दुम्कीबासमा पुल मर्मतमा ९० लाख खर्च लाग्ने, भाँचिएको एक महिना बित्दा पनि काम अगाडि बढेन
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गतको बुटवल-नारायणगढ सडकखण्डको दुम्कीबासमा पुल भाँचिएको एक महिना पुरा भएको छ । तर, यसको मर्मतबारे सरोकारवाला निकाय मौन देखिएका छन् । गत पुसमा भारतीय हेभी ट्रक पुल पार गर्ने क्रममा विनयी खोला पुल एक्कासि भाँचिएको थियो । कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ११० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको थियो । ट्रक पुलको बीच भागमै फसेको थियो । पुलको झन्डै ६० मिटर भाग पूरै भत्किएको थियो । धेरैले पुल पुरानो भएकोले भाँचिएको तर्क गरेका थिए । पुल विसं २०३२ सालमा ब्रिटिस सरकारको अनुदानमा बनेको हो । पुल महेन्द्रराजमार्ग निर्माण हुँदा नै बनेको थियो । पुल बनेको झण्डै ५० वर्ष पुरा भइसकेको छ। तत्कालको लागि पुलको पुरै ड्यामेज भएको पूर्वपट्टिको भाग र अन्य ड्यामेज ठाउँमा सामान्य मर्मत गरेर सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख तथा हाल उक्त आयोजनाका प्रमुख नारायणप्रसाद लामेछानेले बताए। उनका अनुसार सडक विभाग अन्तर्गतको पुल महाशाखाका उपनिर्देशकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले पुलबारे प्रतिवेदन पठाइसकेको छ । मर्मत गर्न ९० लाख लाग्ने ड्यामेज भएको उक्त पुललाई अस्थायी रूपमा मर्मत गर्न करिब ९० लाख रुपैयाँ लाग्ने जनाइएको छ । उनले भने, ‘पुरै पुलको ओभरल ब्रिज डिजाइन गरेर यसको कस्टिम निकालेपछि मात्रै थाहा हुन्छ । तत्काल ड्यामेज भएको ठाउँमा मात्रै सामान्य मर्मत गर्ने गरी तयारी भइरहेको र उक्त मर्मतका लागि करिब ९० लाख रुपैयाँ लाग्नेछ ।’ पुल मर्मतको जिम्मा सडक विभागको रहेको उनले जानकारी दिए । के भन्छ स्थानीय सरकार ? विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले पुल सडक विभागले बनाउने कुरा भएपनि अहिलेसम्म काम अगाडि नबढेकाे बताए । पटक-पटक सडक विभागसँग सम्पर्क गर्दा पनि कल नै नउठाएको गुनासो गरे । उनले भने, ‘पुल भाँचिएको एक महिना बितिसक्यो । यसको निर्माणबारे कुनै सुरसार नै देखिँदैन । पटक-पटक सडक विभागसँग सम्पर्क गरिरहेको छु । तर कल नै उठाउँदैनन् ।’ उनका अनुसार पुललाई ६० मिटर ग्राबेल र बेलिब्रिज गरेर बनाउने याेजना छ । उनले गाँउपलिकाबाट हुने सहयोगका लागि आफूहरू तयार रहेको बताए । उनले भने, ‘पालिका जति बेला पनि तयारी अवस्थामै छ । पालिकाले गर्ने सबै सहयोग गर्छ । पुलको अनुगमन गर्न मन्त्रीस्तरीय मान्छे आए पनि यसको निर्माणका लागि ठोस निर्णय नै गर्न सकेनन् ।’ हाल उक्त खण्डमा दायाँबायाँ डाइभर्सन गरेर सवारीसाधन सवारीसाधन आवतजावत भइरहेको उनको भनाइ छ । उनले दुर्घटनाग्रस्त स्थानभन्दा २०० मिटर परबाट वैकल्पिक बाटो खोलिएको र दुवैतर्फका सवारीसाधनहरू सञ्चालनमै रहेको जानकारी दिए । ब्रिटिस सरकारको अनुदानमा बनेको पुल ५० वर्षमै ‘ड्यामेज’, कसरी गुड्न दिइयो ११० टनको ट्रक ?
नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
काठमाडौं । नेपाल, भारत र बङ्गलादेशबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’ तय गरिने भएको छ । नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारणलाइन निर्माणका लागि भारतको नयाँदिल्लीमा नेपाल र भारतबीच सचिवस्तरीय बैठकमार्फत मोडालिटी तय गर्न लागिएको हो । नेपाल र भारतबीच मङ्गलबार हुने सचिवस्तरीय बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली आज नयाँदिल्ली प्रस्थान गरेको छ । दुई देशको सचिवस्तरीय वार्ता र सहमतिपछि प्रसारणलाइन निर्माणको प्रक्रिया अगाडि बढाइनेछ । यही माघ ९ गते नेपाल र भारत ऊर्जा सहसचिवस्तरीय कार्यदलको १२औँ बैठकमा अन्तरदेशीय प्रसारणलाइन निर्माण र विद्युत् आयात तथा निर्यातलाई थप सहज बनाउने सहमति भएको थियो । सोही सहमति दुई देशबीचका सचिवस्तरीय बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए । उक्त बैठकमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरु, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजनाहरु तथा सम्बद्ध प्रसारण लाइन आयोजना र अन्तरदेशीय विद्युत् आयात–निर्यातका विषयमा छलफल भएको थियो । नेपालको इनरुवादेखि भारतको पूर्णिया र नेपालको दोदोधारादेखि भारतको बरेलीसम्म ४०० केभीका दुई प्रसारण लाइन निर्माण कार्य सन् २०३० सम्म सम्पन्न गर्ने सहमति भएको छ । उक्त प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन लिमिटेडको शेयर स्वामित्व रहनेगरी दुवैतर्फ संयुक्त कम्पनी स्थापना हुनेछ । दुई देशबीचको सम्झौतापछि नेपालतर्फ रहने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ रहने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहनेछ । दुवैतर्फका कम्पनीमा बाँकी ४९ प्रतिशत शेयर स्वामित्व अर्को देशको रहने व्यवस्था हुनेछ । यसैगरी, चमेलिया–जौलजीवी २२० केभी डबल सर्किट प्रसारण लाइनको डिपिआर सन् २०२५ सम्म सम्पन्न गरिने सहमति भएको छ । यस्तै, ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता ८०० मेगावाटबाट बढाएर एक हजार मेगावाट पुर्याउने बताइएको छ । यस्तै सन् २०३५ सम्ममा ४०० केभीका निजगढ–मोतिहारी र कोहलपुर–लखनऊ प्रसारण लाइन निर्माण सम्पन्न गरिने सहमति भएको छ । उक्त सहमतिलाई दुई देशबीचको सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म १५ हजार विद्युत् विदेशमा निर्यात गर्न सरकारले राखेको लक्ष्य पूरा गर्न यस्ता प्रसारण लाइन निर्माण सम्झौताले ठूलो सहयोग पुग्ने बताए । आगामी दिनमा थप विद्युत् निर्यात गर्नेगरी अन्तरदेशीय प्रसारण लाइनको संरचना बनाउँदै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । यसअघि नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट निर्यातका लागि दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छभने बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु भइसकेको छ ।
नेपाल-भारत सिमानाका झुलाघाटमा सडक निर्माण हुँदै
काठमाडौं । झुलाघाट नाका भारतसँग जोडिएको पुरानो नाका हो । यो नाकाबाट बैतडीलगायत सुदूरपश्चिम र कर्णालीका सर्वसाधारणहरू नेपाल-भारत आवतजावत गर्ने गर्छन् । मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दुका रूपमा समेत रहेको झुलाघाट सडक चौडा पार्ने काम भइरहेको छ । साँघुरो सडकमा दुर्घटना बढ्न थालेपछि सडकलाई चौडा पार्ने काम थालिएको सडक डिभिजन कार्यालय पाटन, बैतडीले जनाएको छ । नेपाल-भारत सीमा क्षेत्र रहेको दशरथचन्द नगरपालिका-८ को झुलाघाटमा पटक पटक दुर्घटना हुन थालेपछि २५० मिटर सडकखण्ड चौडा पार्ने कार्य भइरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका सूचना अधिकारी लीलाधर भट्टले जानकारी दिए । उनका अनुसार भारतबाट मजदुरी गरेर फर्कने बेला गत भदौमा यही सडकबाट चिप्लेर बैतडीको पुर्चौंडी नगरपालिकाका एक मजुदुरको महाकाली नदीमा खसेर मृत्यु भएको थियो । यस्तै, केही वर्षअघि यही सडकबाट बोलेरो जीप महाकालीमा खसेको थियो । सीमासँग जोडिएको सडक साँघुरो हुँदा बेला-बेला दुर्घटना हुन थालेपछि सडकलाई स्तरोन्नति गर्ने कार्य भइरहेको सूचना अधिकारी भट्टले बताए । उनले भने, ‘सीमा क्षेत्रमा वर्षौंपिच्छे दुर्घटना बढ्ने थाले । सडक साँघुरो भयो । बेला-बेला दुर्घटना हुने समस्या भएपछि झुलाघाटको यातायात बिसौनीदेखि पिपल चौतारासम्म २५० मिटर सडकलाई ७ मिटर चौडा पार्ने काम भइरहेको छ ।’ यसैगरी, सूचना अधिकारी भट्टले एक ठाउँमा घरधनीले मुआब्जा मागेका कारण ७ मिटर चौडा हुन सकेको छैन् । बाँकी सबै ठाउँमा चौडा पारी यो वर्ष ५० मिटर जति ढलान गर्ने योजना रहेको उनकाे भनाइ छ । यस्तै, ५० मिटर खण्डमा नाली समेत निर्माण गरिनेछ भने बजार नजिकै प्याराफिट निर्माण गर्ने योजना रहेको छ । जय माँ भगवती निर्माण सेवाले ६५ लाखको लागतमा ठेक्का प्रक्रियाद्वारा सडक चौडा पार्ने कार्य गरिरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताए । उक्त खण्ड स्तरोन्नतिका लागि १ करोडको ठेक्का आह्वान भएपनि ६५ लाख रुपैयाँमा ठेक्का सदर भएको हो ।