काठमाडौं भ्यू टावर २६ तलासम्म बनाउन मिल्ने पुल्चोक इञ्जिनियरिङ क्याम्पसको सुझाव

काठमाडौं । निर्माणाधीन काठमाडौं  दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ । १२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाइ सकेको अवस्था छ । प्रतिवेदनअनुसार निर्माण मापदण्डअनुसार नै काम भएको र थप लता थप्न सकिने जनाएकाले कामपाको प्राविधिक टोलीले उक्त प्रतिवेदको अध्ययन गरी तला थपको लागि अनुमति दिने तयारी गरेको छ । उक्त टावर वि.सं २०७२ को भूकम्प अघि २९ तलाकै बनाउने भने पनि भूकम्प पछि १२ तलाको काम अघि बढाईएको थियो । अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाको प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि कती तला थप्नेबारे यकिन हुनेछ । हाल टावर निर्माण गरिरहेको कम्पनीले तला थपको लागि कामपालाई निवेदन दिनुपर्छ सोहीअनुसार कामपाले कानुनी प्रक्रिया पूरा गरी तला थपको लागि नक्सा स्वीकृत गर्नेछ । प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो, भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोहीअनुसार निर्माणको काम अघि बढाइएको हो । ‘हालसम्म निर्माण भएको संरचना कस्तो निर्माण भएको छ, निर्माण सामग्री कस्तो प्रयोग गरेको छ, तला थप्न मिल्छ कि मिल्दैन जस्ता विषयबारे पुल्चोक क्याम्पसले अभ्ययन गरेहो हो,’ काफ्लेले भने । स्तम्भ निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले वि.सं २०७३ साउनदेखि सुरु गरेको हो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच विसं २०७१ फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार ५ वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरिएको छ । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कला संस्कृति झल्किने किसिमको हुने बताइएको छ । कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो । टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा चार सय सवारी साधन अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ । टावरमा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुराँ तथा पुस्तकालय हुनेछ । गत वैशाख २२ देखि निजी गाडी पार्किङ सुरु निर्माणाधीन भ्यु टावरको बेसमेन्टमा गत वैशाख २२ गतेदेखि निजी सवारी साधनहरु पार्किङको काम सुरु गरिएको छ । अहिले ४ पाङ्ग्रे साना सवारी साधन र २ पाङ्ग्रे सवारी साधनहरु उक्त स्थानमा राख्ने गरिएको छ । अहिले सुरुआती समयमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि केही दिनबाट थप व्यवस्थापनसहित शुल्क लिएर पार्किङको व्यवस्थापन मिलाइने बताइएको छ । प्रमुख काफ्लेका अनुसार चार सय साना सवारी साधन र एक हजार मोटरसाइकल अट्ने पार्किङ गत वैशाख २२ वैशाखदेखि नै सञ्चालनमा आएको हो । अहिले पार्किङको समस्या निकै नै रहेकाले पूर्ण रुपमा निर्माणको काम सम्पन्न नभईकनै पार्किङ खुला गरिएको बताइएको छ । टावर निर्माणकै लागि वि.सं २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । ५ वर्षमा भ्यू टावर निर्माणको काम सम्पन्न गर्ने र साविकै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्माणको काम भने सम्पन्न भएको छैन । उक्त स्थानबाट काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु आवातजावत गर्ने गरेका थिए ।

राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्

सुर्खेत । त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ । विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय लाइनमा समावेश गर्ने भएको हो । बाबियाचौरमा विद्युत्को राष्ट्रिय प्रशारण लाइन पुगेसँगै उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक प्रक्रिया थालिएको आयोजनाका व्यवस्थापक पदमबहादुर बुढाले जानकारी दिए । यहाँका अन्य स्थानीय जलविद्युत् आयोजना भने बन्द भएका छन् । तीन स्थानबाट विद्युत् उत्पादन गरेर बाबियाचौर र आसपासका क्षेत्रमा विद्युत् सेवा दिइरहेका साना जलविद्युत् बन्द गरिएको उनले बताए । बीस किलोवाट माथिका आयोजना राष्ट्रिय प्रशारणमा जोड्न सकिने सङ्केत विद्युत् प्राधिकरणले दिएपछि आवश्यक संरचना थप्ने गरी त्रिपक्षीय सम्झौता गरिएको छ । विसं २०६५ मा बाबियाचौर लघुजलविद्युत सहकारीमार्फत खमारी खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादनको काम थालेको थियो । सोही खोलाबाट थप दुई वटा आयोजना पनि निर्माण गरिएकामा विद्युत् उत्पादन कम भएपछि बन्द गर्ने तयारी गरिएको ती आयोजनाले जनाएका छन् । ‘तत्काल विद्युत्को राष्ट्रिय लाइन बाबियाचौर बजारको उत्तर र पूर्वतर्फका गाउँमा विस्तार नहुँदा केही समयसम्म सञ्चालन रहन्छन्,’ व्यवस्थापक बुढाले भने, ‘५३ किलोवाटको आयोजनालाई नेट मिटरिङमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक पूर्वाधार निर्माणका लागि सम्झौता गरेर बोलपत्र गरिसकेका छौँ ।’ राष्ट्रिय लाइनमा जोड्न नेपाल विद्युत् प्राधिकरणका कर्णाली प्रदेश प्रमुख शम्भु कुसियत यादव, उक्त आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाही र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएकोे छ । यसका लागि आवश्यक सबै पूर्वाधार निर्माणको खर्च भने आयोजना र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले व्यहार्ने उल्लेख छ । लागत खर्चमा आयोजनाको २२दशमलव ३५ प्रतिशत र केन्द्रको ७७दशमलव ६५ प्रतिशत ९ आयोजनाले रु १४ लाख र केन्द्रले ४८ लाख ६२ हजार ९३१० व्यहोर्ने आयोजनाका व्यवस्थापक बुढाले बताए । राष्ट्रिय लाइनमा स्थानीयस्तरमा उत्पादित विद्युत् जडान गर्न २० किलोवाटभन्दा माथि उत्पादन क्षमता हुनुपर्ने भएकामा उक्त आयोजनाको पूर्णकालीन क्षमता ५३ किलोवाट भए पनि सुख्खा मौसममा ३५ देखि ४० र वर्षायाममा ५० किलोवाट विद्युत् उत्पादन भइरहेको छ । ‘राष्ट्रिय प्रशारण लाइनका लागि हाम्रो क्षमता पुगेको छ । तर केही संरचना थप्नुपर्ने देखिएको छ,’ आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले भने । उनका अनुसार केही महिनामा नेट मिटरिङ सिस्टमका लागि आवश्यक पूर्वाधार निर्माण गरेर प्राधिकरणलाई विद्युत् बिक्री गर्ने गरी काम थालिने छ । आयोजनाले विद्युत् बिक्री गरेपछि खपतका आधारमा प्राधिकरणले शुल्क दिनेछ । करिब चार सय घरधुरीमा करिब ११ वर्षसम्म बाबियाचौर क्षेत्रका उज्यालो दिएको चौर खोला लघु जलविद्युत् आयोजना बन्द गरिएको छ । चौबिस किलोवाट क्षमताको उक्त जलविद्युतपछि बाबियौचारमा थप तीन वटा जलविद्युत् सञ्चालनमा ल्याइएका थिए । खमारी खोला लघुजलविद्युत क बाट ५३ किलोवाट, खबाट १५ किलोवाट र ग बाट १० किलोवाट विद्युत् उत्पादन गरिँदै आएको हो । तीन वटै आयोजनाबाट हाल करिब एक हजार तीन सय ८२ घरधुरी लाभान्वित छन् । यी आयोजनाबाट पञ्चपुरी नगरपालिकाको चनाली, भावर, बरैचे, डाव, सिद्धपुर, चत्तुरे, चनाली, लाटीकाँडा, सालकोटलगायतमा विद्युत उपलब्ध गराइएको छ । ‘वषौँंसम्म पश्चिमका नागरिक विद्युत्को राष्ट्रिय पहुँच बाहिर थिए । ‘स्थानीय स्रोत साधनको उपयोगबाट जनतालाई सेवा गर्ने मौका पायौंँ,’ उक्त आयोजनाका अध्यक्ष शाहीले भने । ‘स्थानीय उत्पादनले ठूलो कलकरखाना प्रर्याप्त चलाउन सकस थियो । टुकीको सहारामा दैनिक गुजार्न बाध्य यहाँका बासिन्दालाई सकेसम्म उज्यालो बनाउने कोसिस गरेका थियौंँ । ढिलै भए पनि राष्ट्रिय प्रशारण लाइन जोडिएको छ, यसले केही थप आशा र उत्साह थपिदिएको छ,’ उनले जोड दिए । हाल प्राधिकरणले खमारी खोला र चौर खोला आयोजनाबाट विद्युत् प्रवाह भइरहेका पोल र तारबाट बाबियाचौर आसपासमा विद्युत् लाइन सञ्चालन गरेको छ । सुर्खेत पश्चिमकै विद्यापुर र लगाममा साना लघुजलविद्युत् र गुटुमा सोलार प्यानलबाट विद्युत्को पहुँच पुर्याइएको छ । लगामको तालागाउँमा २२ किलोवाट विद्युत् उत्पादनका लागि सर्भेक्षण भइरहेको छ । रासस

काठमाडौंका नयाँ शहरमा कित्ताकाट खुल्यो, क-कसले पाउँछन् ?

काठमाडौं । काठमाडौंको चार नयाँ शहर आयोजना भित्रका जग्गाको कित्ताकाट गर्न पाइने भएको छ । विगत लामो समयदेखि यस क्षेत्रभित्रको जग्गाको कित्ताकाट रोकिएको भएता पनि अब भने कित्ताकाट गर्न पाइने भएको हो । सरकारले उपत्यका भित्रका नयाँ शहर निर्माण गर्ने योजाना राखेपछि आयोजना क्षेत्र भित्रका जग्गाको ३ वर्षका लागि कित्ताकाटमा रोक लगाइएको थियो । लामो समय बितिसक्दा समेत सो आयोजनाको काम अगाडि बढ्न सकेको छैन । नयाँ शहरको निर्माण कार्य अन्योल बनेपछि स्थानीयहरुले कित्ताकाट गर्न पाउनु पर्ने माग राखेका थिए । अहिले नयाँ शहर भित्रका जग्गाको ८ आनासम्म कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौं जिल्ला आयुक्त जगदिश लामिछाने बताएले ८ आनासम्मको जग्गा कित्ताकाट गर्न पाइने बताए । काठमाडौं उपत्यका विकास प्राधिकरणको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले ५ वर्ष अगाडि चारवटै शहरमा पर्ने एक लाख रोपनी जग्गा रोक्का गरेको थियो । प्रमुख लामिछानेका अनुसार प्राधिकरणको सिफासिमा मात्रै जग्गाको कित्ताकाट गर्न पाइनेछ । सबैका लागि भने कित्ताकाट खुल्ला भएको होइन । ‘आयोजना भित्रको जग्गाको कित्ताकाट गर्न दिने भन्ने निर्णय भइसकेको छैन, रोक्का समय अवधि सकिए पनि खुल्लाको निर्णय मन्त्रिपरिषदबाट हुनु पर्छ,  हामीले समस्यामा परेका, ठूलै समस्या पर्यो भने मात्र ८ आनासम्मका जग्गाको कित्ताकाटको अनुमति दिने हो निर्णय गरेका छौं,’ उनले भने । प्राधिकरणका अनुसार कित्ताकाट खोल्नै पर्नेहरुले प्राधिकरणमा निवेदन दिनु पर्ने हुन्छ । समस्यालाई आधार मानेर प्राधिकरणले स्वीकृति दिने वा नदिने भन्ने विषयको निर्णय गर्नेछ । अहिले नै कित्ताकाट बढी भयो भने आयोजना सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ छ । मन्त्रिपरिषदले जग्गाको कित्ताकाटमा रोक लगाएको दुई वर्ष बढी समय भइसकेको छ । समयावधि सकिएपनि कित्ताकाट फुकुवाको लागि मन्त्रिपरिषद्कै निर्णय आवश्यक पर्छ । लामिछानेका अनुसार सो ठाउँमा कित्ताकाट रोकिएता पनि जग्गाको खरिद बिक्री भने भइरहेको छ । ‘मान्छेलाई पैसाको आवश्यकता परिरहेको हुन्छ, कसैलाइ अंशबण्डा, कसैलाई ऋण तिर्नु पर्ने हुन्छ, त्यस्तो अवस्थामा मात्र कित्ताकाटको अनुमति दिन्छौं, धेरैले ८ आनासम्मको कित्ताकाट गर्नु भएको छ,’ उनले भने । उपत्यका भित्र निर्माण हुने भनिएको ४ नयाँ शहर मध्येका केही शहरको जग्गा फुकुवा गर्न शहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् सिफारिस गरेको थियो । जग्गा फुकुवाका लागि गत वर्ष मन्त्रालयले सिफारिस गरेको हो । भौतिक विकास समितिको १७औं बैठकले काठमाडौं र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । समितिले एक लाख रोपनी मध्ये ५६ हजार रोपनीमा नयाँ नगर निर्माण गर्न सकिने भएकाले जग्गा कित्ताकाट रोक्का यथावत नै राख्ने बताइएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं जिल्लाका कागेश्वरी मनोहरा नगरपालिका र शंखरापुर नगरपालिका, भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकाको नयाँ नगर विकास योजना स्वीकृत गर्ने सिफारिस गरेको छ । प्राधिकरणले पाँचवटा नगरपालिकाभित्र निर्माण हुने नयाँ नगरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । समितिको बैठकले काठमाडौंको पूर्वी नयाँ शहरी योजना स्वीकृतको लागि समेत मन्त्रिपपिरषद् पठाएको हो । तर, अहिलेसम्म पनि निर्णय हुन नसक्दा नयाँ शहरको काम अन्योलमा छ । अहिले उपत्यका विकास पा्रधिकरण मन्त्रिपपिरषद्को निर्णय र अर्थ मन्त्रालयको सिफारिसलाई कुरेर बसको छ ।