विवाहको निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य

रुकुम । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ । वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ । आठबीसकोट-३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले वडामा बालविवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए । विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने/नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागू गरेको उनले बताए । वडामा यस वर्ष १० जोडीले बालविवाह गरेको तथ्याङ्क रहेको छ । यस वर्ष उमेर नपुगेर विवाह गर्न लागेका एक जोडीको विवाहसमेत वडा कार्यालयले रोकेको जनाएको छ । सामाजिक तथा आर्थिकरूपमा पनि बालविवाहले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले वडामा बालपिववाह र मदिराजन्य पदार्थमा कडाइ गरिएको वडाध्यक्ष विकको भनाइ थियो । ‘विवाह कार्डमा जोडीको सही जन्ममिति उल्लेख गरे/नगरेको थाहा पाउन वडा कार्यालयमा जन्मदर्तालगायत अन्य विवरणको अभिलेख हुने भएकाले सजिलो छ । वडाभन्दा बाहिरबाट विवाह गर्नेको हकमा सम्बन्धित वडा कार्यालयसम्म समन्वय गर्नेगरी लागेका छौं । बालविवाह रोक्न समुदायको पनि राम्रो साथ मिलेको छ,’ वडाध्यक्ष विकले भने । वडाको नियम उल्लङ्घन गरेमा कानुनबमोजिम कारबाही गरिनेसमेत वडा कार्यालय जनाएको छ । मदिरा सेवनमा निषेध सोही वडामा विगत पाँच वर्षदेखि मदिरा तथा सुर्तीजन्य पदार्थ पनि निषेध गरिएको छ । विंस २०७५ मङ्सिर १५ गतेदेखि वडामा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको वडाध्यक्ष विकले जानकारी दिए । उनका अनुसार हाल वडाभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री-वितरण र सेवन हुन छाडेको छ । वडाले मदिरा निषेध गरेपछि वडामा मदिरा सेवन गर्ने पाँचजना र बिक्री वितरण गर्ने छ व्यक्तिलाई वडाले कारबाहीसमेत गरेको उनले बताए । वडाले मदिरा सेवन गरेका पाँच जनालाई पाँच हजारका दरले जरिवाना गराएको र मदिरा बिक्री-वितरण गर्ने एक जनालाई २० हजार जरिवाना गराएको छ । वडाभन्दा बाहिर गएर मदिरा सेवन गर्ने व्यक्तिलाई पनि सूचना प्राप्त भएसम्म मदिरा सेवन नर्गन वडाले सेचत गराउँदै आएको छ । वडालाई विकास निर्माणलगायत सामाजिक, आर्थिक तथा सांस्कृतिक हिसाबले नमूना बनाउन वडा कार्यालय लागिरहेको वडा कार्यालयले जनाएको छ । रासस

बालेनप्रति सांसद सिंह आक्रोसित, भन्छन् : तल्लो वर्गको काम गर्नेले यो देशमा बस्न नपाउने ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले काठमाडौं महानगरपालिकाको प्रमुखको दम्भ बढेको बताएका हुन् । उनले काठमाडौंले मधेसका मान्छेका कारणले फल र तरकारी खान पाइरहेको भएपनि मधेसका मान्छेहरुलाई अपमान गरिएको बताए । करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरे । काठमाडौं संघीय राजधानी भएको भन्दै यहाँ संविधान प्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने जानकारी दिए । ‘महानगरको मेयरको दम्भ बढेको छ । किनभने श्रमिकहरु, तल्लो वर्गको काम गर्नेले यो देशमा बस्न नपाउने ? महानगर व्यवस्थित गर्न नपाउने, महानगरमा विकासको एउटा सिन्को भाँच्न नपाउने, तर कहिले फुटपाथको व्यापारीलाई त्रसित गर्ने, कहिले कवाडीहरुलाई हटाउने । तर आज त्यही मधेसको मान्छे जो कवाडीको रुपमा छ, त्यो अपमानित भइरहेको छ । कवाडीहरुलाई रेगुलेट गर्ने काम गरियोस् । मेयरले बनाएको काठमाडौं होइन । यो काठमाडौं संघीय राजधानी हो । यहाँ एउटा गरिव पनि बस्न पाउँछ । एउटा चेपाङ, मुसहर र र दलित पनि बस्न पाउँछ र प्रधानमन्त्री पनि बस्न पाउँछ’, उनले भने । उनले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौं कुनैदिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताए ।

काठमाडौं महानगरका औषधि पसल मापदण्डविपरीत, बन्द फ्रिजमै खोप भण्डारण

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का धेरै र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त कमजोरी पत्ता लगाइएको विभागको भनाइ छ । वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको पाइयो । यसरी भेटिएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको कामपाको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिए । अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको छ । ‘औषधि पसलले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।’ अनुगमनको अवस्था बुझिसकेपछि कामपाको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’ औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाणपत्र छ । पसलमा अर्कै व्यक्ति बसेको पनि अनुगमनका क्रममा भेटिएको छ । अनुगमनका क्रममा भेटिएका केही प्रतिनिधि पसलबाहेक धेरैमा समस्या देखिएको कामपाको भनाइ छ । कामपाले गत मङ्सिरमा महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो ।  सूचनाको बेवास्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो । अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार कारबाही हुनेछ । औषधि पसल सञ्चालन गर्न कामपामा अनुमति लिनुपर्छ, फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल कामपामा दुई हजार छ सय औषधि पसल सञ्चालनमा रहेको बताइएको छ । औषधि पसलको यो प्रवृत्तिमा तत्काल सुधारको खाँचो रहेको बताउँदै कामपाले गत असोजदेखि नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा समस्या देखिएका पसललाई कारबाहीको दायरामा ल्याउने कामपाले जनाएको छ । रासस