्त पुल बनाउने जिम्मा एमएस जेबी धुलिखेल, काठमाडौंले पाएको थियो । विसं २०७४ साउनमा दुई वर्षभित्रै सक्ने सम्झौता भएको हेप्काखोला पुल छ वर्षसम्म अधेरै छ । यस्तै ताग्रु खोला पुलको पनि काम हुन सकेको छैन । नाम्खा–४ मा पर्ने सल्लीखोलाको पुल निर्माणको जिम्मा स्वच्छन्द काग्री जेबीले नौ करोड ३३ लाख रुपैयाँमा लिएको थियो । उत्तः पुल पनि अधुरै छ । सोही वडामा पर्ने याङगार खोलामा पुल निर्माणको ठेक्का पाएको धुलिखेल निशान जेबीले चार करोड १६ लाख रुपैयाँमा लिएको जिम्मा लिएको भए पनि काम अधुरै छ । यस्तै नाम्खा गाउँपालिका–६ लिमीमा पर्ने टाक्ची र लिङखोलाको मोटरेबल पुल निर्माणको जिम्मा अर्जुन महताराले एक करोड ३५ लाख रुपैयाँमा लिएका थिए । महताराले पनि काम अधुरो बनाउँदै आएका छन् । हिमताप, बाटो अवरुद्धलगायतका समस्या देखाएर काम ढिलाइ गरेका छन् । पुल निर्माणका लागि आवश्यक पर्ने डन्डी, सिमन्टलगायतका सामग्री ल्याउन समस्या भएकाले निर्माणमा ढिलाइ भएको हिल्सा–सिमकोट सडक योजना कार्यालयका इञ्जीनियर निरज राजवंशीले बताए । सबै पुल निर्माणका लागि यही असारसम्मको म्याद रहेको छ । म्याद थप्दै पक्की पुलको ठाउँमा काठेपुल ठेकेदार कम्पनीले समयमा काम नगर्दा गाउँपालिकाका खोलामा काठेपुल निर्माण गरिएको छ । हेप्काखोलामा पूर्वाधार विकास कार्यालयले २३ लाख रुपैयाँ खर्चेर चारपाङ्ग्रे सवारीसाधन गुड्ने काठेपुल निर्माण गरेको छ । सल्लीखोला र याङ्गारखोलामा पनि काठेपुलकै सहायतामा गाडी गुड्ने गरेका छन् । ताग्रुखोलामा भने काठेपुलसमेत नहुँदा खोलाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । वर्षौँदेखि पुल निर्माण अधुरै छाडेका ठेकेदारले विभिन्न बहाना बनाएर म्याद थप गर्दै आएका छन् । यसअघि कोरोना महामारी, हिमपात र ढुवानी समस्याजस्ता बहानामा म्याद थप्न माग गर्दैआएका थिए । हिल्सा–सिमकोट सडक योजना कार्यालय हुम्लाले दुई वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएका हेप्का, सली र ताग्रुखोलामा पुल निर्माणका लागि चारपटक म्याद थप गरिसकेको छ । याङ्गारखोला पुल निर्माणमा दुई वर्ष म्याद थप गरिएको छ । रासस

अव्यवस्थित तार हटाउँदै वीरगन्ज महानगर

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको छ । अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने भन्दै महानगरपालिकाले अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको हो । पहिलो चरणमा आइतबारदेखि घन्टाघर क्षेत्रबाट अव्यवस्थित तार हटाउने काम सुरु गरिने सेवा प्रवाह गर्ने सेवा प्रदायक कम्पनीका प्रतिनिधिसहितको बैठकले निर्णय गरेको महानगरका प्रशासन शाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । महानगरले पटक–पटक तार व्यवस्थापनका लागि पहल गर्दासमेत सेवा प्रदायक कम्पनीले चासो नदेखाएपछि आइतबारबाट काटेरै हटाउन लागिएको हो । बैठकमा महानगरभित्र सेवा प्रवाह गर्ने सबै इन्टरनेट तथा केवल सेवा प्रदायकका प्रतिनिधि बोलाइएको भए पनि पाँचवटा सेवा प्रदायकका प्रतिनिधिमात्रै सहभागी भएका थिए । नेपाल टेलिकम, सिजी नेटवर्क, भायनेट, म्याक्स र हकनेटका प्रतिनिधि बैठकमा सहभागी थिए । वीरगन्जको मुख्य सडक र शाखा सडक छेउमा रहेका विद्युतीय पोल र टेलिकमका पोलमा विभिन्न कम्पनीका नेट सेवा प्रदायक तथा अन्य संस्थाले टाँगेका तार अव्यवस्थित रहेको र यसले महानगरको सौन्दर्यतालाई नै कुरूप बनाएकाले महानगरले व्यवस्थापनका लागि पटक–पटक प्रयास गर्दै आइरहेको छ । अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने हुँदा ती तारको व्यवस्थापन गर्न तार काटेरै अघि बढ्न थालेको हो । रासस