१५ करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण

काठमाडौं । टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवनको निर्माण सम्पन्न भएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको १५ करोड ३८ लाख १५ हजार रुपैयाँ लागतमा सो भवन बनेको हो । नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले संयुक्तरुपमा आइतबार शुभारम्भ गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बुढाथोकीले नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने उल्लेख गरे । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका नगरवासीले विकासको अनुभूति गर्न पाएका छन्, अब भवनको अभाव छैन, संस्थागत विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै थप सहज र छिटोछरितो सेवा प्रवाह गर्न आग्रह गर्दछु”, उनले भने । टोखा नगर प्रमुख अधिकारीले टोखाको विकासका लागि नगरपालिका लागेको जनाउँदै सबैले साथ र सहयोग गर्न आग्रह गरे । उनले छरिएर रहेको सेवालाई नयाँ भवन निर्माणसँगै एकै ठाउँबाट प्रवाह गरिने बताए । विसं २०७६ माघ १२ गते सम्झौता भएर विसं २०७६ फागुन २८ गते शिलान्यास गरी निर्माण सुरु गरिएको उक्त भवन सम्झौताभन्दा ढिलो गरी निर्माण सम्पन्न भएको हो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले जग्गा, स्रोत साधनका अभावका कारण समयमै निर्माण सम्पन्न गर्न कठिन भएको जानकारी दिए । विसं २०७८ मा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको उक्त भवन दुई वर्ष ढिला गरी विस २०८० असार २५ गते सम्पन्न भएको थियो । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा छन् ।

सञ्चालनमा आयो १० करोड लगानीमा बनेको कोटेश्वरको अरनिको बसपार्क

काठमाडौं । पूर्वअरनिको यातायात प्रा.लि.ले काठमाडौंको जडीबुटीमा निर्माण गरेको बसपार्क सञ्चालनमा आएको छ । कम्पनीले असोज २८ गते आइतबारबाट उक्त बसपार्क सञ्चालनमा ल्याएको हो । पूर्वअरनिको यातायात प्रा.लि.को आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौं महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजबाट सञ्चालनमा आएको हो । जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रा.लि. दर्ता गरेर कम्पनीले झन्डै १० करोड रूपैयाँको लगानीमा बसपार्क बनाएको हो ।

माथिल्लो अरुण निर्माण गर्न विश्व बैंकले १ खर्ब ३० अर्ब ऋण दिने

काठमाडौं । माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहेका अर्थमन्त्रीसँग शनिबार बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा बैङ्कले रणनीतिक महत्वको सो आयोजनाका निम्ति सहुलियतपूर्ण कर्जा दिने सङ्केत गरेको अर्थ मन्त्रालयले जनाएको छ । बैङ्कबाट सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा आगामी साता उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले वासिङटनमा प्राविधिक एवं वित्तीय विषयमा केन्द्रित रहेर छलफल गर्ने तयारी गरेको मन्त्रालयले बताएको छ । त्यसैगरी, सहुलियतपूर्ण ऋण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१औँ बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्रीले गरेको प्रस्तावप्रति विश्व बैङ्कले सकारात्मक जवाफ दिएको हो । विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्ततर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा उनीहरुले नेपालको प्रस्तावप्रति सकारात्मक जवाफ दिएका हुन् । गत वर्ष ९.२ प्रतिशतमात्र प्रवाह भएको कर्जाको परिमाण बढाउन मन्त्री महतले जोड दिएका र्थि । बैठकमा नयाँ आयोजना निर्माण तथा ठेक्का प्रक्रिया र धेरै क्षेत्रमा छरिएका आयोजनाको एकीकरणबारे पनि उनीहरुबीच छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी, ३ सय मिलियन अमेरिकी डलर अर्थात् ३९ अर्ब रुपैयाँ बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्षबीच सहमति भएको छ । सहमतिअनुसार सार्वजनिक वित्त, वित्तीय क्षेत्र समावेशी विकासका साथै नीतिगत सुधारका काम कार्यान्वयन गरिनेछ । यसैगरी, भौतिक पूर्वाधारका क्षेत्रमा अर्थमन्त्रीले कार्यक्रमगत सहायताको नयाँ ढाँचामा सहायता परिचालन गर्न अनुरोध गरेका छन् । उक्त ढाँचाअन्तर्गत स–साना आयोजना कार्यान्वयनका लागि नेपालको आफ्नै सामाजिक तथा वातावरणीय जोखिम न्यूनीकरणका मापदण्डलाई आधार मानेर लगानी सुनिश्चित गरिनेछ । बैठकमा अर्थसचिव कृष्णहरि पुष्कर र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल थिए ।