कैलालीको कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख, अब कसैले अकालमा ज्यान गुमाउनु पर्दैन
कैलाली । कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुगे । आजसम्म उनको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै बित्यो । जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुङ्गाबाट त कहिले काठे पुलबाट नदी तरेका भिक्कु पुल बनेपछि भने सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्नेमा खुसी छन् । ‘कान्द्रामा पक्की पुल बन्ला र जोखिम मोलेर नदी पार गर्नुपर्ने दिन हट्लान भन्ने हामीले सोचेकै थिएनौँ’, भिक्कुले भने, ‘हेर्दाहेर्दै यसपटक पुल बन्यो, अब कसैले अकालमा ज्यान गुमाउनु नपर्ने भयो ।’ विगतमा पुल नहुँदा कान्द्रा नदी पार गर्ने क्रममा कैयनले अकालमै ज्यान गुमाएको उनले सुनाए । प्रत्येक वर्खामा पानीको बहावसँगै दुर्घटनाको जोखिम पनि बढ्थ्यो । यद्यपि निर्माण सुरु भएको १२ वर्षमा भए पुल बनेकोमा भने स्थानीय निकै खुसी छन् । बर्खाको समयमा नदीमा पानीको बहाव बढ्दा वारपार गर्न निकै कठिन हुँदै आएको थियो । सामान्य कामका लागि पनि भजनी बजार पुग्नुपर्ने बाध्यतामा कान्द्रा नदी पार गर्नु कठीन हुने गरेको उनको अनुभव छ । ‘पुल बनेर कान्द्रको डुङ्गा विस्थापित होला भनेर सोचिएकै थिएन, लामो समयको पर्खाइपछि आज डुङ्गा विस्थापित भयो’, स्थानीय प्रकाश चौधरीले भने, ‘निर्माण सुरु भएपछि अलपत्र परेको पुल बन्ला भन्ने आशा पनि मरिसकेको थियो ।’ स्थानीय कविता देवकोटा पुल निर्माणसँगै सडक निर्माण पनि भइदिए स्थानीयलाई सहज हुन्थ्यो भने । ‘भजनी नगरपालिका वडा नं ५ र ७ का स्थानीयका लागि भजनी बजार आउजाउ गर्न नदी तर्नैपर्ने बाध्यता थियो’, उनले भने, ‘यसका लागि प्रत्येक पटक रु ४० खर्चनु पर्दथ्यो भने पैसा पनि जोगिने भयो र जोखिम पनि कम हुने भयो ।’ भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले १२ वर्षदेखिको भजनीवासीको सपना पूरा भएको प्रतिक्रिया दिए । ‘पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म पुर्याउन निकै सहज भएको छ । यसले किसानको आर्थिक गतिविधि पनि बढ्ने देखिन्छ’, उनले भने, ‘पुल बनेपछि हुलाकी राजमार्गबाट यात्रा गर्नेलाई पनि सहज भएको छ । यो भजनीको विकासमा ठूलो फड्को हो ।’ एकसय मिटर लामो यो पुल निर्माणका लागि विसं २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो । तत्कालीन समयमा डिजाइन परिवर्तनका कारण निर्माण ढिलाइ भएको निर्माण कम्पनी बिरुवारलामारशेर्पा साल्पा जेभीको दाबी छ । कम्पनीले तीन करोड ४५ लाख २० हजार रुपैयाँ लागतमा पुल निर्माणको जिम्मा पाएको थियो । ‘पुलबाट आवागमन सुरु भइसकेको छ, बाँकी गर्नुपर्ने कामका लागि कम्पनीलाई भनिरहेका छौँ’, हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले भने, ‘पुल निर्माणको ९५ प्रतिशत काम सकिएको र पुलमा रेलिङ र आसपासमा ग्राभेल बिछ्याउने काम बाँकी छ ।’ रासस
भारतले विद्युत किन्ने सुनिश्चितता गरेपछि नेपालमा ठूला आयाेजनाकाे महत्व बढ्याे : अध्यक्ष सिंह
काठमाडौं । भारतले नेपालकाे विद्युत खरिद गर्ने सुनिश्चितता गरेपछि नेपालमा ठूला जलविद्युत आयाेजनाकाे महत्व बढेकाे विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले बताएका छन् । तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद बिक्री दर निर्धारण गर्न साेमबार आयाेजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सिंहले यस्ताे बताएका हुन् । भारतले १० वर्षमा १० हजार मेगावाट जलविद्युत खरिद गर्ने भएसँगै ऊर्जाको महत्त्व नेपालमा बढ्न थालेको सिंहले बताए । ‘जलविद्युतका आयोजना निर्माणमा तीव्रता दिनुपर्छ । जलविद्युत विकास नेपालको हितमा हुने छ । नेपालको स्रोत खेर गइरहेको छ । यसको सदुपयोग गर्न सकियो भने त्यसका फाइदा आम नेपालीलाई पुग्ने छ,’ उनले भने । ठूला आयोजना निर्माण गर्दा लागत कम लाग्नु पर्ने मान्यता भए पनि त्यस्तो नभएको पनि सिंहले बताए । १०० मेगावाट भन्दा बढीका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री दरको निर्धारण गर्न र पीपीएमा सहमति दिन विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको छ ।
तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न, अब पीपीएमा हस्ताक्षर
काठमाडौं । तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद बिक्री दर निर्धारण गर्ने सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार विद्युत नियमन आयोगको सभा हलमा सो सार्वजनिक कार्यक्रम आयाेजना भएको हो । १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनालाई बुटवल पावर कम्पनीले प्रवर्द्धन गरेको छ । आयोजना मनाङ जिल्लाको नासोँ गाउँपालिकामा निर्माण हुनेछ । यसको पावर हाउस निगालो घारी भन्ने ठाउँमा हुने बताइएको छ । प्रवर्द्धन कम्पनीले यस आयोजनाबाट वार्षिक ७९०.२७ गिगावाट घण्टा विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गर्ने लक्ष्य लिएको छ । प्रवर्द्धन कम्पनीकाअनुसार आयोजनाको अनुमानित लागत २७८.४९ मिलियन अमेरिकी डलर रहेको छ । सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएसँगै कम्पनीले अब पीपीएमा हस्ताक्षर तथा लगानी सुनिश्चित गर्ने लगायतका काम गर्ने बताइएको छ । विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले ठूला आयोजना बनाउँदा निर्माण लागत पनि कम हुने कुरा उल्लेख गर्दै यस आयोजनाको महत्त्व पनि बढ्दै बताए । ‘यस आयोजनाको महत्त्व बढ्दै गएको छ । नेपालमा जति पनि जलविद्युत आयोजना द्रुत गतिमा निर्माण हुनु आवश्यक छ । हाम्रो स्रोत खेर गएको छ त्यसलाई सकेसम्म सदुपयोग गर्न सकियाे भने यसकाे लाभ धेरैले लिन सकिन्छ,’ उनले भने । यस्तै, तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनको काम तोकिएको अवधिभित्रै सक्ने बुटवल पावर कम्पनीका सीईओ उत्तर कुमार श्रेष्ठले बताए । उनका अनुसार यो आयोजनालाई कम्पनी मोडलकारूपमा अगाडी बढाउन लागिएकाे छ । यसैगरी नेपाल विद्युत प्राधिकरणका निर्देशक प्रबल अधिकारीले तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत ठूलो आयोजना रहेको बताउँदै यस्ता किसिमको आयोजनाको विकास हुनु सुखद् पक्ष रहेको बताए । यस आयोजना चाँडोभन्दा चाँडो सम्पन्न होस् भन्ने पक्षमा प्राधिकरण रहेको अधिकारीले बताए ।