एमसिएले लगायो १८ किलोमिटर प्रसारण लाइनकाे ठेक्का
काठमाडौं । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत प्रसारण आयोजनाअन्तर्गत १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए-नेपालले हस्ताक्षर गरेको छ । एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङदेले उक्त सम्झौतामा हस्ताक्षर गरे । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो आयोजनाका लागि १२ दशमलव ३६ मिलियन अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ । अर्थसचिव एवं एमसिए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले भने, ‘निर्माण सम्झौता सम्पन्न भइसकेका तीन वटा सबस्टेसनसहित यो १८ किमि प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउने सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘यो १८ किमि अंश निर्माण आयोजना मात्रै होइन, नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउनेसन्दर्भमा यो महत्वपूर्ण सेतु हो । यो उपलब्धि संलग्न भएका सबैको रणनैतिक दूरदृष्टि र प्रतिबद्धताको प्रमाण हो ।’ एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले भने, ‘१८ किमि सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता गर्नेसन्दर्भमा प्राप्त यो सफलतापूर्ण नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्ने हाम्रो साझा यात्राको एउटा मुख्य कोशेढुंगा हो । यो उपलब्धि एमसीसी नेपाल कम्प्याक्टले गएको वर्ष हासिल गरेका कैयौँ सफलतामध्ये एउटा हो तर यसले वृहत् २ सय ९७ किमि लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने भएकोले यसको विशेष महत्व छ ।’ एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्टको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा हस्ताक्षर गरिएको यस निर्माण सम्झौता प्रगतिको सूचक भएको बताए । ‘छिटो निर्माण सम्पन्न गर्नका लागि वृहत् प्रसारण लाइनबाट छुट्याइएको १८ किमि सीमापार अंशले यस राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य हासिल गर्नमा नेपाल सरकारको प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ र सबै सरोकारवालाबीचको सहकार्यात्मक प्रयासले सफलतापूर्ण उपलब्धि दिलाउँछ भन्ने कुराको पुष्टि गर्दछ,’ उनले भने । बाँकी २ सय ९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसिए–नेपालले तयारी गरिरहेको जनाइएको छ ।
‘सरकारले निर्माण व्यवसायीको भुक्तानी समयमा नगर्दा अर्थतन्त्र चलायमान हुन सकेन’
काठमाडौं । मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउन आवश्यक रहेको व्यवसायीहरूले बताएका छन् । बिहीबार काठमाडौंमा युवा निर्माण व्यवसायी समुदायले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन निर्माण उद्योग चलायमान हुन जरुरी रहेको व्यवसायीहरूले औंल्याए । व्यवसायीहरूले निर्माण उद्योग चलायमान हुन सरकारले निर्माण उद्योगलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी समयमा गर्न नसक्दा पनि अर्थतन्त्र चालयमान हुन नसकेको उनीहरूको भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले निर्माण क्षेत्र सरकारको प्राथमिकतामा नरहेकाे महसुस भएको बताए । उनले मुलुकमा पूर्वाधार निर्माणको लागि निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको उल्लेख गरे । अध्यक्ष अग्रवालले हरेक वर्षको बजेटमा आवश्यकताको पहिचान विना नयाँ आयोजनाहरु थप हुने तर पछि बजेट अभाव हुँदा आयोजनाहरू रुग्ण बन्ने अवस्था आउने गरेको बताए । उनले यस्तो समस्या आउन नदिनका लागि सरकारले आवश्यकता र औचित्यको आधारमा आयोजनाहरू छनोट गर्न आवश्यक रहेको बताए । अध्यक्ष अग्रवालले तीन तहका सरकार हुँदा पनि कसले पूर्वाधार बनाउने र जिम्मेवारी कसले लिने भन्ने अन्योलता रहेको भन्दै पूर्वाधार निर्माण गर्दा तीन तहका सरकारले आवश्यकता र पुँजीको आधारमा छनोट गर्नु उचित हुने बताए । उनले मुलुकमा राजनीतिक र कर्मचारी अस्थिरताको कारणले पनि निर्माण क्षेत्र समस्यामा रहेको धारणा राखे । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योग शिथिल,आर्थिक उपार्जनमा आएको संकट र सरकारले भुक्तानी गर्न नसकेको कारणले गर्दा निर्माण उद्योग समस्यामा परेको बताए । उनले निर्माण उद्योगमा परेको समस्याले सप्लाई चेन लगायत सहयोगी हातहरू पनि समस्यामा परेको उल्लेख गरे । अध्यक्ष सिंहले मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउन आवश्यक रहेको बताए । उनले युवा निर्माण व्यवसायीहरुले निर्माण उद्योग चलायमान बनाउने महत्वपूर्ण भुमिका निवाह गर्ने अपेक्षा रहेको उल्लेख गरे । युवा निर्माण व्यवसायी समुदायको ६ औं अधिवेशनबाट वसन्तबहादुर चन्दको नेतृत्वमा १५ जनाको कार्यसमिति चयन गरेको छ ।
डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ
चितवन । भरतपुर महानगरपालिकाले १ अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ । संघ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्याइएको हो । राप्ती र नारायणी नदी, मध्यवर्ती र सामुदायिक वन किनार हुँदै महानगरको अधिकांश भागलाई समेट्ने गरी ८८.६ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको हो । महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका, संघीय सरकारको डिभिजन सडक कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र प्रदेश सरकारको प्रदेश पूर्वाधार कार्यालयले विभिन्न खण्ड छुट्याएर चक्रपथ निर्माण गरेको जानकारी दिइन् । उनका अनुसार झण्डै ९० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी कामका लागि पनि बोलपत्र आह्वान गरिसकिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती र वनक्षेत्रमा रुख कटानको समस्याले केही साँघुरो भए पनि अधिकांश ठाउँमा सात मिटर कालोपत्र गरिएको छ । चक्रपथले पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, बाइपास सडक र प्रचण्डमार्गलाई समेत ठाउँठाउँमा जोडेको प्रमुख दाहालले बताइन् । प्रमुख दाहालले भनिन्, ‘संघीयताको नमुना परियोजनाका रूपमा हामीले यसलाई लिन सक्छौँ ।’ यो देशकै सबैभन्दा लामो चक्रपथ भएको उनको भनाइ छ । दाहालले एउटै निकायले मात्र काम गर्न सम्भव नभएपछि सबैसँगको सहकार्यमा काम गरिएको बताइन् । काम सम्पन्न गरेर थप व्यवस्थित बनाउने काममा महानगर जुट्ने उनको भनाइ छ । यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको, आर्थिक गतिविधि चलायमान भएको, जीवनस्तर उकास्न सहयोगी बनेको प्रमुख दाहालको भनाइ छ । महानगरपालिकाका इन्जिनियर साकार लामाले ठाउँठाउँमा गरेर ४.१ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेकामा बोलपत्र आह्वान भइसकेको बताए । संघीय सरकारको १० करोड रुपैयाँको लागतमा बोलपत्र आह्वान भएको हो । यो काम सम्पन्न भएपछि चक्रपथको सम्पूर्ण भाग कालोपत्र हुनेछ । महानगरपालिकाको वडा नं २७ र २८ क्षेत्रको नारायणी नदी वारिका तीन ठाउँमा बाँकी रहेका भागको सडक डिभिजन कार्यालयले ठेक्का लगाएको हो । लामाले भने, ‘गाउँगाउँलाई भरतपुरको मुख्य सहरसँग जोड्न चक्रपथ उपयोगी भएको छ ।’ पश्चिम चितवनमा रहेका ठूला होटल हुँदै चक्रपथ बनेकाले पर्यटन क्षेत्रमा पनि यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।