बागलुङ बजारमा पहिलोपटक हाइमास्ट प्रविधिको स्मार्ट सडक बत्ती जडान
गलकोट । बागलुङमा पहिलोपटक बागलुङ बजारमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको छ । बागलुङ बजारका मुख्य चोक, पर्यटकीयस्थल, बसपार्क तथा अस्पताल क्षेत्रमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको हो । बागलुङ नगरपालिका र नेपाल विद्युत् प्राविधिकरणको साझेदारी बजेटमा उक्त सडक बत्ती जडान गरिएको हो । उज्यालो बागलुङ कार्यक्रमअन्तर्गत पहिलो चरणमा बागलुङ बजारको मुख्य १० स्थानमा हाइमास्ट प्रविधिको बत्ती जडान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । नगरप्रमुख श्रेठका अनुसार क्रमश नगरलाई नै उज्यालो बनाउने अभियानले निरन्तरता दिने उनको भनाइ छ । नगरपालिकाले उज्यालो बागलुङ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा सडकमा बत्ती जडान गरिएको हो । नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणका ३५ प्रतिशत लागत साझेदारीमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको इन्जिनियर सोविन घर्तीले जानकारी दिए । कूल रु ३६ लाख ८२ हजार लागतमा पहिलो चरणमा १० वटा मिटरसहितका सडक बत्ती जडान गरिएको हो । राजमार्ग, पहुँच सडक, वडा सिमाना सडक, रणनीतिक महत्व र व्यावसायिक चहलपहल बढी हुने क्षेत्र, मन्दिर बसपार्क र अस्पतालमा सडकमा बत्ती जडान गरिएको हो । यात्रु, बजारमा सामान खरिद गर्ने ग्राहक, विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षा र सहजताको लागि उज्यालो बागलुङ अभियानअन्तर्गत बत्ती जडान गरिएको हो । बागलुङ जिल्लाकै प्रवेशद्वार मालढुङ्गा, कालिका भवगती मन्दिर प्रवेशद्वार, धौलागिरि अस्पताल, ट्राफिक चोक, चिप्लेटी बसपार्क, जिल्ला प्रशासन, बाघ चोक, अस्पताल रोड, व्यारोक चोक र बागलुङ बसपार्कमा पहिलो चरणमा स्मार्ट बत्ती जडान गरिएको हो । अग्लो पोलमा जडान गरिने शक्तिशाली बत्तीले बजारलाई झलमल बनाउन सहज बनाउने इन्जिनियर घर्तीले जानकारी दिए । मुख्यतया सहरका चोक, ठूला सडक, रङ्गशाला र खुला क्षेत्रहरूमा हामास्ट प्रविधियुक्त सड बत्ती प्रयोग गर्न थालिएको छ । ठूलो क्षेत्रफलमा उज्यालो प्रदान गर्दै सहरलाई आधुनिक तथा सुरक्षित बनाउन सहयोग गर्ने भएकाले बत्ती जनालाई निरन्तरता दिने नगर प्रमुख श्रेष्ठको भनाइ छ । रासस
काभ्रेमा १२ पुल निर्माणाधीन, थप ७ वटाका लागि बोलपत्र आह्वान
काठमाडौं । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल निर्माणका लागि ठेक्का आह्वान गरेको हो । प्रदेश सरकारअन्तर्गत कै १२ पुल निर्माणाधीन छन् । कूल निर्माण हुने पुलमध्ये १२ वटा पुल क्रमागत योजनाको रुपमा अघि बढाइएको र सात वटा नयाँ निर्माण गर्न बोलपत्र आह्वान गरिएको सो कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर वीरेन्द्रकुमार बज्राचार्यले जानकारी दिए । उनका अनुसार तेमाल गाउँपालिका-५ मा रोशीखोला गिम्दीबेशी पुल, रोशी गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने पोटाखोला पुल, धुलिखेल नगरपालिका-१ र २ जोड्ने चाम्रेखोला पुल निर्माणका लागि यही चैत दोस्रो साता बोलपत्र आह्वानमार्फत प्रक्रिया अघि बढाइएको छ । त्यसैगरी यसवर्ष पुल निर्माण सुरु गर्न नमोबुद्ध नगरपालिका-७ मा दाप्चाखोला पक्की पुल, नमोबुद्धकै दाप्चाखोला पक्की पुल, पनौती नपा-३ स्थित घ्याल्कुखोला मोटर पुल र भैँसेपाटी महेन्द्रज्योति पनौती जोड्ने ल्याखुनखोला पुलको बोलपत्र आह्वान गरिएको छ ।
काम हुने आयोजनाको म्याद थपौं, गल्ती गर्नेलाई कारबाही गरौं’: नवनिर्वाचित अध्यक्ष पाण्डे
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले देशका रुग्ण ठेक्काहरूलाई तीन वर्गमा वर्गीकरण गरी समाधान खोज्नुपर्ने बताएका छन् । सोमबार महासंघमा आयोजित शपथ तथा पदहस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यस्तो धारणा राखेका हुन् । अध्यक्ष पाण्डेका अनुसार स्रोत सुनिश्चित भएका र म्याद थप्दा काम सम्पन्न हुन सक्ने आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ । उनले यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग पनि छलफल भइसकेको जानकारी दिए । अध्यक्ष पाण्डेले मन्त्री लम्सालसँगको भेटलाई उद्धृत गर्दै भने, ‘आयोजनाहरू अघि बढ्ने सम्भावना रहेसम्म ठेक्का तोडेर व्यवसायीलाई कालोसूचीमा राख्ने पक्षमा सरकार छैन । मन्त्रीज्यू यस विषयमा सकारात्मक हुनुहुन्छ । ’ निर्माण कार्यमा ढिलाइ हुनुको पछाडि सरकार वा व्यवसायी जो दोषी भए पनि उनीहरूमाथि कारबाही हुनुपर्ने पाण्डेको अडान छ । ‘यदि व्यवसायीको गल्तीले काम रोकिएको हो भने उनीहरूको १० प्रतिशत धरौटी जफत गरेर भए पनि प्रक्रिया अघि बढाउनुपर्छ,’ उनले थपे । वर्तमान समयमा निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था सिर्जना भएको तर्फ पनि उनले ध्यानाकर्षण गराए । यस समस्याका लागि सरकारसँग निरन्तर लबिङ गर्ने र सहकार्यमार्फत निकास निकाल्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।