धवलागिरिको धारापानी-झिनडाँडा सडक स्तरोन्नति सुरु, स्थानीय भए खुसी
म्याग्दी । धवलागिरि गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । डेढ दशकअघि मार्ग खुलेको सडक स्तरोन्नति थालिएको धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए । स्थानीयको सहमति र आग्रहअनुसार धारापानी तथा ताकम गाउँभित्रको सडकलाई पक्की बनाउने गरी डिजाइन (नक्शांकन) भएको छ । धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरिको वडा नं ५ का बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नति हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । चार किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर-बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालयबीच १४ करोड ६१ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले दुई वर्षको ठेक्का अवधि भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणको काम थालेको बताए । आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ । यो सडक हाल चारदेखि पाँच मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन् । म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाँडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ-धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश तथा संघीय सरकारको लागत साझेदारीमा एक अर्ब रुपैयाँ बजेटको आयोजनाको यसै आर्थिक वर्षदेखि सुरु हुने जानकारी दिए । हाल मरेनी पुगेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप छ करोड ५० लाख रुपैयाँ विनियोजन भएको जुग्जालीले बताए । प्रदेश सरकारको लगानीमा दरवाङदेखि धारापानी जोड्ने करिब सात किलोमिटर सडक गत वर्ष ग्राभेल भएको थियो । रासस
मन्त्री खड्काले गरे सुनसरी–मोरङ सिँचाइ आयोजनाको अनुगमन, तत्काल सिँचाइ पुर्याउन निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आइतबार निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पुर्याउन निर्देशन दिएका हुन् । ‘कृषिप्रधान देशमा सिँचाइको अभाव हुनुहुँदैन, बिग्रेका उपकरण यथाशीघ्र मर्मतसम्भार गरेर किसानको खेतबारीमा सिँचाइ पुर्याउनुहाेस्,’उनले भने । मन्त्री खड्काले आजै कोसी नदीबाट सुनसरी र मोरङ जिल्लामा सिँचाइ लैजान प्रयोग गरिएको ‘डेज्रिङ पद्धति’को अनुगमन गरेका थिए । उक्त उपकरणको लम्बाइ नौ सय ९६० मिटर, चौडाइ ८० मिटर र गहिराइ १० मिटर रहेको छ । सो उपकरणले इन्टेकबाट मूल नहरमा छिरेको बालुवा तथा ग्रेगानलाई झिक्ने काम गर्ने सिँचाइ आयोजना कार्यालयले जनाएको छ । विसं २०५२ मा निर्माण भएको दुईवटा उपकरणमध्ये हाल एउटा मात्र सञ्चालनमा छ । मन्त्री खड्काले बिग्रेका उपकरणको तत्काल मर्मत गर्नुका साथै त्यसको विकल्पमा नयाँ प्रविधिको अध्ययन गरेर सञ्चालनमा ल्याउनसके सिँचाइ सुविधामा सहयोग पुग्ने बताए । सुनसरी–मोरङ सिँचाइ आयोजनामार्फत हाल सुनसरीको ४० हजार र मोरङको २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा उपलब्ध हुँदै आएको छ । निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, सिँचाइ विभागका उपमहानिर्देशक दिनेश भट्टलगायत सहभागी थिए ।
मध्यभोटेकोशी आयोजना अन्तिम चरणमा, १०२ मेगावाटकाे विद्युत उत्पादन हुने
काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी अन्तिम चरणका कामहरु भइरहेकाे हाे । बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम काम भइरहेको छ । २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैं अगाडि सकिने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरु, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच गत १३ भदौमा भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो । बाँधक्षेत्रको निर्माण सकी पानी हालेर परीक्षणसमेत भइसकेको छ । आयोजनाको ७.१२४ मिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न गरी गत वर्षको फागुनमा पानी भरी परीक्षण सुरु गरिएको थियो । परीक्षणका क्रममा मुख्य सुरुङको करिब एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ । हाल सुरुङ सफा गर्न सुरु गरिएको छ । १५ दिनपछि सुरुङमा पानी भर्न थालिने विद्युत प्राधिकरणले जनाएकाे छ । विद्युतगृहमा सिभिल निर्माण कार्य सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवम् परीक्षण (ड्राई टेस्ट) सम्पन्न भइरहेको छ । सुरुङबाट पानी आउनसाथ उपकरणहरूको वेट टेस्ट सुरु हुने छ । बाँकी रहेका सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङ, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सम्मिलित टोलीले शनिबार आयोजना निर्माणस्थल निरीक्षण भ्रमण गरी एक महिनाभित्र जसरी पनि विद्युत् उत्पादन हुने गरी काम गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । राज्यमन्त्री तामाङले बाँकी रहेका काम द्रुत अगाडि बढाउन र आयोजना व्यवस्थापनका सम्पूर्ण कर्मचारी साइटमै बसेर काम सम्पन्न गर्न निर्देशन दिए । मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ । २२०/१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युतलाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ । उक्त कार्य दशैं अगाडि सम्पन्न गर्ने गरी काम भइरहेको हाे । सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौं प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ । उक्त लाइनहरू सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुनेछ प्राधिकरणले जनाएकाे छ । जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत सीमानाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को प्रकोप, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनलगायतका कारणले मध्यभोटेकोशीको निर्माण प्रभावित भएको थियो । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रालिको १ र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत सेयर रहेको छ । ४९ प्रतिशत साधारण शेयरधनी समुहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५,ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) रहेका छन् । कम्पनीले साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिकरूपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।