एउटै कार्यालयमा दुई सरकारको  बोर्ड

तनहुँ । सडक डिभिजन कार्यालय तनहुँमा सङ्घ र प्रदेश दुईवटै सरकारको बोर्ड राखिएको छ । सङ्घ वा प्रदेश कुन मातहतमा रहने भन्ने विवादसँगै दुवै सरकारले आ–आफ्नो दाबी गर्दै कार्यालयमा सङ्घ र प्रदेश सरकारको छुट्टाछुट्टै बोर्ड राखेका हुन् । यसरी राखिएको उक्त बोर्डमा सङ्घअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहतमा र प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको मातहतमा रहेको उल्लेख गरिएको छ । सङ्घ वा प्रदेश कुन मातहतमा रहने भन्ने विवाद कायम हुँदा दुवैतर्फबाट बजेट विनियोजन नहुँदा विकास निर्माणको काम प्रभावित भएको कार्यालय प्रमुख इञ्जिनीयर विष्णुप्रसाद काफ्लेले बताएका छन् । गण्डकी प्रदेशमा रहेका तीन कार्यालयमध्ये पोखरास्थित कार्यालय सङ्घमा हुने र बाँकी दुई कार्यालय प्रदेशअन्तर्गत रहने भनिए पनि कार्यालय कसको मातहतमा रहने भन्ने विवादको विषय रहेको उनले जानकारी दिए । उक्त कार्यालयमा रहेका प्राविधिक कर्मचारी सबैले सङ्घ रोजेको र प्रदेशका लागि प्राविधिक एक जना कर्मचारी पनि नरहेको सो कार्यालयले जनाएको छ । प्राविधिक कर्मचारी नभएकाले प्रदेशअन्तर्गतका जिल्लामा विकास निर्माणका काम प्रभावित बनेको छ । कार्यालयमा आवश्यक बजेट नहुनु र कर्मचारी दरबन्दीअनुरुप नहुँदा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट काम गर्न नसकिएको कार्यालय प्रमुख इञ्जिनीयर काफ्लेले बताएका छन् । साविक कार्यालयलाई यथावत राखेर सङ्घ र प्रदेशअन्तर्गत विभिन्न पाँच जिल्लामा काम गर्दै आएका छौँ । उनले भने, “बजेट निकासा नहुँदा कर्मचारीले तलबसमेत खाना नपाएको कार्यालयले जनाएको छ । यस कार्यालयको सङ्घअन्तर्गत तनहुँ, लमजुङ, गोरखा, मनाङ गरी चार जिल्ला र प्रदेशअन्तर्गत सङ्घमा रहेको जिल्ला र नवलपुर गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयका सूचना अधिकारी इञ्जिनीयर सचिन श्रेष्ठले जानकारी दिएका छन् । रासस

सम्झौताको ३ महिना अघि नै सडक कालोपत्र सम्पन्न

दमौली । तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ ।  सम्झौताअनुसार सडक कालोपत्र गरिसक्नुपर्ने अन्तिम मिति माघ १० गतेसम्म थियो । भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो । मोटरमार्ग कालोपत्रका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गते ६०० मिटर सडकको कालोपत्र सम्पन्न भएको फूलबारी मोटरमार्ग कालोपत्र योजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर थापाले जानकारी दिएका छन् । “मोटरमार्ग कालोपत्र गरिसक्नुपर्ने अन्तिम मिति माघ १० गतेसम्म थियो”, थापाले भने, “तर हामीले सम्पन्न गर्ने मितिभन्दा अगावै कालोपत्रको काम सकेका छौं ।” मोटरमार्ग कालोपत्रका लागि कूल रु २५ लाख ३५ हजार ९१८ खर्च भएको छ । जसका लागि भिमाद नगरपालिकाले रु १७ लाख ३० हजार ७६४ र स्थानीयवासीले रु आठ लाख पाँच हजार १५३ लगानी गरेका छन् । अध्यक्ष थापाका अनुसार यहाँका ४१ घरधुरी यो मार्गबाट लाभान्वित भएका छन् । सडक कालोपत्रका लागि प्रतिघर रु १५ हजार सङ्कलन गरिएको थियो । साथै विभिन्न सहयोगदाताबाट कालोपत्रका लागि रु एक लाख ९० हजार १५३ प्राप्त भएको थियो । सडक कालोपत्रका लागि बेलायत, भारत, कावासोती लगायतका ठाउँबाट सहयोग प्राप्त भएको थियो । “छोटो समयमै गुणस्तरीय काम गर्न सफल भएका छौँ”, थापाले भने, “सडक कालोपत्र भएपछि यहाँका स्थानीयवासी धुलोबाट मुक्त भएका छन् ।” कच्ची सडक हुँदा धुलोले स्थानीयवासीलाई समस्या हुने गरेको थियो । भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले लागत साझेदारीमा स्थानीय उपभोक्ताले नमूना काम गरेर देखाएको बताए । “बजारभन्दा बाहिरका गाउँमा पहिलो पटक लागत साझेदारीमा सडक कालोपत्र सम्पन्न गरेका छौँ”, नगरप्रमुख थापाले भने, “यो कार्य सफल भएको छ, अन्य ठाउँमा पनि लागत साझेदारीमा सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।” नगरपालिकाले नगरक्षेत्रभित्र रहेका कच्ची सडक कालोपत्र गर्ने कामलाई प्राथमिकतामा राखेको भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताएका छन् । थापाका अनुसार सडक कालोपत्र नभएका गाउँलाई प्राथमिकताका आधारमा कालोपत्र गरिनेछ । रासस

अघि बढ्यो अलपत्र परेको मेलम्ची, यसरी हुँदैछ काम

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिएको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानीको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको हो । अहिले आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै १०० कामदार कार्यरत छन् । अरु १०० कामदार आगामी सातासम्ममा थप गरी पूर्णरुपमा काम अघि बढाउने कम्पनीको योजना छ । सिएमसीले निर्माण गरिसकेका संरचनाहरुको अन्तिम काम (फिनिसिङ) गर्न शुरु गरिएको हो । अहिले सुरुङको सबलीकरण र बाँकी सुरुङभित्रै ८०० मिटर क्षेत्रमा कङ्क्रिट ढलानको काम अघि बढिरहेको छ । राष्ट्रिय गौरवको योजनामा पर्ने सो आयोजनाको बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने एक सम्झौतामा सरकारले दुई महिना अघि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा अहिले नयाँ ठेकेदार कम्पनीले नयाँ उत्साहका साथ काम थालेकाले ती काम छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्दै आएकी छिन् । आयोजनामा कामको प्रगति बुझ्न बुधबार यहाँ आइपुग्नु हुँदा मन्त्री मगरले चिनियाँ कम्पनी सिनो हाइड्रो उत्साहका साथ पूर्वाधारको तयारीमा जुटिरहेको बताए । काठमाडौँका जनताले भोग्दैआएको खानेपानीको अभाव पूरा गर्ने यो आयोजनाको निर्माणमा धेरै समय लागिसकेकाले अब थप लम्बाउन नदिने उनले प्रतिबद्धता जनाइन् ।  स्थलगत अवलोकन पछि मन्त्रालयका सचिव माधव बेल्वासेले सुरुङको काम सम्पन्न भइसकेकाले बाँकी काम समयमै सकिने विश्वास व्यक्त गरे । उनका अनुसार सुरुङ लामै भए पनि प्राविधिक दृष्टिकोणबाट त्यो संरचना त्यति भने जटिल छैन । उनले भने–“समयमै सम्पन्न हुनेमा विश्वास गर्ने प्रशस्त आधारहरु छन् ।” कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । योजना मुताबिक काम अघि बढे वर्षा अघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुनेछ । हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष कोपिला पण्डितले सङ्घीय सरकारले मेलम्चीसम्म मात्रै नभएर हेलम्बुसम्मैको सडक स्तरोन्नति गर्नुपर्ने बताए । हेलम्बुलाई मेलम्ची प्रभावितमा ‘क’ मा राख्नुपर्नेमा उनको जोड छ । उनले भने–“काठमाडौँवासीले पानी पाउनुपर्छ भन्नेमा हामी सकारात्मक छौँ तर, हामीलाई पनि असर पर्नु हुँदैन ।” आयोजनाका जम्माजम्मी कामलाई तीन भागमा विभाजन गरिएको छ–हेडवर्क, सुरुङमार्ग र प्रशोधन केन्द्रको निर्माण । यसमध्ये हेडवर्क र सुरुङमार्गको काम सिनो हाइड्रोले गर्ने भएको छ । प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरिरहेका छन् । आयोजना निर्माणका क्रममा पहिले धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिभित्रै काम सकिने वरिष्ठ डिभिजनल इञ्जिनियर पन्तले बताए । सिएमसीले काम छाडेर गए पनि उसले सहायक ठेकेदारलाई रकम दिन बाँकी छ र यो समस्या समाधानका लागि मन्त्रालयमा कार्यरत सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । उनका अनुसार हेडवर्कमा भौतिक अवरोध कमै मात्र रहेको छ । पहिले गिट्टी, बालुवा आपूर्ति, रुख कटान, चट्टान विस्फोटन जस्ता धेरै अवरोध थिए । उनले भने–“अहिले काम नै अवरुद्ध हुने गरी समस्या आएको छैन ।” यहाँ रहेका खानेपानी प्रशोधन केन्द्र निर्माणको काम झण्डै अन्तिम चरणमा पुगेको प्रवक्ता पन्तले बताए । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्याङ्की राखिने छन् । एउटाको निर्माण सम्पन्न भइसकेको छ भने अर्को ट्याङ्कीको निर्माण केही समयमै सम्पन्न हुने बताइएको छ । प्रत्येकको क्षमता साढे आठ करोड लिटर रहेको छ । एउटाको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) र अर्को एशियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा निर्माण भएको हो । एडिबीको सहयोगमा निर्माणाधीन ट्याङ्कीको काम ९० प्रतिशत पूरा भएको र निर्माण अन्तिम चरणमा पुगेको बताइन्छ । यसको ठेक्का सम्झौताको अवधि गत महिना सकिएको थियो । सोही ठेकेदार कम्पनीलाई नै सिएमसीले छाडेर गएका कतिपय निर्माणका काम गर्न दिइएकाले तीन महिना अवधि थपिएको छ । उनले भने– “अबको दुई–तीन महिनामा सबै काम सक्ने देखिएको छ ।” मेलम्ची नदीमा बाँध बाँध्ने काम र स्टिलको पुल बनाउने काम बाँकी छन् । विद्युतीय प्रणालीबाटै विभिन्न ढोकाहरु खोल्ने र लगाउने गरी निर्माण भइरहेका छन् । ढोकाको डिजाइन, निर्माण र जडानका काम झण्डै पाँच प्रतिशत मात्रै बाँकी रहेको छ । टनेलमा भुईँ ढलानको काम दुई दशमलव पाँच किलोमिटर र भित्ता ढलान दुई दशमलव पाँच किलोमिटर बाँकी छ । टनेलभित्र हावा प्रवाह नहुँदा पानी नबग्ने भएकाले तीन वटा ‘भेन्टिलेटर’ निर्माण गर्ने डिजाइनमा रहेको बताइएको छ । तीनमध्ये दुई वटा सम्पन्न भइसकेको र एउटा सम्पन्न हुन बाँकी छ । खेर जाने पानीलाई बागमतीमा खसाल्न बागमतीमा भर्याङ जस्तै संरचना बनाइने पन्तले जानकारी दिए । एकै पटक छाड्दा खोलाको पानी धमिलिने हुँदा बहाव कम गर्न भ¥याङ जस्तै संरचना निर्माण गर्न लागिएको हो । आयोजनाको मुख्य सुरुङ खन्ने काम सकिएको छ ।आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधारका लागि झण्डै ७० किलोमिटर सडक मर्मत सम्भार र स्तरोन्नतिको काम सकिएको छ । सुरुङ माथिबाट ढुङ्गा माटो खसेर यहाँका संरचनालाई क्षति नपुगोस् भनी बनाइएको २७ दशमलव ५ किलोमिटर प्रारम्भिक ‘सपोर्ट’ को काम सकिएको छ । झण्डै एक लाख घनमिटर कमजोर चट्टान झिकेर त्यस ठाउँमा कङ्क्रिट राख्ने काम पनि सकिएको छ । सुरुङदेखि प्रशोधन केन्द्रसम्म आपूर्ति पाइप जडान भइसकेको छ । भुईँमा अन्तिम ढलानको काम झण्डै २५ दशमलव तीन प्रतिशत मात्रै बाँकी छ । लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आधा योजनामध्ये यो एक हो । काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या हल गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुई दशक भयो । यसबीचमा विभिन्न संस्थाहरु यो आयोजनासँग जोडिए । विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति नै गठन गरिएको थियो । आयोजना निर्माणका लागि एडिबीले सन् २००१ मा सम्झौता गरेको थियो । पछिल्लो पटक काम गरेको इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महीनापछि अहिले नयाँ कम्पनीले बाँकी निर्माणका काम शुरु गरेको छ । विना अवरोध योजना मुताबिक निर्माण कार्य अघि बढे अबको १४ महिनामा आयोजना सम्पन्न हुने ठानिएको छ । रासस