नख्खु-भैँसेपाटी सडक जेठभित्र सम्पन्न हुने
काठमाडौं । निर्माण सुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न नभएको ललितपुरको नख्खु–भैँसेपाटी सडक यही जेठभित्र सम्पन्न हुने भएको छ । नख्खु सडकमा दुई महिनायता केही प्रगति भइरहेको देख्न सकिन्छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले अहिलेको कामको गति हेर्दा मुख्य सडकमा सम्पन्न हुन लामो समय नलाग्ने देखिएको बताए । उनले भने, ’केही सहायक कामबाहेक मुख्य काम सकिने देखिएको छ ।’ सडक निर्माण केही समय पहिले नै सम्पन्न गर्न लागिएको भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पाइपका कारण ढिलाइ भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताउँदै आएको छ । खानेपानी लिमिटेडले अहिले पनि पाइपको काम गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अझै छेउपट्टिको पाइप चुहावट भएर निर्माणमा बाधा पुग्ने गरेको बताए । पछिल्लो समय निर्माणमा प्रगति भएको र त्यसले गर्दा अब सडकका बाँकी काम छिट्टै सम्पन्न हुने देखिएको उनले जानकारी दिए । नख्खु–भैँसेपाटी सडक निर्माणमा भएको ढिलाइमा सरकारले चासो देखाउँदै आएको छ । यसअघि मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पटकपटक स्थलगत निरीक्षण गरेका थिए । अहिले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पनि दुई पटक सो सडकको निरीक्षण गरिसकेका छन् । पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस
भोजपुरमा निर्माण भइरहेको हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम
भोजपुर । कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको २९ करोड ७२ लाख ९८ हजार ६३ रुपैयाँ लागतमा सडकको निर्माण थालिएको हो । यो सातादेखि पहिलो चरणमा पाँच किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले जानकारी दिए । यो सडक खण्डको १० किलोमिटरमध्ये यो आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्र गरिने महतोले बताए । निर्माण कम्पनी रायामाझी, आजादका प्रतिनिधि प्रेमकुमार मल्लले आगामी पुस महिनाभित्र १० किलोमिटर नै कालोपत्र सक्ने लक्ष्य रहेको बताए । वर्षात्को समयमा यो सडकमा यातायात सञ्चालनमा समस्या हुने गरेको थियो । हिलेबाट त्रिवेणीसम्म करिब २६ किलोमिटर सडकमध्ये १० किलोमिटर कालोपत्र गर्ने लक्ष्यसहित २०७८ असोजमा यो सडकको शिलान्यास गरिएको थियो । रासस
पाँचखाल खानेपानी आयोजना : ७ हजार घरमा पानी पुर्याइने
पाँचखाल । सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका सात हजार घरमा खानेपानी पुर्याउने लक्ष्य लिइएको जनाइएको छ । विसं २०७६ भदौ १२ गते सम्झौता गरिएको परियोजनाको २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिए पनि कोरोना महामारीलगायत सामग्री अभाव तथा विविध कारणले एक वर्ष समयावधि थपिएको हो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा २०७९ सालभित्र पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सक्नेसमेत उल्लेख गरिए पनि आयोजना लम्बिएको हो । नगरको १३ मध्ये १० वटा वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ एक अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको थियो । आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख रुपैयाँ उपभोक्ताले जम्मा गरिसकेका छन् । जसअनुसार प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार रुपैयाँ जम्मा गरेका छन् । हाल खोनेपानी आयोजनाको काम ८५ प्रतिशत सकिएको जनाउँदै केही स्थानमा पानी परीक्षणसमेत गरिएको छ । परीक्षणबाट मुहानमा लगातार चार पम्प प्रयोग गरी चार कलेक्टर वेलबाट सङ्कलन भएर दुईवटा सम्वेलमा जम्मा भएको पानी २४ घण्टा तान्दा पानीको सतहबाट ८० सेन्टिमिटरमात्रै घटेको पाइएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए । उनका अनुसार योजना प्रारम्भिक लक्ष्यअनुसार प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ । प्रतिघण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढङ्गबाट सकिने भएको छ । यस्तै दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो । योजना लागू भएको क्षेत्रमा हाल छ हजार ३७ धारा जडान हुने भएको छ । हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ । जसमध्ये दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव पाँच लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको छ । समिति अध्यक्ष लामिछानेले आयोजनामा हाल दैनिक एक सय ३० जना कामदार खटिरहेको बताए । आयोजनाका सुपरभाइजर इन्द्रमानसिं बस्नेतका अनुसार आयोजनामा कलेक्टर–वेल चार, सम्प–वेल दुई, भुई ट्याङ्की १६, ब्रेक प्रेसर ट्याङकी छ, पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर दुई, प्लेन सेडिमेन्टेसन ट्याङ्की दुई, र्यापिड–स्याण्ड फिल्टर एक), प्रसारण लाइन नौ दशमलव १३ किलोमिटर, शाखा प्रसारण लाइन ३७ दशमलव २३ किलोमिटर, वितरण लाइन एक सय ८९ दशमलव तीन किलोमिटर, कार्यालय भवन एक, गार्ड भवन १७, जेनेरेटर भवन पाँच, फायरहाइड्रेन्ट २०, इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्य, सरसफाइका संरचना तथा आवश्यक शौचालय निर्माणका काम अन्तिम चरणमा पुगेका छन् । पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्याउने काम भइसकेको छ । यस्तै हाल मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको छ भने करिब चार हजार घरमा धारा जडानकार्य सकिएको लामिछानेले बताए । उनका अनुसार कोरोना सङ्क्रमणका लहर तथा गत असार–साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पुर्याएका कारण पनि आयोजनाको काम केही धकेलिएको हो । रासस