४८ लाख खर्चेर बनेको जोमसोम बसपार्क सञ्चालनमा
म्याग्दी । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र वडा नं ४ जोमसोममा दुई वर्षअघि बसपार्क निर्माण भएको थियो । यातायात व्यवसायी र सर्वसाधारणले सडक छेउमा सवारीसाधन पार्किङ गर्दा जोमसोम बजार अस्तव्यस्त बन्नाका साथै दुर्घटनाको जोखिम बढेको थियो । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बजारभित्रका यातायात कम्पनीका टिकट काउन्टर हटाएर लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कमा पार्किङ गराउन थालिएको जानकारी दिए । ‘पहिलो चरणमा सार्वजनिक यातायातका साधनहरु बसपार्कभित्र पार्किङ गराउने र छुटाउने व्यवस्था मिलाएका छौँ’, अध्यक्ष लालचनले भने, ‘बजारभित्र यात्रु चढाउने र ओराल्ने गरी निजी तथा पर्यटक सवारीसाधनलाई पनि अनिवार्य बसपार्कको प्रयोग गर्नुपर्ने नियम लागू गराएका छौँ ।’ गाउँपालिकाले प्रतिस्पर्धामार्फत जोमसोमका सुरेश थकालीलाई २० लाख रुपैयाँमा एक वर्षका लागि बसपार्क सञ्चालन र व्यवस्थापन गर्न ठेक्का सम्झौता गरेको उनले जानकारी दिए । सिसिटिभी क्यामेरा जडान गरिएको बसपार्कमा सुरक्षाको व्यवस्था तथा टिकट काउन्टरको सहज पहुँचको व्यवस्था गरिएको उनले बताए । जोमसोमको प्रवेशद्वारस्थित एक्लेभट्टीमा घरपझोङ गाउँपालिकाले ४८ लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको बसपार्कमा करिब एक सय बस, जिप, ट्याक्सी अटाउन सक्ने क्षमता छ । सहरी विकास तथा भवन आयोजना बागलुङले दुई करोड ५० लाख रुपैयाँको लागतमा जोमसोमबाट ठिनी र कागबेनीतर्फ जाने सडकको चोकमा निर्माण गरेको बसपार्कमा एक सय ५० सवारीसाधन पार्किङ गर्न सकिन्छ । विसं २०७३ मा निर्माण सुरु भएको यो बसपार्क विसं २०७९ मा सम्पन्न भई गत वर्ष गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । ३० लाख रुपैयाँ लगानी गरेर बसपार्कमा थप पूर्वाधार विस्तार र मर्मत गरी सञ्चालनमा ल्याइएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताए । बसपार्क प्रयोग गरेबापत ट्रक, बस, ट्याक्टर, लोडर र डोजरलाई प्रतिघण्टा २५ रुपैयाँ, हलुका सवारीसाधनलाई १५ रुपैयाँ र मोटरसाइकललाई १० रुपैयाँका दरले पार्किङ शुल्क तोकिएको छ । रासस
१६ अर्बको लागतमा बन्यो खुदी २२० केभी सबस्टेसन
काठमाडौं । मर्स्यांदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहेका छन् । सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरूको सफलतापूर्वक परीक्षण गरिएको छ । १३२ केभी सबस्टेसनलाई भने सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरण र हिमालयन पावर पार्टनरबीचको विद्युत् खरिद बिक्री सम्झौता बमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई अब यही सबस्टेसनमा जोडिने छ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत दोर्दीखोला जलविद्युत र दोर्दी करिडोर प्रसारण लाइनबाट आएको विद्युतलाई उदीपुर सबस्टेसनलाई बाइपास गरी मध्यममर्स्यांदी विद्युतगृहको स्वीचयार्डमा जोडिएको थियो । सबस्टेसन निर्माण सम्पन्न भएकाले अब दोर्दी करिडोर प्रसारण लाइनलाई यही सबस्टेसनभित्र छिराएर मध्यमर्स्यांदीको स्वीचयार्डतर्फ विद्युत प्रवाह गरिने छ । त्यसपछि मध्यमर्स्यांदी–ममर्स्यांदी १३२ केभी प्रसारण लाइन हुँदै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत स्थानीय रुपमासमेत विद्युत् आपूर्ति गरिने हुँदा त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘आयोजनाअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै चितवनको भरतपुरसम्मको २२० केभी प्रसारण लाइन आगामी वैशाखभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ, उक्त लाइन बनेपछि त्यस क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि झन् सहज हुने भएकाले यो लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ ।’ मर्स्यांदी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्यांदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । यस प्याकेजको उदीपुर–मार्कीचोक खण्डमा पर्ने ११० वटा टावरमध्ये ९० वटाको जग हालिएको छ । मार्कीचोक भरतपुर खण्डमा पर्ने ८३ वटा टावरमध्ये निजी जग्गामा पर्ने ३५ वटा टावरको जग हालिएको छ । बाँकी टावर वन क्षेत्रमा पर्ने भएकाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाउनका लागि सम्पूर्ण पूरा गरी रुख कटान सुरु गर्न लागिएको आयोजना प्रमुख नारायण रेग्मीले बताए । आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नु पर्नेछ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ । तेस्रो प्याकेजअन्तर्गत मनाङ (धारापानी)– खुदी–उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माणाधीन छन् । २२०/१३/र३३ केभी खुदी सबस्टेसन निर्माण करिब ९० प्रतिशत सकिएको छ । २२०/१३२/३३ मनाङ सबस्टेसन पनि निर्माणाधीन छ । खुदी–उदीपुर प्रसारण लाइन खण्डमा पर्ने ४६ वटा टावरमध्ये २२ वटाको जग हालिएको छ । ६ वटा टावर खडा गरिएको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।
मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त, डेढ वर्षमा १६ प्रतिशतमात्रै प्रगति
चितवन । मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दासमेत १६ प्रतिशतमात्रै भौतिक प्रगति देखिएको छ । पृथ्वी राजमार्गमा पर्ने नागढुंगा-मुग्लिन सडकखण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो । उक्त सडकखण्ड ३९ किलोमिटर छ । नागढुंगा-मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नक्सांकन परिवर्तन, वर्षात र चाडपर्वका कारण काम लक्ष्यअनुसार हुन नसकेको हो । भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्यांक गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएको आचार्यको भनाइ छ । उनका अनुसार हाल पाँचवटा पुलको जग र पिल्लर निर्माण भएको छ । नाली निर्माण, मोड सुधार, टेवा पर्खालको काम, कल्भर्ट बिस्तार र सडक चौडा भइरहेको छ । यस सडकका आठ पुलमध्ये छ पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये पाँचवटाको काम भइरहेको उनले जानकारी दिए । हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम सुरु हुनसकेको छैन । हुग्दीको पुल वर्षातपछि थालिने उनले बताए । सडक स्तरोन्नति विश्व बैंकको सहयोगमा थालिएको हो । शर्मा-जेडआई सिजी जेभीले चार अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइँदैछ । हाल यो सडकको चौडाइ सात मिटर छ । अब सडक कम्तीमा नौ मिटर चौडाइको बन्ने आयोजना कार्यालयले जनाएको छ । बाक्लो बस्तीका चार ठाउँमा सडक चार लेनको बन्नेछ । विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर सात दशमलव १५ किलोमिटर सडक चार लेनको बन्ने छन् । चार लेन सडक १४ मिटर फराकिलो हुने जनाइएको छ । राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद काम गर्नुपरेको अधिकारी आचार्यकाे भनाइ छ । वर्षातकाे समयमा काम गर्न कठिन भएकाले हिँउद लागेपछि कामले तीव्रता पाउने उनले बताए । रासस