काठमाडौं महानगरले गर्याे ५ कुकुरधनीलाई कारबाही

काठमाडौं । घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको जानकारी दिए । पहिलो दिनमा ५ कुकुरधनीलाई कारबाही गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताए । उनले भने, “यसअघि पनि बेलाबेला काठमाडौँ महानगरपालिकाले यस्तो कार्य नगराउन सचेत गराउँदै आएको हो । सार्वजनिक स्थानमा शौच गराउने कार्य बन्द नगरेपछि अहिले कुकुर जफत गर्न लागिएको हो ।” ४ वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो । यसपटक भने काठमाडौँ महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ । सार्वजनिक ठाउँमा ल्याएर कुकुरलाई शौच गराए पनि फोहर उठाउनुपर्ने र झोला साथमै ल्याउनुपर्ने महानगरपालिकाको नियम छ । कुकुरको मलमूत्रसँगको लसपसबाट परजीवी जुका तथा पाचन प्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोगको सङ्क्रमण फैलने केन्द्रीय पशु चिकित्सालयका पशु चिकित्सक डा.ग्रीष्म न्यौपानेले बताए । डा. न्यौपानेले कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाको अण्डा मानिसको खानेकुरामा पुगेमा कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि सिस्टको रूपमा विकसित हुने सम्भावना रहने बताए ।

वैदेशिक रोजगारीबाट फर्केका पदमबहादुरलाई तालिमले बनायो उद्यमी

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ का ६ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुन्, पदमबहादुर खपाङ्गी । सधैँ विदेशी भूमिमा पसिना बगाएर मात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उनी आफ्नै गाउँघरमा केही व्यवसाय गर्ने सोच लिएर घर फर्किएका थिए । त्यतिबेला फालेलुङ भएर नेपाल र सिक्किमसँगको सिमानामा पर्ने तीन सिमाना भञ्ज्याङ जाने पर्यटकीय मार्ग पनि कालोपत्र हुँदै गरेको थियो । तीन सिमानामा हरेक वर्ष चौँरी महोत्सव गाउँपालिकाले आयोजना गर्ने गरेको थियो । महोत्सव हेर्न छिमेकी जिल्ला र सिक्किमबाट समेत पर्यटक आउने गर्दथे । महोत्सवको प्रचारसँगै बर्सेनि पर्यटकको सङ्ख्या पनि बढिरहेको थियो । यस भञ्ज्याङबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल र कञ्चनजङ्घा हिमशृङखलाको साथै चौँरी गाईको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यो स्थान पर्यटकको रोजाइमा पर्न थालेको छ । पदमबहादुर विदेशमा रहँदा उनकी श्रीमती डिनाले गाउँमै सानो किराना पसल सञ्चालन गरेका थिए । यसले घरखर्च चलाउन सहजिलो भएको थियो । डिनाले किराना पसलसँगै सदरमुकामबाट पाउरोटी खरिद गरी बेच्ने पनि गर्थे । सदरमुकामबाट पाउरोटी ल्याई बिक्री गर्दा ल्याएको समयमा सबै पाउरोटी बिक्री भई नसक्दा मिति सकिने र ५० किलोमिटर टाढा भएकाले फिर्ता पनि नहुने समस्या थियो । |यसले कहिलेकाहीँ उल्टै नोक्सानीसमेत व्यहोर्नुपर्ने हुन्थ्यो । घर फर्केपछि श्रीमतीले सुरु गरेको किसाना पसलले मात्रै ४० वर्षका पदमबहादुरलाई चित्त बुझेन । कुनै व्यवसाय गर्ने विचार उनको मनमा पलायो । मनमनै उनले पाउरोटी उद्योग सञ्चालन गर्ने सोच बनाए पनि सीपको अभावमा अलमलमा परेका थिए । यतिकैमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलले बेकरीसम्बन्धी छदिने सीप विकास तालिम आयोजना गरेको खबर स्थानीय बुद्धिजीवी सुरेन्द्र अधिकारीबाट थाहा पाए । यस कार्यक्रमले गत वर्षको माघ १५ देखि २० गतेसम्म सदरमुकाम फुङ्लिङमा सञ्चालन गरेको तालिममा सहभागी थिए । तालिमले उनलाई बेकरी उद्योग स्थापना गर्न प्रेरणा मिल्यो । उनको योजनालाई श्रीमतीले पनि समर्थन गरेपछि उनले बेकरी बनाउन आवश्यक मेसिन तथा औजार खरिदको लागि पैसा जोहो गरे । आफूसँग भएको पैसाले मात्र नपुग्ने भएपछि उनले श्रीमतीका नाममा फालेलुङ गाउँपालिकामा रहेको छिमेक लघुवित्तबाट रु तीन लाख २० हजार ऋण निकाले । तालिम सहजकर्ता ज्ञानबहादुर भारतीको सल्लाहअनुसार काठमाडौं गई करिब रु छ लाख ५० हजारको लगानीमा मध्यम खालको मेसिन र अन्य आवश्यक सामान लिएर गाउँ फर्किए । मेसिन ल्याएपछि गाउँपालिका, जिल्ला घरेलु कार्यालय पाँचथर र आन्तरीक राजश्व कार्यालय पाँचथरमा नेपाल सरकारको नियमानुसार गत वैशाखमा पाउरोटी उद्योग दर्ता गरी सञ्चालन गरे । तालिम लिएपछि तीन महिना त दर्ता प्रक्रियादेखि सामान खरिद गर्नमा नै समय बित्यो । उनको उद्योगमा वर्षायामको समयमा दैनिक औसतमा ३५ केजी बराबरको मैदाको पीठोको पाउरोटीका विभिन्न सामग्री उत्पादन हुने गर्दथ्यो । हिउँदमा भने पाउरोटीको माग घटेका कारण दैनिक २० केजी बराबरको मैदाको पीठोबाट उनले सामग्री उत्पादन गर्दै आएका छन् । सदरमुकामबाट ल्याएको बासी पाउरोटी खान बाध्य स्थानीय उपभोक्ता र पर्यटकहरु गाउँमै बनेको ताजा पाउरोटी पाउँदा निकै खुसी छन् । उनी खाद्य तथा गुणस्तर नियन्त्रण विभागमा पनि दर्ता गरी गुणस्तरीय उत्पादनको सुनिश्चित गराउने सोचमा छन् । गाउँमा केन्द्रीय प्रसारण नभए पनि उद्योग सञ्चालन गर्न आवश्यक विद्युत् पनि स्थानीय लघुजलविद्युत् आयोजनाबाट प्राप्त भएको छ । स्थानीय खेवाथाम खोलाबाट उत्पादित लघुजलविद्युत् (४० किलोवाट क्षमता) आयोजनाको बिजुली प्रयोग गरेबापत आफूले आयोजनालाई पनि मासिक रु तीन हजारसम्म विद्युत् महसुल बुझाउने गरेको उनको भनाइ छ । उद्योग सञ्चालन गर्न खपाङ्गी दम्पतीले पूरै समय दिएका छन् भने आवश्यकताअनुसार पदमबहादुरले आफ्नो भाइहरुलाई पनि दैनिक ज्यालादारीमा बोलाउने गर्छन् । स्थानीय माध्यमिक र आधारभूत विद्यालयको वरिपरि रहेका पसलबाट हरेक दिन पाउरोटीलगायत अन्य सामग्रीहरुको माग हुने भएकाले बिहान समयमा पसलपसलमा पुर्याउन एकजना ज्यालादारी कामदार पनि राखेका छन् । उत्पादन गरेको सबै सामग्री बिक्री भएको देख्दा उनी आफ्नो व्यवसायप्रति सन्तुष्ट छन् । बजार माग धान्नै नसकिने गरी बढेको छ भने स्थानीय उपभोक्ताहरु पनि ताजा र गुणस्तरीय पाउरोटी स्थानीय स्तरमै पाएर दङ्ग छन् । व्यवसाय बढेसँगै व्यवसाय र लेखा व्यवस्थापन गर्न आफूलाई थप सीपको आवश्यकता भएको उनी बताउँछन् । लेखा व्यवस्थापनको अभावमा यति नै नाफा भयो भनी बताउन नसके पनि छिमेक लघुवित्तको मासिक किस्ता २४ हजार तिरी लगभग रु ३० हजार नाफा भएको छ । व्यवसायलाई अझै बढाउँदै लैजाने सोचमा रहेका पदमबहादुर गाउँपालिकासँग पनि उद्योग व्यवसाय प्रवद्र्धनमा थप सहयोगको अपेक्षा राख्नछन् । हिउँदको समयमा अपेक्षित रुपमा पाउरोटी खपत हुन नसकेपछि खपाङ्गीको परिवारलाई व्यवसाय चलाउन हम्मे परिरहेको छ । गाउँमा सुरु भएको व्यवसाय निरन्तर चलाउन गाउँपालिकासँग उनले सहयोगको अपेक्षा राखेका छन् । गाउँपालिकाबाट सहयोगका लागि केही सहयोग प्राप्त हुन्छ कि भन्ने अपेक्षाले उनले सबै कागजात मिलाएर गाउँपालिकामा गत मङ्सिरमा निवेदन दिएका छन् । यस वर्ष सहयोगको कार्यक्रम नभएकाले अर्को वर्ष सहयोग उपलब्ध गराउने बचन उनले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुबाट पाएका छन् । रासस

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध

सल्लेरी ( सोलुखुम्बु ) । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । उनका अनुसार गत मङ्सिरदेखि नै चिसोले हिउँ जम्न थालेपछि विकास योजनाका काम रोकिएको हो । ‘खुम्बुको माथिल्लो क्षेत्रमा यतिखेर हिउँ जमेका छन्, त्यसैले विकास निर्माणमा कङ्क्रिटका काम सबै ठप्प छ, हिउँ नपग्लेसम्म काम सुरु हुने अवस्था छैन’, वडाध्यक्ष अधिकारीले भने । रोकिएका विकास निर्माण फागुनको तेस्रो साताबाट सुरु हुने उनको भनाइ छ । हाल पालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो गर्ने योजना, खुम्जुङ छिर्ने मुख्यद्वार निर्माण, गुम्बा रङरोगन योजनालगायतका काम रोकिएको वडा कार्यालयले जनाएको छ । ती योजना कतिपय अन्तिम चरणमा पुगिसकेका छन् भने केही भर्खरै सुरु भएका योजना रहेको वडा सदस्य ङिमायाङ्जी शेर्पाले जानकारी दिए । पुस, माघमा खुम्बुको माथिल्लो क्षेत्र हिउँले पूरै ढाक्नुका साथै चिसोले जमिन नै जम्ने भएकाले सो क्षेत्रमा विकास निर्माणले गति लिन नसक्ने सदस्य शेर्पाले बताए । आर्थिक वर्ष नै बाधक सामान्यतय देशका अन्य स्थानमा आर्थिक वर्षको सुरुआतदेखि असार मसान्तसम्म नै विकास निर्माणले गति लिने गर्छन् । तर हिमाली क्षेत्र खुम्बुमा भने आर्थिक वर्ष नै विकासको बाधक बन्ने गरेको खुम्बु पासाङल्हामु गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताइन् । सरकारी बजेटको सामान्यतय भदौ–असोजमा मात्रै अख्तियारी आउने र कात्तिकबाट चिसो सुरु हुने भएकाले विकास निर्माणमा सिमेन्टका काम सुरु गर्न नसकिने उनको भनाइ छ । माथिल्लो क्षेत्रमा विकासका योजनाको काम फागुन अन्तिम साताभन्दा अघि सुरु गर्न नसकिने हुँदा आफूहरूका लागि साउनबाट सुरु भएर असार मसान्तमा सकिने आर्थिक वर्ष नै विकासको बाधक भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए । भौगोलिक कारण यस क्षेत्रमा बाह्रै महिना विकासका काम सञ्चालन गर्न नसक्नु यहाँका नागरिकको बाध्यता हो । फागुन अन्तिमबाट सुरु गरिने विकासे काम असार मसान्तमा नसकिने स्थानीय लामाकाजी शेर्पाले बताए । ‘अरु ठाउँमा एक आवभर नै विकासका काम गर्न सहज छ भने हामीलाई निकै कठिन छ, साउनबाट नयाँ आव सुरु हुन्छ, भदौ–असोजतिर बजेट निकासाको अख्तियारी आउँछ, कात्तिकबाट चिसो सुरु हुने भएकाले काम गर्न सकिन्नँ, त्यसो हुँदा चैतबाट करिब तीन महिनाभित्र सबै काम सक्नुपर्ने बाध्यता छ’ उनले भने । अधिकांश समय चिसो हुने र हिउँले सेताम्मे हुने खुम्बुको माथिल्लो क्षेत्रका नागरिक हरेक समस्यासँग जुध्न बाध्य छन् । चिसो बढेसँगै धारामा पानीसमेत जमेर नआउने भएकाले यस क्षेत्रका नागरिक विभिन्न समस्या झेल्न बाध्य छन् । रासस