बर्सातमा जहिल्यै हिलाम्मे पृथ्वीराजमार्ग, आवतजावतमा सकस
मलेखु । कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ । तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरी यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन् । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी परेको बेला कतिखेर कहाँनेर पहिरोले बाटो थुनिने हो पत्तो हुँदैन । डोजरले खारिएका भित्ताबाट झर्ने ढुङ्गामुढाबाट जोगिन धौधौ पर्छ । काठमाडौंदेखि धादिङ सम्मको माइक्रोबस चालक विकास श्रेष्ठ भन्छन्, 'हिजोआज त सडकको खाल्डोमा भन्दा आँखा पहिरो झर्ने ठाउँमा पुर्याउनुपर्छ ।' बुधबारदेखि यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ । ठाउँ ठाउँमा स–साना पहिरोले सडक थुनिने र सञ्चालन हुने क्रम चलिरहेको छ । घण्टौँ कुर्नुपर्ने गरी भने सडक थुनिएको छैन । त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड बर्खा लागेसँगै जोखिमपूर्ण छ । सडक फराकिलो बनाउन काटिएका भित्ताबाट खसेको स–साना पहिरोले अधिकांश सडक हिलाम्मे र धुलाम्मे हुने गरेको छ । आधा काम गरेर बाँकी रहेको स्थानका खाल्डाखुल्डीले साना ठूला सबै सवारी साधन गुडाउन गाह्रो छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमाल भन्छन्, 'पृथ्वी राजमार्ग यतिबेला जोखिमपूर्ण छ । तर, हिँड्नै नसक्ने अवस्थाको छैन ।' पहिरो र गेग्रानले सडक छियाछिया छ । सडकमा हरेकले चालक होसियार भएर ट्राफिक नियमको पालना गर्ने होभने मात्र सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ । मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ । घाम लागेको बेला अधिकांश स्थान धुलाम्मे हुन्छ । पानी प¥यो भने त्यही धुलो लेदोमा परिणत भएर चिप्लो हुने गर्छ । 'कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन चौबिसै घण्टा हामी खटिरहेका छौंँ', जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले भने । नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रुपले थामिएका छैनन् । कृष्णभीरदेखि मुग्लिनसम्मको सडकमा जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्न सक्ने जोखिम छ । नागढुङ्गादेखि मुग्लिनसम्म ९६ किलोमिटर राजमार्गमा हरेक समय कही न कही सडक एकतर्फी बन्छ । निर्माणधीन पुल र सवारी एकतर्फी हुनसक्ने साँघुरा स्थानको दुबैतर्फ प्रहरी तैनाथ गरेर चालकलाई सजग गराइरहेको श्रेष्ठले जानकारी दिए । नागढुङ्गाको चेकपोष्ट पृथ्वी राजमार्गमा दैनिक कति सवारी काठमाडौं भित्रिन्छन् र कति बाहिरिन्छन् यकिन तथ्याङ्क छैन । सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वको बेला २० हजारसम्म सवारी आउजाउ हुने प्रहरीको अनुमान छ । रासस
पर्वतमा ९६ करोडभन्दा बढीमा ८६ सडक स्तरोन्नति हुने
पर्वत । सङ्घीय सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ९६ करोडभन्दा बढीको लागतमा ८६ सडक स्तरोन्नति गर्ने भएका छन् । जिल्लाका ग्रामीण सडक सुधारमा उक्त रकम गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत खर्च गरिने छ । सडक स्तरोन्नति पनि सोही मन्त्रालयको समन्वयमा हुनेछ । प्रदेश सरकारले रु ६३ करोड ५७ लाख र स्थानीय विकास मन्त्रालयले रु ३३ करोड प्रदान गर्ने यहाँस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए । गत वर्षको तुलनामा आयोजना र बजेट घटेको छ । यो वर्ष रु १९ करोड ४५ बजेट घटेको छभने ५० वटा आयोजना कम छन् । विगतदेखि सञ्चालनमा रहेका छवटा बहुवर्षीय योजनालाई स्रोत सुनिश्चित भएको छ । यसैगरी, दक्षिण पर्वतको पैँयू गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलका लागि रु ५१ लख ४० हजार र मिलनचोक–सल्ल्यान–घाखेत सडकका लागि रु तीन करोड बजेट विनियोजन भएको छ । यो सडक विगत चार वर्षदेखि गति लिन सकेको छैन । बस्ती विकास कार्यक्रमअन्तर्गत सङ्घ सशर्त अनुदानबाट पाँचवटा सडकका लागि रु दुई करोड ७५ लाख विनियोजन भई कार्यान्वयन गर्न सुरु गरिएको छ ।
बैंकको ऋण तिर्न अरुण काबेली पावरले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । अरुण काबेली पावरले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार कम्पनीको संस्थापक सेयरमा थप लगानी गर्न तथा बैंकको दीर्घकालिन कर्जा आंशिक भुक्तानी गर्न चुक्ता पुँजीको १ बराबर ०.५० (१:०.५०) को अनुपातमा हकप्रद जारी गर्नेछ । हकप्रद सेयर प्रस्ताव पारित गर्न कम्पनीले असोज ३ गते काठमाडौंमा बिहान ११ बजे १५औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ । साथै, विभिन्न कम्पनीका संस्थापक सेयरमा गरिएको लगानी अनुमोदन गर्ने तथा नयाँ कम्पनीहरूमा लगानी गर्न स्वीकृती प्रदान गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी वृद्धि हुने भएकाले सो प्रयोजनका लागि प्रबन्ध पत्र तथा नियमावलीका दफाहरुमा आवश्यक संशोधन थपघट वा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी हुन पाउने छन् ।