सेवा हाईड्रोले बोलायो सातौं साधारणसभा, आईपीओ निष्काशन प्रस्ताव पारित गर्ने

काठमाडौं । आईपीओ निष्काशन प्रस्ताव पारित गर्न सेवा हाईड्रो कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले असोज २० गते सातौं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको साधारण सभा थापागाउँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बोलाइएको छ । कम्पनीको सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गर्नेछ । कम्पनीको सभाले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ । आईपीओ निष्काशन पश्चात् प्राप्त हुने कूल रकम आयोजना निर्माण गर्दा कायम बैंक वा अन्य दायित्व पुरा गर्न खर्च गर्न स्वीकृत गर्नेछ । कम्पनी सञ्चालकको राजीनामा स्वीकृत तथा नयाँ सञ्चालकको गठन गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ४३ प्रतिशत

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको चार वर्षमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको हो । तीन वटा खण्डमा काम तीव्र गतिमा भइरहेको तनहुँ जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । तीनवटै प्याकेजको समग्र भौतिक प्रगति ४३ प्रतिशत रहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार प्याकेज–१ अन्तर्गत बाँध निर्माण २५ प्रतिशत, प्याकेज २ अन्तर्गत विद्युत् गृह निर्माण ४५ प्रतिशत र प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माण ६९ प्रतिशत भौतिक प्रगति भएको छ । कोभिड–१९ को सङ्क्रमणका बेला पनि काम नरोकिएको बताउँदै श्रेष्ठले चाडपर्वका बेला पनि कामलाई गति दिइएको बए । प्याकेज तीन अन्तर्गत वनको नीतिगत समस्याका कारण केही ढिलाइ भएको छ । यसबारेमा सम्बन्धित मन्त्रालयमा समस्या समाधानका लागि पहल भइरहेको उनले बताए । प्रसारण लाइन निर्माणका लागि ६९ टावरको जग खन्ने काम सकिएको छ भने ३३ टावर जडान सम्पन्न भइसकेको छ । प्याकेज २ अन्तर्गत भूमिगत विद्युतगृहको भौतिक निर्माण ६६ प्रतिशत सकिएको छ । इलेक्ट्रोनिकल मेकानिकल अन्तर्गत १० प्रतिशत प्रगति हासिल भएको छ । आयोजनाको पहिलो प्याकेज अन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभिले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण चिनियाँ कम्पनी सिनो हाइड्रो गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणकार्य केइसी, भारतले गरिरहेको छ ।  आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत हेडबक्र्स निर्माण कार्यका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ रुपैयाँमा खरिद सम्झौता भएको थियो । प्याकेज अन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ १ र २ को निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । बाँधको माथिल्लो भागको स्लोप खन्ने काम अन्तर्गत हालसम्म इलिभेसन तह ५४४ मिटरबाट ४८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण कार्य सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह चार सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज दुईको निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग विसं २०७५ असोज १५ गते अमेरिकी डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ र तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौताबमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ । यो प्याकेज अन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युतगृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतरि जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारको भनाइ छ । आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ  मिटर लामो मुख्य सुरुङ २०७८ कात्तिकबाट खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म ६८० मिटर खन्ने काम सकिएको छ । आयोजनाको दुई सय १० दशमलव नौ  मिटर टेलरेस सुरुङ २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्य अन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खन्ने कार्य सकिएको छ । प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका लागि ६९ वटा टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । कूल ३३ वटा टावर जडान कार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ । ३४ दशमलव सात  किमि प्रशारण लाइनमा ९४ वटा टावर राखिनेछ । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतिकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै, निर्माण लागत पाँच अर्ब

फाइल फोटो कास्की । माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ । आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा आयोजनाको बाँकी रहेका सम्पूर्ण काम सकिएर विद्युत् उत्पादन सुरु हुने जनाइएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले सेती जलविद्युत् आयोजना निर्माण गरेको हो । यसको लागत पाँच अर्ब रुपैयाँ रहेको छ । आयोजनाको सिभिलतर्फ हेडवक्र्सको सबै काम सकिएको छ । त्यसैगरी पाइपलाइन जडानको काम पनि पूरा भएको छ । विद्युत्गृहमा उपकरण जडानको काम भइरहेको छ । परीक्षण उत्पादन सुरु भएको १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुनेछ । आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) भित्रमा नै व्यावसायिक उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । आयोजनाको सिभिलतर्फको सबै काम पूरा भएको र हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए । आयोजनाका अनुसार हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलका लागि आवश्यक सबै उपकरण तथा सामग्री निर्माणस्थलमा आइसकेकाले जडान भइरहेको छ । प्रसारण लाइनमा रहने १४ टावरमध्येमा तीन वटाबाहेक अन्यको काम सकिएको बताइएको छ । प्रसारण लाइनको ‘राइट अफ वे’ क्लियर भइसकेकाले बाँकी टावर निर्माण र तार जडान गरिने आयोजनाले जनाएको छ । ‘मङ्सिरको पहिलो साताभित्रमा परीक्षण उत्पादन सुरु गर्ने गरी कामलाई तीव्र बनाएका छौं”, अध्यक्ष पोखरेलले भने, ‘धेरै समय लाग्ने काम अब बाँकी छैन, सरकारी तथा निजी सबै क्षेत्रबाट प्राप्त सकारात्मक सहयोगले आयोजना सम्पन्न हुने चरणमा आइपुगेको हो ।’ ड्याम, टनेल, पावर हाउस, टावर निर्माण तथा ‘राइट अफ वे’लाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ । यी काम अन्तिम चरणमा पुगिसकेको आयोजनाले जनाएको छ । विसं २०७७ साउनदेखि आयोजनाको काम सुरु भएको हो । कोरोना महामारीका कारण आयोजनाको कामलाई असर गरेपछि निर्धारित समयभन्दा एक वर्ष बढी समय लागेको बताइन्छ । माछापुच्छ्रे-२ को भराभरीमा आयोजनाको हेडबर्कस रहेको छ । भराभरीस्थित सेती नदीको पानीलाई बाँध बाँधेर छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत विद्युत्गृहमा खसालेर बिजुली उत्पादन हुनेछ । विद्युत्गृहमा एक सय ८७ मिटर उचाइबाट पानी खसालेर १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनबाट बिजुली उत्पादन हुनेछ । उत्पादित बिजुली विद्युत्गृहसँगैको स्विचआर्डबाट प्रसारण लाइनमार्फत लाहाचोकमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको एक सय ३२ केभी क्षमताको मोदी-लेखनाथ सबस्टेसनमा जडान गर्ने योजना रहेको आयोजना प्रमुख इञ्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए । कास्की र पर्वतमा निर्माण भएका जलविद्युत् आयोजनाहरुको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि विद्युत् प्राधिकरणले नयाँ मोदी-लेखनाथ प्रसारण लाइन आयोजना हालै निर्माण गरेको हो । यसबाट विद्युत् आपूर्तिमा समेत सुधार हुने विश्वास छ । रासस