ललितपुर ग्वार्कोमा फ्लाइओभर निर्माण सुरु
काठमाडौं । ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको निर्माण कार्य पुनः सुरु भएको छ । फ्लाइओभरको नयाँँ डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य पुनः सुरु भएको हो । गत माघको अन्तिम सातामा काम सुरु गरिएको फ्लाइओभरको निर्माण असारमा रोकिएको थियो । डिजाइनमा त्रुटि भएको र आवश्यक उपकरण उपलब्ध हुन नसकेको भन्दै निर्माण रोकिएको थियो । सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर राकेश महर्जनले फ्लाइओभरको काम पुनः सुरु भएको बताउँदै भने, ‘नयाँ डिजाइन अनुसारको उपकरण ल्याएसँगै साइटमा काम सुरु भएको छ । अब डिजाइन, उपकरण, जनशक्ति र आर्थिकलगायतको कुनै पनि समस्या छैन ।’ भारतबाट भाइभ्रो हेम्मर, पायल राख्ने क्रेन, पाइल रिग मेसिनलगायतका उपकरण ल्याइएको छ । उनका अनुसार अहिले मुख्य रूपमा पाइल राख्ने काम भइरहेको छ । अहिलेसम्म तीन वटा पाइल जमिनमा गाडिसकिएको छ । करिब ५० जना जनशक्तिलाई काममा प्रयोग गरिएको छ । मेसिनमा आधारित काम बढी भएकाले अहिले जनशक्ति कम राखेर निर्माण सुरु गरिएको बताइएको छ । उहाँले सम्झौता अनुुसारको निर्धारित समयमा नै निर्माण सम्पन्न हुने दाबी गर्नुभयो । चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । केन्द्रका इन्जिनियर महर्जनका अनुसार नयाँ डिजाइन अनुसार फ्लाइओभरमा जमिनमुनि गाडिने पाइलको सङ्ख्या बढेको छ भने गहिराइ र डायमिटर घटेको छ । पहिलाको डिजाइन अनुसार फ्लाइओभरको पाइलको सङ्ख्या दुवैतिर चार चार वटा, गहिराइ ३४ मिटर र डायमिटर १.५ मिटर कायम गरिएको थियो तर पाइलको सङ्ख्या दुवैतिर १२/१२ वटा कायम गरिएको छ । प्रत्येक पाइलको गहिराइ घटाएर ३० मिटर र डायमिटर १.२ मिटर कायम गरिएको छ । फ्लाइओभरको मुख्य संरचनाको डिजाइनमा कुनै पनि परिवर्तन गरिएको छैन । उनले फ्लाइओभर निर्माणका लागि भारतमा उपलब्ध उपकरणको आधारमा नयाँ डिजाइन गरिएको स्पष्ट पारे । उपलब्ध उपकरणले ३० मिटर गहिराइसम्म मात्र पाइल राख्न सक्ने क्षमताको भएकाले सोही अनुसारको डिजाइन स्वीकृत गरिएको हो । उनले गहिराइ घटाइएकाले भार थेग्नमा कुनै समस्या नहोस् भनेर पाइलको सङ्ख्या बढाइएको स्पष्ट पारे । इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा फ्लाइओभरको निर्माण सुरु गरिएको छ । यस मोडेल अनुसार निर्माण कम्पनीले नै आयोजनाको सर्भे, डिजाइन र कमिसनिङ’ गर्नुपर्ने हुन्छ । उनले भने, ‘इपिसी मोडेलमा सडक विभागले स्वीकृति दिए पनि त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण कम्पनीको नै हुन्छ ।’ आयोजनाको लागत बढे पनि त्यसको जिम्मेवार सम्बन्धित निर्माण कम्पनी नै हुने र त्यसमा सरकारले कुनै दायित्व बेहोर्नु नपर्ने उनको भनाइ छ । फ्लाइओभरको उचाइ छ मिटरको हुने छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाइओभर पुगिने छ । त्यतातर्फ २८० मिटर लामो ¥याम हुने र सातदोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको ¥याम हुने छ । सुपर स्ट्रक्चर ३५ मिटर लम्बाइको हुने फ्लाइओभरको जम्मा लम्बाइ ४९० मिटर हुने छ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जाने छन् भने माथि चव्रmपथतर्फ जाने सवारी साधन सीधै सञ्चालन हुने छन् । कुल १७ करोड ६८ लाख रुपियाँको लागत फ्लाइओभर निर्माण हुने छ । गाेरखापत्रबाट ।
नेपाल-चीन बिजनेस समिट : लगानी अभिवृद्धि र निर्यात सहजीकरणका लागि चीनको निजी क्षेत्र तयार
काठमाडौं । नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवैतर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल-चीन बिजनेस समिटमा दुवैतर्फका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिले उक्त धारणा राखेका हुन् । द्विपक्षीय व्यापार प्रवर्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेको स्पष्ट पार्दै चिनियाँ लगानीकर्तालाई लगानीका लागि आग्रह गरे । प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यबिना समृद्ध नहुने पनि बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएकाले निजी क्षेत्रको प्रवर्धनमा सरकार सधैं तत्पर रहेको स्पष्ट पारे । महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्धनमा देश-विदेशमा पहल गरिरहेको भन्दै उनले महासंघको सराहना पनि गरे । चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुइ देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रधानमन्त्रीले बताए । नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनको भनाइ छ । सिसिपिआइटीको मुख्यालय बेइजिंगमा सेप्टेम्बर २४, २०२३ मा आयोजित समिटलाई सम्बोधन गर्दै चिनिया वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए । चीन नेपालमा सबैभन्दा बढि लगानीको प्रतिवद्धता जनाउने मुलुक हो । नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । यसैगरि उनले नेपालबाट बढिभन्दा बढि वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने बताए । समिटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जना गर्न, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए । साथै, नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए । कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए । पछिल्लो समय पर्यटन पुर्वाधारहरु जस्तै केवलकार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको वढि सम्भावना देखिएको उनले बताए । नेपाल चिनिया पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । विदेशी लगानी सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको अध्यक्ष ढकालले बताए । नेपालमा लगानी गरेका बहुराष्टिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी गराउँदै अध्यक्ष ढकालले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड दिए । अध्यक्ष ढकालले दुइ देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनिया बैंकको आवश्यकता रहेको बताए । चिनिया बैंक शाखाको रुपमा वा नेपालीसंगको संयुक्त लगानीमा आउन सक्ने उनले बताए । सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिटले द्धिपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्वपूर्ण हुने बताए । सिसिपिआइटी नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने विश्वास दिलाए । महासंघको वैदेशिक लगानी एवं अन्तराष्टिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पुर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गर्नुभएको थियो । नेपालमा प्राकृतिक स्रोतसंगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए । समिटमा १२० जना चिनिया कम्पनीको सहभागिता रहेको थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, राष्टिय उद्योग व्यापार महासंघका पदाधिकारी सहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीहरुको पनि सहभागिता थियो । उक्त समिट पूर्व बिजनेस टु बिजनेस वैठक पनि राखिएको छ । यसअघि, महासंघ र सिसिपिआइटीका पदाधिकारीहरुबीच द्धिपक्षीय छलफल समेत भएको थियो । जसमा दुइ संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल चीन लगानी एवं व्यापार सहजीकरणका बिषयमा छलफल भएको थियो । छलफलमा अध्यक्ष ढकाल सहित निवर्तमान अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठको सहभागिता थियो । यसैगरि महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र महासंघ कर्णाली प्रदेश अध्यक्ष पदम वहादुर शाहीले पनि वैठकमा सहभागिता थियो । यसैगरि कार्यसमिति सदस्यहरु मनोज पौडेल, हरि कार्कि र सोभा ज्ञवालीको पनि कार्यक्रम एवं वैठकमा सहभागिता थियो । समिटका क्रममा आइएमइ समूहले सिएएमसी इन्जिनियरिंग कम्पनीसंग लगानी विस्तारको समझदारी गरेको छ । यसै गरि चौधरी समूहले जिएसी मोटर्स र होजोन मोटर्ससंग पनि सम्झौता गरेको छ । महासंघले पछिल्लो चार महिनामा देशबाहिर आयोजना गरेको यो दोस्रो समिट हो । यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिजसंगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।
भारतमा सिमेन्ट निर्यात बढ्न थाल्यो, कसमस सिमेन्टले पनि निर्यात गर्दै
काठमाडौं । पछिल्लो समय नेपाली सिमेन्टको भारतीय बजारमा माग बढ्दो क्रममा रहेको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपाली सिमेन्टको माग भारतीय बजारमा बढ्दो अवस्थामा देखिएको हो । विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको २ महिनाको अबधिमा झन्डै ४२ करोड रुपैयाँ बराबरको नेपाली सिमेन्ट भारत निर्यात भएको छ । तथ्यांक अनुसार २५ करोड ३६ लाख ४३ हजार रुपैयाँ बराबरको १ लाख ११ हजार १०६ टन क्लिंकर र १६ करोड ४८ लाख ४३ हजार रुपैयाँ बराबरको २ लाख २७ हजार ३०२ टन सिमेन्ट निर्यात गरेको हो । नेपालले साउनमा १६ करोड ४४ लाख ६५ हजार रुपैयाँ बराबरको २५ हजार ७ सय ४२ टन क्लिंकर र ७ करोड ५ लाख २४ हजार रुपैयाँ बराबरको ९ हजार ५ सय ७३ टन तयारी सिमेन्ट निर्यात गरेको हो । गत आर्थिक वर्षमा ७७ करोड ९३ लाख ६ हजार बराबरको १० लाख ४ हजार २३ टन सिमेन्ट निर्यात भएको थियो । जसमा ३५ करोड ८९ लाख ५१ हजार बराबरको ६ लाख ७ हजार ७३ मेट्रिक टन सिमेन्ट र ४२ करोड ३ लाख ५५ हजार बराबरको ३ लाख ९६ हजार ९५० मेट्रिक टन क्लिङ्कर निर्यात भएको थियो । गत २०७९ को असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ गतेदेखि अर्घाखाँची ब्राण्डको सिमेन्ट र २०८० को जेठ २९ गतेदेखि बालाजी सिमेन्टले बाहुबली तथा श्रृष्टी ब्राण्डका पीपीसी सिमेन्ट निर्यात सुरु गरेका थिए । यस्तै, पछिल्लो समय भदौ २१ गतेदेखि सिजी सिमेन्टले समेत नेपाली सिमेन्ट भारत निर्यात सुरू गरिसकेको छ । सरकारले सिमेन्ट, स्टिललगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक दश करोडबढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका थिए । उनीहरुका अनुसार २०७९ को असारबाट निर्यात सुरु भएको नेपाली सिमेन्टको माग भारतका विभिन्न शहरमा बढ्दो क्रममा रहेको छ । पाल्पा सिमेन्टका प्रवन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल भारतीय बजारमा माग बढ्दो रहेको बताउँछन् । ‘अहिले वर्षातको सिजन केही कम निर्यात भएको छ, अब विस्तारै बढ्दै जान्छ’, उनले भने, ‘भारतीय बजारमा नेपाली सिमेन्टको माग राम्रो भएर अहिले अरु उद्योगले पनि निर्यातको तयारी गरिरहेका छन् ।’ सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापा नेपाली सिमेन्ट उद्योगीहरु निर्यातमा हौसिएको बताउँछन् । हाल चार वटा उद्योगले निर्यात सुरु गरिरहेका छन्, अब छिट्टै नयाँ उद्योगहरु थपिने क्रममा छन्’, उनले भने । उनको कम्पनी कसमस सिमेन्टले निर्यातका लागि भारतसँग अनुमति माग गरिसकेको छ । ‘हामीले अनुमति माग गरेका थियौँ, हामीलाई अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ, अनुमति पाएसँगै निर्यातको तयारी थालिहाल्छौँ’, उनले भने ।