७ वटा नगरपालिका उत्कृष्ट घोषित

काठमाडौं । विभिन्न ७ वटा नगरपालिका उत्कृष्ट नगरपालिकाका रूपमा घोषित भएका छन् । नगरपालिका संघको ३१औं स्थापना दिवसका अवसरमा विभिन्न ६ नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो संस्थागत विकास तथा सुशासनमा दाङको घोराही उपमहानगरपालिका उत्कृष्ट बनेको छ । यस्तै, स्थानीय आर्थिक विकासमा बुटवल उपमहानगरपालिका, सामाजिक विकासमा गौर रौतहटको नगरपालिकापालिका उत्कृष्ट बनेको हो । वन वातावरणको क्षेत्रमा रत्ननगर नगरपालिका र चौरजहारी नगरपालिका उत्कृष्ट घोषित भए । यस्तै, सहरी योजना तथा विपद व्यवस्थापनमा गोदावरी नगरपालिका काठमाडौ र भिमदत्त नगरपालिका उत्कृष्ट घोषित भएका हुन् ।

छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन मुसिकोट नगरको निर्देशन

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । नगरपालिकाकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सो निर्देशन गरेको जनाइएको छ । नयाँ शौक्षिक सत्रदेखि सबैले सामुदायिक/सरकारी विद्यालयमा अनिवार्यरुपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको नगर प्रमुख जीवलाल खरेल जानकारी दिए । मुसिकोट नगरपालिकाभित्र हाल १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ प्राथमिक विद्यालय रहेको बताइएको छ । रासस

‘इन्टरनेसनल मेयर अवार्ड’द्वारा भरतपुर महानगर प्रमुख दाहाल सम्मानित

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई उक्त अवार्ड अर्पण गरिएको हो । प्रमुख दाहाललाई लण्डनका मेयर सादिक खान सहित मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागी हुनुभएको विशेष समारोहका बीच अवार्ड वितरण गरिएको जनाइएको छ । सो अवसरमा मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो । पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरकफरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो । यस वर्ष उक्त अवार्ड पाउनेमा बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गर पनि रहेको प्रमुख दाहालले जानकारी दिइन् । अवार्ड प्राप्त गरेपछि प्रमुख दाहालले उच्च राजनीतिक नेतृत्वबीच सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताइन् । नेपालमा स्थानीय तहमा भौतिक निर्माणसहित अन्य सूचकमा भरतपुर महानगरपालिका अग्रणी रहेको छ । प्रमुख दाहालले यसअघि बेलायती उपसभामुख एवं सांसदसँग भेटवार्ता गर्नुभएको थियो । प्रमुख दाहालले बेलायती संसद् हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्स् तथा सत्तारुढ कन्जरभेटिभ सांसद एवं पूर्वमन्त्री डिन रसेल र प्रमुख प्रतिपक्षी दल लेबरका सांसद वीरेन्द्र शर्मासँग संसदमा भेटघाट गरेकी थिइन्  । त्यस्तै, लन्डनस्थित नेपाली दूतावासले गरेको सम्मान कार्यक्रममा सहभागी भएकी प्रमुख दाहालले देश विदेशबाट भरतपुर महागरपालिकाको काम सूक्ष्म ढङ्गले अध्ययन भएरै आफूले अन्तर्राष्ट्रिय अवार्ड पाउन लागेको बताएकी थिइन् । प्रमुख दाहालले लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई पनि भरतपुर भ्रमणका लागि निमन्त्रणा दिएकी छन् । राजदूत आचार्यले भरतपुर भ्रमण वर्षले समग्र नेपाल भ्रमण वर्षलाई पनि फाइदा पुग्ने बताएको प्रमुख दाहालसँगै रहेका अर्जुन पाठकले जानकारी दिए । प्रमुख दाहालले बेलायतका उच्च अधिकारीहरुलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएको जनाइएको छ ।