मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई छिचोल्दै पूर्वी रुकुम जोडिएको छ । पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार आठ सय ७९ किलोमिटरमा फैलिएको लोकमार्गअन्तर्गत बागलुङमा एक सय ३५ किमी पर्दछ । विसं २०६४ देखि सुरु भएको आयोजनाको बागलुङ खण्डमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । लोकमार्गको सदरमुकाम खण्डमा विभिन्न संस्थाहरूको पहलमा साढे दुई दशक अगाडि ट्रयाक खुलेको थियो । पश्चिम बागलुङखण्डमा २०६४/६५ तिर मात्रै ट्रयाक खोलिएको थियो । आयोजना सुरु भएको १७ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा लोकमार्ग छेउछाउका बस्तीका बासिन्दा समस्यामा छन् । करिब ९० प्रतिशत काम सकिएकाले बाँकी यथाशीघ्र सम्पन्न हुने मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले जनाएको छ । कार्यालयका सूचना अधिकारी किरण सुवेदीले हालसम्म एक सय २२ किमी सडक कालोपत्र भएको बताउँदै अब १३ किमी कालोपत्र गर्न बाँकी रहेको जानकारी दिए । लोकमार्ग कार्यालयले विभिन्न खण्डमा काम गरिरहेको भन्दै निसीखोला गाउँपालिकाअन्तर्गतका १५ किमीमा काम सकेर सडक विभागलाई हस्तान्तरण गरिसकेको उनले बताए ।उनका अनुसार बागलुङ बजारबाट बयलडाँडासम्मको पाँच किमी र बयलडाँडाबाट घोडाबाँधेसम्मको आठ किमीबाहेक सबै खण्ड कालोपत्र भइसकेको छ । पाँच किमी यसै वर्ष सम्पन्न हुने र बाँकी आठ किमी आगामी वर्षमा सक्नेगरी काम भइरहेको सूचना अधिकारी सुवेदीले बताए । उनले भने, ‘बागलुङ खण्डमा पर्ने धेरै ठाउँमा सडक कालोपत्र भएर पुनः मर्मत पनि भइसकेका छन्, काम सकिएका खण्ड सडक विभागलाई हस्तान्तरण गर्न बाँकी छ, अब काम सकिने गतिमा छ । बिहुँ खण्डमा ठेक्का तोडेर पुनः लगाउँदा ढिला भएको हो, अबको एक वर्षमा सबै काम सकिने छ, काम सकिएपछि सबै खण्ड सडक विभागलाई हस्तान्तरण गर्नेछौँ ।’ मध्यपहाडी लोकमार्गले नजोडिँदा बागलुङको सबैभन्दा विकट मानिने निसोखोला अहिले सुगम बनेको छ । निसीखोलावासीका लागि लोकमार्ग वरदान सावित भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । यो लोकमार्गले सिधैँ प्रदेश राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँसँग जोडेको उनको भनाइ छ । ‘विगतमा निसीखोला विकट हुँदा काम गर्ने कर्मचारी पनि आउन मान्दैनथे, यहाँका नागरिकले हप्ता दिन लगाएर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो, तर अहिले एकै दिनमा सदरमुकाम होइन राजधानी नै पुग्न सकिन्छ’, अध्यक्ष घर्ती मगरले भने, ‘सहज सडकको पहुँले यहाँको उत्पादन बजारीकरण गर्न र यात्रा गर्न टेवा पुर्याएको छ भने यस क्षेत्रका हजारौँ नागरिकको जीवनस्तर पनि परिवर्तन ल्याएको छ ।’ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङखण्ड भएर पश्चिम नेपालको पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत जिल्लाबाट दैनिक दर्जनौँ रात्रि तथा दिवा बस सङ्घीय राजधानी काठमाडौँका लागि सञ्चालन हुन थालेका उनले बताए । रासस

निर्माण सुरु भएको ११ वर्षमा पनि त्रिशूली नदीमा पुल नबन्दा सास्ती

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण सुरु भएर एघार वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् ।  पुल निर्माण सुरु भएर सम्पन्न भइसक्नुपर्नेमा हालसम्म पुल अलपत्र बनेपछि यस भेगका स्थानीयवासी निराश बनेका हुन् । केही दिनअघि स्थानीयवासीले पुल निर्माणको काम तत्काल सुरु गर्न माग गर्दै प्रशासन र सडक डिभिजन कार्यालय घेराउ गरेका थिए ।एघार वर्ष अगाडिबाट निर्माण सुरू भएको उक्त पुल निर्माणमा ढिलासुस्ती भएपछि दबाब दिन सरोकार समिति गठन गरिएको छ । बन्दीपुर, देवघाट र आँबुखैरेनीका उपभोक्ताको भेलाले सिद्धान्त थापाको संयोजकत्वमा घुमाउने पुल सरोकार तथा सङ्घर्ष समिति गठन गरेको छ । देवघाट गाउँपालिका–२, ३ र ४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–५ र ६ तथा व्यास नगरपालिका–१३ र १४ का बासिन्दा दैनिक रूपमा हिँडडुल गर्ने उक्त पुल सम्पन्न नहुँदा सर्वसाधारणलाई सास्ती भएको संयोजक थापाले बताए । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले पुल निर्माणमा भइरहेको ढिलासुस्तीले यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको बताए । आँबुखैरेनी गाउँपालिका–६ का पूर्ववडाध्यक्ष चुनाराम गुरूङले सम्बन्धित निकायले यस भेगका जनताको दुःख बुझेर काम सुरू गर्नुपर्ने बताए । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजिव श्रेष्ठले यसै आर्थिक वर्षमा दुई पटक आएको बाढीले पुल निर्माणमा समस्या भएको जानकारी दिए । पुलको डिजाइनमा केही परिवर्तन गर्नुपर्ने भएको र त्यसको काम भइरहेकाले काममा ढिलाइ भएको उनको भनाइ छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलो पटक २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि पनि हालसम्म ४५ प्रतिशत मात्र काम सकिएको छ । उक्त पुलको निर्माणको अवधि आगामी चैतसम्म रहेको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भएपछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । अहिलेसम्म त्रिशूलीको वारिपारीका पिल्लर मात्र ठडिएका छन् । उक्त पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । पुलको लागत रू नौ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौली भएर नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ ।  रासस

पाथीभरा केबलकार विवादमा ६ बुँदे सहमति, अनिश्चितकालीन यातायात बन्द स्थगन

काठमाडौं । ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवाद सम्बन्धी सहमति भएको छ । मंगलबार राति अबेरसम्म नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएको हो । सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ । सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने तथा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ । यस्तै मुक्कुमलुङ संरक्षक पक्षधरबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजे वार्ता गर्ने सहमति भएको गृह मन्त्रालयले जानकारी दिएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई र आन्दोलनरतपक्षका तर्फबाट वार्ता सहजीकरण समितिकी सरस्वती सिंगक (सरु) ले हस्ताक्षर गरेका छन् ।