सेलायो कास्की र बागलुङ सुरुङ मार्गको चर्चा, बजेट छुट्याएर पनि भएन काम

गण्डकी । कास्कीको हेम्जा–नयाँपुल र बागलुङको बिहुँ–नरेठाँटी सुरुङ मार्गको सम्भाव्यता अध्ययनमा ढिलाइ भएको छ । समयमै अध्ययन नहुँदा आयोजना निमार्ण धकेलिँदै गएको छ । वर्षौँअघि घोषणा भएका सुरुङ मार्ग गतिहीन बनेपछि अहिले चर्चासमेत हुन छाडेको छ । सडक विभागले हेम्जा–नयाँपुल सुरुङ मार्गको चार वर्ष पहिले नै प्रारम्भिक अध्ययन थालेको थियो । उक्त सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन हुनै बाँकी छ । पोखरा–बागलुङ राजमार्गमा पर्ने हेम्जा–नयाँपुल सुरुङ मार्ग बनेमा डेड घण्टाको सडकमार्ग १५ मिनेटमा छोटिनेछ । अहिले हेम्जा–नयाँपुलको दुरी ४० किमि छ । सुरुङ मार्गले त्यसलाई सातदेखि आठ किमिमा घटाउने अनुमान गरिएको छ । यसले प्रदेश राजधानी पोखरालाई पर्वतसहित धवलागिरिका चारै जिल्लालाई जोड्छ । पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले सरकार सुरुङ मार्ग अध्ययनकै प्रक्रियामा अलमलिएको बताए । ‘यो सुरुङ मार्ग बनाउनुपर्छ भन्ने हाम्रो पहिलेदेखिकै माग हो, अध्ययनका लागि बजेट पनि छुट्टिने गरेको छ, तर आयोजनामा खासै प्रगति भएको देखिन्नु,’ उनले भने, ‘गण्डकी प्रदेशकै पर्यटन र आर्थिक विकासमा यो सुरुङ मार्ग कोशेढुङ्गा बन्छ, यसलाई अगाडि बढाउनुपर्छ ।’ चीन जोड्ने कालीगण्डकी करिडोरसमेत यस क्षेत्रमा पर्ने हुँदा सुरुङ मार्गले अन्तरदेशीय पारवहन र पर्यटनमा उल्लेख्य टेवा पुग्ने अध्यक्ष अधिकारीले बताए । सुरुङ मार्गबाट नयाँपुलमा जोडिएपछि पर्वतको सदरमुकाम कुश्मा हुँदै जाने लोकमार्ग बागलुङ–पर्वतको सीमास्थल मालढुङ्गामा करिडोर काटेर पश्चिम लाग्छ । दक्षिणबाट गुल्मी हुँदै आएको कालीगण्डकी करिडोर बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै उत्तर कोरोला नाका जोडिन्छ । सडक विभागका सुरुङ मार्ग हेर्ने इञ्जिनियर सोनी श्रेष्ठले हेम्जा–नयाँपुल सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन छिट्टै सुरु हुने जानकारी दिए । ‘पूर्वसम्भाव्यता अध्ययनको रिपोर्ट आइसकेको छ, अब विस्तृत सम्भाव्यता अध्ययनको काम अगाडि बढ्छु,’ उनले भने, ‘अध्ययनमै समय लाग्छ, प्रतिवेदन आउनुप¥यो, सुरुङ मार्ग निर्माण कहिले र कसरी सुरु हुन्छ यसै भन्न सकिँदैन ।’ उक्त सुरुङ मार्ग अध्ययनका लागि सरकारले चालु आवमा एक करोड ५० लाख बजेट छुट्टाएको थियो । सुरुङ मार्ग अध्ययनका लागि परामर्शदाता कम्पनीसमेत छनोट गरिसकेको विभागले जनाएको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, पोखराका प्रमुख ललिजन खनालले सुरुङमार्गबारे आफूहरुलाई कुनै जानकारी नआएको बताए । सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमार्फत सुरुङमार्ग अध्ययनको काम हुँदै आएको छ । लोकमार्गअन्तर्गत बागलुङको बिहुँ–नरेठाँटी जोड्ने सुरुङ मार्गको त प्रारम्भिक अध्ययनसमेत हुन सकेको छैन । सरकारले गत वर्ष नै उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा उक्त सुरुङ मार्गका लागि रु ५० लाख बजेट छुट्टाएको थियो । बिहुँ–नरेठाँटी सुरुङ मार्ग आयोजनाबारे बेलाबेला चर्चा चल्ने गरे पनि पहिलोपटक बजेटमा समेटिएको थियो । तर आर्थिक वर्ष सकिनै लाग्दा पनि आयोजना अध्ययनको काम सुरु हुन सकेको छैन । बागलुङ–२ का सासंद देवेन्द्र पौडेलले बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बताए । ुरातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छु, उनले भने, ुयसमा हामीले पनि सुरुदेखि नै पहल गरिरहेका छौँ ।ु सांसद पौडेलले उक्त सुरुङ मार्ग निर्माण हुन सके मध्यपहाडी लोक मार्ग भएर यात्रा गर्ने कैयन जिल्लाका सर्वसाधारणदेखि पर्यटकसम्मलाई लाभ पुग्ने बताए । काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने उक्त सुरुङमार्गले लोकमार्गमा घण्टौँ लाग्ने यात्रालाई केही मिनेटमै सीमित गर्नेछ । गलकोट–२ का अध्यक्ष हेमन्त भण्डारीले बजेटमै पर्दा पनि सुरुङ मार्गको काम अघि नबढ्नु दुःखद् भएको उल्लेख गरे । उनका अनुसार केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरुङ मार्ग बन्ने ठाउँको स्थलगत अवलोकन भने गरेका थिए । ‘एकपटक ठाउँ हेर्ने काम भएको थियो, त्यतिबेला केही आशा पलाएको थियो, त्यसपछि फर्केर कोही आएका छैनन्,’ अध्यक्ष भण्डारीले भने, ‘अध्ययनसमेत हुन नपाइ आयोजना सुस्ताउने स्थिति देखिएको छ ।’ उक्त सुरुङ मार्गले यातायातसँगै त्यस क्षेत्रको आर्थिकरसामाजिक विकासमा टेवा पु¥याउने विश्वास लिइएको छ । सरकारले घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङ मार्ग निर्माणको नीति लिएको छ । चालु आवमा २४ सुरुङ मार्ग आयोजनाका लागि सरकारले एक अर्ब १९ करोड ६० लाख बजेट छुट्टाएको थियो । सडक विभागले ‘सुरुङ मार्ग विकास कार्यक्रम’ मार्फत सुरुङकमार्गको निर्माण र अध्ययनलाई अगाडि बढाएको छ । रासस

कालीगण्डकी करिडोर : गैँडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको जनाइएको छ । कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका प्रमुख शङ्कर पौडेलले गैँडाकोट–राम्दी खण्डमा १६ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको बताए । ‘एक्जिम बैंक अफ इन्डियाको पाँच अर्ब रुपेयाँ ऋण सहयोगमा यस खण्ड निर्माणको काम सुरु भएको थियो’, उनले भने, ‘योजनाको म्याद यही जेठ ३० गतेसम्म रहेको छ, जम्मा एक सय ३१ किलोमिटर खण्डमध्ये हालसम्म एक सय १५ किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।’ पाल्पामा चार किलोमिटर तथा बाँकी नवलपुर खण्डमा कालोपत्र गर्न बाँकी रहेको योजनाप्रमुख पौडेलले बताए । ‘बाँकी रहेको कालोपत्र तथा रोड मार्किङको काम अबको १५/२० दिनभित्र सकिन्छ’, उनले भने, ‘तर गैँडाकोट–राम्दी खण्डका विभिन्न छ स्थानमा गरी एक हजार आठ सय मिटर खण्डमा पहिराका कारण कालोपत्रको काम गर्न सम्भव छैन ।’ यस खण्डमा ठूला–चार र साना दुई पहिरो रहेकाले यहाँ पहिरो रोकथामसँगै कालोपत्रका लागि पछि ठेक्का आह्वान गरिने योजनाप्रमुख पौडेलले बताए । लामो समय भइसक्दासमेत गैँडाकोटको ढोडेनी क्षेत्रको सडक किनारमा रहेका रूख कटानका लागि  वन विभागबाट अनुमति नपाइएकाले रूख नकाटी सडक कालोपत्र गर्ने तयारी भइरहेको उनको भनाइ थियो । ‘सात मिटर चौडाइ रहेको यस सडकमा नवलपुरको गैँडाकोटबाट पाल्पाको राम्दीसम्म नै सवारीसाधन सञ्चालन भइरहेको छ । यस सडकमा रुट परमिट छैन तर स्थानीयवासीको सहजताका लागि सवारीसाधन सञ्चालन भइरहेका छन्’, योजनाप्रमुख पौडेलले भने, सडक निर्माणको काम इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डियाले गरेकाले   योजनाको म्याद सकिनासाथ पुनः अर्को ठेक्का आह्वान गरेर पहिरो भएको स्थानमा पहिरो रोकथामसँगै कालोपत्र सुरु गरिने छ । योजनाको समग्र प्रगति ५० प्रतिशत  नवलपुरको गैँडाकोटबाट उत्तरमा चीनको कोरला जोड्ने नाकाका रुपमा रहेको यस सडकको दक्षिण खण्डको समग्र प्रगति ५० प्रतिशत सकिएको छ । कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका योजनाप्रमुख शङ्कर पौडेलका अनुसार चार सय ४० किलोमिटर लामो यस सडक निर्माणका लागि दुईवटा कार्यालयबाट काम भइरहेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) खण्डको दुई सय ४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुङ्गा–कोरला (उत्तर) खण्डको दुई सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको उनले बताए । ‘गैँडाकोट–राम्दी–मालढुङ्गा सडकअन्तर्गत राम्दी–रानीमहल खण्डमा ट्र्याक खोल्ने काम सकिए पनि यहाँ यातायात सञ्चालन गर्न सकिएको छैन’, योजनाप्रमुख पौडेलले भने, ‘यो खण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले अर्थ मन्त्रालयसँग बजेट माग गरेका छौँ ।’ रानीमहल–मालढुङ्गा खण्डमा विभिन्न स्थानमा फरक फरक ठेक्का लगाएर सडक निर्माणको काम भइरहेको र त्यहाँको जम्मा भौतिक प्रगति ५० प्रतिशत पुगेकोे उनको भनाइ थियो । ‘गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २७ वटा पुल निर्माण भइसकेको छ ‘, योजनाप्रमुख पौडेले भने, ‘पन्ध्र वटा पुल निर्माणको चरणमा छन् । यसका लागि  बोलपत्र आह्वान गर्नुपर्ने भएको छ ।’ पर्वतको फलेवास खण्डमा १४ किलोमिटर सडक स्तरोन्नतिका लागि नयाँ ठेक्का आह्वान गर्नुपर्ने रहेको उनको भनाइ थियो । तराईलाई हिमाली जिल्लासँग जोड्ने कालीगण्डकी करिडोरको ८० किलोमिटर सडक नवलपुर खण्डमा पर्दछ । रासस

सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?

काठमाडौं । राजधानी काठमाडौं छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो । अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने सुरु नभएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ । नेपालको यातायात पूर्वाधारमा सुरुङमार्गको युगमा प्रवेश गराउने उक्त टनेलबाट कहिले गाडी कुदाउन पाइएला र सुरुङमार्गको मजा लिन कहिले पाइएला भन्ने आमनागरिकको चाहना छ । बहुप्रतिक्षित उक्त सुरुङमार्गको दुई टनेलमध्ये मुख्य टनेल छ सय मिटर सुरुङमार्गमा जोडिन बाँकी छ भने सहायक अर्थात् ‘रेस्क्यु’ (इभ्याकुएसन) टनेल दुई सय १० मिटर जोडिन बाँकी छ । पहिलो चरणमा दुई सय मिटर ‘ब्रेक थ्रु’ गर्ने र मुख्य टनेल दसैँ आसपासमा ‘ब्रेक थ्रु’ गर्ने गरी काम अगाडि बढाइएको नागढुङ्गा सुरुङमार्ग आयोजनाका कन्सल्ट्यान्टका इञ्जिनियर रमेश कोइरालाले जानकारी दिए । उनका अनुसार सिस्ने खोलाबाट सुरु भएको उक्त सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८० मिटर छ । ’सिस्ने खोलाको प्रवेश विन्दुबाट ९१ मिटर माथि निस्किन्छ । टनेल सिधा नभएर थोरै कर्प (घुमाएर) बनाइएको छ । यहाँ दुई वटा टनेल निर्माण भइरहेका छन् । एउटा गाडी सञ्चालनका लागि बनाइएको हो’, इञ्जिनियर कोइरालाले भने । उनका अनुसार टनेलभित्र कुनै घटना भयो भने रेस्क्यु गर्नका लागि ३० मिटरको दूरीमा रहने गरी साइडमा अर्को टनेल बनाइएको छ । ’त्यो रेस्स्क्यु (इभ्याकुएसन) टनेल हो । हरेक तीन सय ७५ मिटरमा दुई टनेल जोडिन्छ । उक्त टनेल दुर्घटना वा अन्य आकस्मिक कामका लागि प्रयोग गरिन्छ’, उनले भने । सात ठाउँँमा दुई टनेलको जडान गरिने इञ्जिनियर कोइरालाले जानकारी दिए । उनका अनुसार मुख्य टनेलको चौडाइ सामान्यतया साँढे नौ मिटर र कुनैकुनै ठाउँमा १३ मिटरसम्मको हुन्छ । रेस्क्यु (इभयाकुएसन) टनेल साढे चार मिटरको रहने उनको भनाइ थियो । इञ्जिनियर कोइरालाले टनेलबाहेक यस ठाउँमा आउने रोड सर्भ स्टेशन (मुख्य तल्लो प्रवेश विन्दु) मा चार लेनको सडक टनेलमा प्रवेश गर्ने बताए । सिस्ने खोलाबाट प्रवेश गरेका यातायातका साधन माथि निस्किएपछि बलम्बुस्थित मुख्य मार्गमा नै मिसिने गरी सडक निर्माण भइरहेको उनले जानकारी दिए । ’त्यसलाई ‘एप्रोच रोड’ भनिन्छ । यसको लम्बाइ साढे दुई  किलोमिटरको हुन्छ’, इञ्जिनियर कोइरालाले भने । टनेल निर्माणका क्रममा निस्किएका निर्माण सामग्री प्रयोग गरेर रोड बनाइरहेकाले टनेलसँगै रोडको काम पनि सँगै सम्पन्न हुने उनको भनाइ थियो । ‘एप्रोच रोड’ र टनेल निर्माणका क्रममा आउने मुख्य समस्या तल्लो प्रवेशविन्दु नजिकको पहिरो भएको भन्दै इञ्जिनियर कोइरालाले पहिरो नियन्त्रणका लागि काम भइरहेको उल्लेख गरे । उनले सावधानीपूर्वक समन्वयात्मकरुपमा समस्या समाधान गरी काम अघि बढाइएको बताए । आजमात्रै यहाँका अनुगमन गरेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी एक वर्षभित्रमा गाडी हिँड्ने गरी कामलाई तीव्रता दिनुपर्ने भन्दै निर्माणका क्रममा आउने सबै समस्या र अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने बताए । उनले एक वर्षमा गाडी नै हिँड्ने गरी निर्माण भइरहेको बताए पनि सुरुङमार्ग निर्माण सम्पन्न हुन अझै डेढदेखि दुई वर्ष लाग्ने आयोजनाका अधिकारीहरुले बताएका छन् । यस्तो छ प्रगति निर्माण भइरहेका र निर्माण कम्पनीलाई भुक्तानी दिइएका कामको प्रगति हेर्दा हालसम्म करिब ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । मुख्य टनेल खन्ने काम धेरै गाह्रो भएकाले मुख्य टनेल खन्ने काम सकिएपछि धेरै काम सकिने बताइएको छ । टनेल खन्ने काम मात्रै चाहिँ ८३ प्रतिशत सकिएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ । ’टनेल जोडिएपछि भने अन्य काम छिटो सकिन्छ । भित्र २४सै घण्टा लाइट र पावर चाहिन्छ । त्यसका लागि पनि काम गर्नुपर्छ । त्यसैले टनेल जोडिएपछि अन्य कामका लागि एक वर्षभन्दा बढी समय लाग्नेछ’, आयोजनाका कन्सल्ट्यान्ट इञ्जिनियर रमेश कोइरालाले भने । कोरोनाका कारण एक वर्ष समय थप भइ आगामी अप्रिल २६ सम्मका लागि समय निर्धारण गरिएको छ । कहिलेदेखि सुरु भयो सुरुङमार्ग निर्माण नागढुङ्गा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो । ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण सुरु भएको थियो । आयोजना निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्ने बताइएको छ । जम्मा खर्चमध्ये १६ अर्ब रुपैयाँ जापान सरकारको ऋण अनुदानबाट गरिने छ भने बाँकी नेपाल सरकारको लगानी रहनेछ । सन् २०१९ मा निर्माण सुरु भई ४२ महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । कोरोनाका कारण एक वर्ष थप गरी सन् २०२४ अप्रिल २६ सम्म निर्माण सम्पन्न गर्ने गरी समय निर्धारण गरिएको आयोजनाले जनाएको छ । रासस