अबरुद्ध भएको मुग्लिन सडक पुन दुईतर्फी सञ्चालनमा
चितवन, ८ असार । चितवनको नारायणगढ मुग्लिन सडकअन्तर्गत कालीखोलामा खसेको पहिरो पन्छाएपछि अहिले सवारी आवागमन सुरु भएको छ । बिहान ४ बजे खसेको पहिरो ७ः३० बजेतिर पन्छाइएको भए पनि पुनः सडकमा पहिरो खसेर अवरुद्ध भएको थियो । दोस्रोपटकको पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फीनै सञ्चालनमा आएको चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । “पहिलेको पहिरो पन्छाउने बित्तिकै फेरि अर्को पहिरो आयो, त्यो पहिरो तत्कालै हटाएर बाटो सञ्चालन गरियो” कुँवरले भने, “अहिले दुईतर्फी नै गाडी चले पनि गाडीको चाप बढी भएकाले सहज हुन अझै केही समय लाग्छ ।” बिहानदेखि अबरुद्ध भएको प्रहरीका अनुसार एकदुई घन्टामा जाममा परेका सबै सवारी गन्तव्यतर्फ गइसक्ने छन् । यहाँ दैनिक सात हजार बढी सवारी आवतजावत गर्छन् । रासस
नयाँ बसपार्क क्षेत्रभित्र कुनै पनि भवन बनाउन नदिन अन्तरिम आदेश
काठमाडौँ, ८ असार । पुनरावेदन अदालत पाटनले नयाँ बसपार्क क्षेत्रभित्र हाल कुनै पनि भवन नबनाउन काठमाडौं महानगरपालिकालगायतका निकायलाई अन्तरिम आदेश दिएको छ । यही असार १५ गतेसम्म नयाँ बसपार्कभित्र कुनै पनि भवन नबनाउन न्यायाधीश किशोर सिलवालको एकल इजलासले अन्तरिम आदेश दिएको दिएको हो । नयाँ बसपार्क क्षेत्रभित्र गैरकानुनी रुपमा भवन बनाउन लागिएको उल्लेख गरी त्यसलाई रोक्न मागसहित सोमबार राष्ट्रिय एकता मञ्चका केन्द्रीय अध्यक्ष बिजेन्द्रलाल जोशीले रिट निवेदन दायर गरेका थिए । । काठमाडौँ महानगरपालिकाले गैरकानुनी रुपमा भवन बनाउनका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिलाई दिएको र गैरकानुनी तबरबाट व्यापारिक भवन निर्माण गराउने प्रयोजनका लागि उक्त प्रालिसँग सम्झौता गरी जनताको हकअधिकार कुण्ठित गरेको रिट निवेदनमा उल्लेख थियो । गोङ्गबुस्थित बसपार्क बनाउनका लागि सरकारले केही वर्षअघि जनताको १६१ रोपनी जग्गा अधिकरण गरेको थियो । बसपार्क बनाउनका लागि अधिकरण गरिएको जग्गा अन्य प्रयोजनका लागि प्रयोग गर्न कानुनी रुपमा नमिल्ने दाबी गरिएको थियो । रिट निवेदनमा महानगरपालिकालाई स्थानीय स्वायत्त शासन अधिकार ऐनअनुसार नयाँ बसपार्कभित्र कुनै पनि भवन बनाउन नसक्ने उल्लेख गरिएको थियो । रासस
पुननिर्माणसँगै जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड
काठमाडौं, ७ असार । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प प्रभावित जिल्लामा पुननिर्माणसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन व्यावसायिक तथा आयआर्जनका क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । अस्ट्रेलिया सरकारको सहयोगमा उद्योग मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘जीविकोपार्जन पुनःस्थापन : सिकाइ र भावी कार्यदिशा’ विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले भूकम्पबाट भएको क्षतिलाई पुनःस्थापित र पुननिर्माण गर्ने मात्र नभई मुलुकको नवनिर्माणका लागि पनि सबै एकजुट हुनुपर्नेमा जोड दिए । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो गतिलाई तीव्रता दिनुपर्ने बताउँदै उहाँले यसका लागि सरकारले आवश्यक ऐन कानुन, कार्यविधि, भौतिक पूर्वाधार र आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गरे । विगतका तुलनामा सरकारले यस वर्षको बजेटमा औद्योगिक क्षेत्रमा झन्डै ८० प्रतिशत रकम वृद्धि गरेको र यो रकम साना तथा लघुउद्यमको विकासमा विनियोजन गरिने मन्त्री पाण्डेले बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै सामाजिक एकीकरण र आर्थिक उन्नतिका कार्यक्रममा जोड दिए । नेपालका लागि अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले पुननिर्माणसँगै जीवनस्तरको पुनः स्थापना पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै यसमा अस्ट्रेलियन सरकारले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनमा युएनडिपीका राष्ट्रिय निर्देशक रेनाउड मेयरले पुनर्निर्माणसँगै जनताको जीवनस्तर सुधार ल्याउन अस्ट्रेलियन सरकारको सहयोगमा १४ हजार लघुउद्यमीको व्यावसायिक क्षमता अभिवृद्धि गरिएको जानकारी दिए । सो अवसरमा युएनडिपीका सहायक राष्ट्रिय निर्देशक हिमादेवी खड्काले जीविकोपार्जन पुनःस्थापना परियोजनामार्फत २० हजार घरपरिवारमा सामुदायिक पूर्वाधारका कार्यक्रम सञ्चालन गरिएको बताए । सम्मेलनमा पुननिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा विष्णु भण्डारी, युएनडिपीका अर्थी पटेललगायतका वक्ताहरुले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनका अवसरमा विभिन्न जिल्लाका लघुउद्यमीद्वारा निर्मित हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको थियो । रासस