पकेट क्षेत्रमै ६० प्रतिशत घट्यो सुन्तला उत्पादन
पर्वत । सुन्तला उत्पादनका लागि ख्याति कमाएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरका सुन्तला कृषक गत वर्षजस्तो खुसी छैनन् । किनकी, यस वर्ष उनीहरूले सोचेअनुसारको कमाइ गर्न सकेनन् । गत वर्ष सुन्तला उत्पादनबाट पाँच करोडभन्दा बढी भित्र्याएका कृषकले यस वर्ष दुई करोड हाराहारीको आम्दानीमा चित्त बुझाउनुपरेको छ । गत वर्षभन्दा ६० प्रतिशतले उत्पादनमा कमी आएको कृषकले गुनसो गरेका छन् । सुन्तला पकेट क्षेत्र भए पनि बोट मर्ने र फल पाक्ने बेलामा औँसा किराको प्रभावले पनि यस वर्ष उत्पादनमा ६० प्रतिशतले गिरावट आएको स्थानीय कृषक खेमनाथ पौडेलले बताए । यहाँका बगैँचामा सुन्तला किन्नका लागि काठमाडौं पोखरा, नारायणगढदेखि व्यापारी घरघरमै आएर लगिसकेका छन् । तीन वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढङ्गले बगैँचा जिम्मा लगाएको माछापुच्छ्रे सुन्तला सहकारी संस्थाका पूर्वअध्यक्ष दाताराम चापागाईँले बताए । यस वर्ष उत्पादन घटेकाले गत वर्षजस्तो राम्रो कमाइ नभएको उनले बताए । ‘गएको वर्ष पाँच करोडभन्दा बढीको सुन्तला बिक्री गरेका थियौँ । यस वर्ष मुस्किलले रु दुई करोड जति आम्दानी भएको अनुमान छ,’ चापागाईँले भने। आफूले गत वर्ष ६ लाखको सुन्तला बिक्री गरेकामा यस वर्ष २ लाखभन्दा आम्दानी नभएको उनले गुनासो गरे । स्थानीय शिक्षक भूमिराज शर्माका अनुसार सुन्तला टिप्नका लागि एक साताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैँचा भरिएका थिए । सुन्तला टिप्ने र लैजानेका कारण मेला लागेजस्तै देखिएको थियो । थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको उनले बताए । देउपुरका कृषक खेमराज पौडेलले एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने भएकाले गत वर्षजस्तो उत्पादन नभएको बताए । उनले गत वर्ष पाँच लाखमा सुन्तलाको बगैँचा बिक्री गरेको बताउँदै यस वर्ष सुन्तला उत्पादन झण्डै आधा घटेको जानकारी दिए । विगत दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएका छन् । परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ। यहाँका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन् । साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिकरूपमा सुरु गरेको अर्का कृषक विजय चापागाईँले बताए । उनले सुन्तला खेतीको विस्तारका लागि अझै प्रयास गर्न जरुरी रहेको बताए । सुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिकरूपमा प्रत्येक परिवारको दुईदेखि सात लाखसम्म कमाइ हुन थालेको चापागाईंको भनाइ छ। यस वर्षदेखि सुन्तलाका बोट मर्न थालेको स्थानीय टीकाराम तिमिल्सिनाले बताए । ठूला र साना बोट पनि धमाधम मर्न थालेको र रोग पत्ता नलागेको उनले बताए । विभिन्न औषधि प्रयोग गरे पनि निरन्तर रुख सुक्न थालेको उनको भनाइ छ। कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बोटमा लामो समय फल राख्दा अर्को वर्षको उत्पादनमा कमी आउने बताए । उनले देउपुरमा औँसा कीरा, फल झर्नेलगायत अन्य सङ्क्रमणका कारण पनि सुन्तलाको उत्पादन गत वर्षभन्दा घटेको बताउँदै समग्र जिल्लाभरमा भने उत्पादनमा असर नगरेको बताए ।
दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान
काठमाडौं । प्युठान नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिएको छ । नगरपालिकाले नगरलाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरेको जनाएको छ । नगरलाई दूध तथा दुग्धजन्य वस्तुमा आत्मनिर्भरताका लागि दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहित गर्न दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने नीति ल्याइएको नगरप्रमुख विष्णु योगीले जानकारी दिए । उनका अनुसार कार्यक्रम सुरु भएकै पहिलो तीन महिनामा ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । नगरप्रमुख योगीले भने, “उत्पादनमा आधारित अनुदान प्रभावकारी र प्रेरणामुखी हुन्छ भन्ने आधारमा यो कार्यक्रम सुरु गरिएको हो ।” किसानको सम्मानका लागि ‘उत्पादन हातमा अनुदान साथमा’ भन्ने नीति अवलम्बन गरिएको उनको भनाइ छ । नगरपालिकाले प्युठान नगरपालिका–१ खैरास्थित शिवालय दुग्ध सहकारी संस्था लिमिटेड र वडा नं ३ स्थित नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमार्फत सो कार्यक्रम लागू गरिरहेको छ । दैनिक १ हजार ५ सय लिटर दूध खपत हुने आँकलन गरिएकोमा हाल दैनिक ४ सय लिटर दूध सङ्कलन हुँदै आएको छ । नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमा दैनिक १५० लिटर दूध सङ्कलन हुँदै आएको सहकारीका अध्यक्ष विष्णु पाण्डेले बताए । सहकारीले त्रैमासिकरुपमा प्रतिवेदन पेश गर्ने र सोही आधारमा नगरपालिकाले अनुदान उपलब्ध गराउने गरेको छ । अध्यक्ष पाण्डेले भने, “हामीले पेश गरेको प्रतिवेदनका आधारमा नगरपालिकाले सोझै किसानको खातामा राखिदिन्छ ।” नगरपालिकाका अन्य वडामा पनि छिट्टै डिपो राखी दूध सङ्कलन गर्ने उक्त सहकारीको योजना छ । भौगोलिक विकटता तथा ढुवानी समस्याले चाहे जति दूध सङ्कलन गर्न नसकिएको पाण्डेले जानकारी दिए । स्थानीय तहले उत्पादनमा आधारित अनुदान दिएपछि दूधको सङ्कलनमा सहजता र लागत मूल्यमा राहत मिलेको शिवालय सहकारीका अध्यक्ष विष्णु बस्नेतले जानकारी दिए । सहकारीमा दैनिक २५० लिटरसम्म दूध सङ्कलन हुँदै आएको छ । दूधको साथसाथै छिट्टै तरकारी उत्पादनमा समेत किसानलाई अनुदान दिने कार्यक्रम ल्याउन लागिएको नगरपालिकाले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
वीरगञ्ज । नेपाल खोनेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो । खानेपानीको मुहान सुकेर पानीको समस्या भएका बेला महानगरपालिकाले महसुल भुक्तानी गर्नेगरी धारा जडान गरिदिन पत्राचार गरेपछि संस्थानले गत २०८० साउनमा वडा नं १ देखि वडा नं १९ सम्मको विभिन्न सार्वजनिक स्थानमा दुई सय ७८ धारा जडान गरेको थियो । धारा जडान भएयता महानगरपालिकाले खानेपानी महसुल भुक्तानी नगरेपछि ती धाराको लाइन काट्ने तयारी गरिएको नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख इन्जिनियर निरन महर्जनले जानकारी दिए । ‘सार्वजनिक स्थानमा जडान भएका ती सबै धारा जडानलागत तथा मासिक महसुल करिब रु ४४ लाखभन्दा बढी बक्यौता भइसकेको छ’, उनले भने, ‘बक्यौता महसुल बुझाउन गत २०८० असोज २५ गते नै महानगरपालिकालाई पत्राचार गरे पनि अझै महसुल बुझाएको छैन ।’ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडलले खानेपानी महसुल बुझाउने प्रतिबद्धता जनाएको र उनको अन्यत्र सरुवा भएपछि यसयता महानगरपालिकाबाट महसुल बुझाउने ठोस प्रतिवद्धता आउन नसकेको जनाइएको छ । महानगरपालिकाले अब पनि महसुल नबुझाए बाध्य भएर सार्वजनिक स्थानमा जडान भएका धाराको लाइन काट्ने तयारी गरेको प्रमुख महर्जनको भनाइ छ । यस्तै नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने २३ ग्राहकको धाराको काटेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा रु ५० हजारभन्दा बढी बक्यौता राख्ने पाँच सय ४२ ग्राहकको नाम कालोसूचीमा राखेर धाराको लाइन काट्न सुरु गरेको हो । महसुल बुझाउन पटक–पटक पत्राचार गरे पनि ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि धाराको लाइन काट्न सुरु गरिएको प्रमुख महर्जनले जानकारी दिए । संस्थानले ग्राहकबाट करिब रु १२ करोड २५ लाख ७९ हजारभन्दा बढी बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । संस्थानले एउटै ग्राहकबाट रु दुई लाखभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको उनले जानकारी दिए । खानेपानी उपभोग गरेबापतको महसुल नबुझाउनेमा पूर्वमन्त्री, पूर्वन्यायाधीस, उद्योगी–व्यवसायी, समाजसेवी, विभिन्न दलका नेता, कर्मचारी प्रशासकको नामसमेत रहेको संस्थानका प्रमुख महर्जनले बताए । महसुल नतिर्नेको सूचीमा रहेका व्यक्तिको नाम स्थानीय तहका वडा–वडामा टाँस गरिएको र पटक–पटक स्थानीय पत्रिकामा सार्वजनिक गर्दा पनि अझै बक्यौता रकम उठाउन नसकिएको उनको भनाइ छ । महानगरपालिकाभित्र खानेपानी संस्थानका आठ हजार ग्राहक रहेकामा सात हजारले महसुल तिरिरहेको तर पुरानो बक्यौताको रकम उठाउन नसकिएको जनाइएको छ । उनले ताकेता गर्दासमेत रकम उठाउन नसक्ने भएपछि धारा काटैर रकम असुल गर्ने अवस्थामा संस्थान पुगेको बताए । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले आफू भर्खरै सरुवा भएर आएकाले यस विषयमा धेरै कुरा थाहा नभएको बताए । कुल दुई लाख पाँच हजार जनसङ्ख्या रहेको वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी संस्थानबाट आठ हजार एक सय ग्राहकले नियमित खानेपानीको उपभोग गर्दै आएका छन् । दैनिक ६०–६५ लाख लिटर खानेपानी उत्पादन गरी वीरगञ्ज महानगर क्षेत्रभित्र वितरण गर्दै आएको खानेपानी संस्थानसँग २० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको प्रमुख महर्जनको भनाइ छ । रासस