ऊर्जामा जम्ने गोल्यान ग्रुपको ‘गोल’, ८ वर्षमा ८ सय मेगावाट बिजुली उत्पादन
काठमाडौं । व्यावसायिक समूह गोल्यान ग्रुपले ऊर्जा क्षेत्रमा उपस्थिति बढाउँदै गएको छ । बैंक, बीमा, धागो, हस्पिटालिटी र कृषि लगायतका क्षेत्रमा बलियो उपस्थिति देखाउँदै आएको यो व्यावसायिक समूह अब ऊर्जामा सक्रिय बनेको हो । देशको विकास र सम्वृद्धि ऊर्जाबाट सम्भव रहेको बताउँदै यो व्यावसायिक समूहले सोलार ऊर्जामा आफूलाई सक्रिय बनाएको हो । हाल हाइड्रो र सोलार गरी ५६ मेगावाट बिजुली उत्पादन गरी बजारमा पठाइसकेको यो समूहले साढे २ वर्षमा ५ सय मेगावाट सोलारबाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । आगामी ८ वर्षमा ८ सय मेगावाट बिलुली उत्पादन गर्ने लक्ष्य यो समूहको छ । गोल्यान ग्रुपको इनर्जी विभागका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण अर्यालले ऊर्जामा लगानी बढाउने उद्देश्यअनुरूप १ सय ७० मेगावाटको सोलार परियोजनाको काम अगाडि बढिसकेको जानकारी दिए । जुन परियोजनाको बिद्युत खरिद-बिक्री सम्झौता (पीपीए) हुन बाँकी छ । ‘सो परियोजनाका लागि हामीले सर्भे लाइसेन्स पाएका छैनौं, पीपीए गर्न बाँकी छ, त्यसपछि काम अगाडि बढ्छ,’ उनले भने । अर्यालका अनुसार अझै धेरै परियोजना पीपीएको पर्खाइमा छन् । १० मेगावाटभन्दा कमको बिजुली उत्पादन गर्न विद्युत खरिद सम्झौता भएको १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्छ । १० मेगावाटभन्दा माथिको लागि भने २४ महिनाभित्र काम सकिसक्नुपर्ने हुन्छ । अहिले गोल्यान ग्रुपले सुरु गरेको दुइटा परियोजना १०/१० मेगावाटका छन् भने अरु परियोजना १० मेगावाट भन्दा माथिका छन् । जसमा सबैभन्दा ठूलो परियोजना ५० मेगावाटको छ । तत्काल १ सय ७० मेगावाटको परियोजना अगाडि बढाउने तयारीमा गोल्यान समूह रहेको अर्यालले बताए । सोलारबाट २० मेगावाटको बिजुली यो समूहले पाँच वर्ष अघि १०/१० मेगावाटको ६ वटा गरी ६० मेगावाट परियोजनाको सर्भे लाइसेन्स पाएको थियो । त्यसमध्ये नेपालगञ्जमा २० मेगावाटको बिजुली उत्पादन गरिसकेको छ । जुन बिजुली साढे १६ किलोमिटरको ट्रान्समिसनलाई डबल सर्किट बनाएर कोहलपुरको ग्रिडमा जोडिएको छ । नेपालगञ्जको रौनीयापुरमा एसबीबी कम्पनी खोलेर १०/१० मेगावाटका गरी २० मेगावाटका प्योर इनर्जी (शुद्ध ऊर्जा) सोलार इनर्जी निकाली सकेको छ अर्यालले बताए । जसमा एउटा परियोजनाले दुई वर्ष अघिदेखि र अर्को परियोजनाले डेढ वर्षदेखि बिजुली उत्पादन गरिरहेका छन् । उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणलाई ७ रुपैयाँ ३० पैसा पर युनिटमा बिक्री गरिरहेको छ । परियोजना पश्चिममा केन्द्रित गोल्यान समूहले अहिले सञ्चालन गरिरहेको ऊर्जा परियोजना पश्चिम नेपालमा केन्द्रित छन् । जसअनुसार ५० मेगावाटको रोल्पाको खुँग्री, ३० मेगावाटको नेपालगञ्ज, २५ मेगावाट भुरीगाउँ बर्दिया, १५ मेगावाट धनगढी, १५ मेगावाट परासी, १५ मेगावाट न्यू बुटवल र २० मेगावट कपिलवस्तुमा काम अगाडि बढाउने योजना रहेको छ । यसका लागि जग्गाको मूल्य छोडेर एक मेगावटका लागि ६/७ करोड रकम खर्च लाग्ने यस व्यावसायिक समूहको अनुमान छ । गोल्यान ग्रुपले सोलारबाट ५ सय मेगावाट बिजुली निकाल्ने भन्नुको मतलब उसले आफैले यो बिजुली उत्पादन गर्ने होइन । नेपाल विद्युत प्राधिकरणले नेपालका विकासकर्ताहरूलाई १ हजार मेगावाटको परियोजना दिएको छ । त्यो परियोजना यस ग्रुपले बनाइदिने हो । यसमा गोल्यान ग्रुपको लक्ष्य भनेको साढे २ वर्षमा पाँच सय मेगावाट बनाउने योजना हो । ‘अहिले नेपालमा सोलारको विज्ञ छैनन्, हामी प्रविधि रूपान्तरण प्रक्रियामा छौं, त्यसपछि हामी पनि सिक्छौं, नेपालमै दक्ष जनशक्ति उत्पादन हुन्छन्, अहिलेका लागि भारतीय कम्पनी र विज्ञहरुसँग मिलेर काम गरिरहेका छौं,’ उनले भने । गोल्यान ग्रुपले हाइड्रो र सोलार गरी दुवै स्रोतबाट ऊर्जा उत्पादन गरिरहेको छ । पछिल्लो समय सोलारलाई प्राथमिकता दिइरहेको यो समूहले हाइड्रोका परियोजना सञ्चालन गरिरहेको छ । २९ वर्षदेखि ऊर्जा क्षेत्रमा सक्रिय इनर्जी विभाग प्रमुख अर्याल हाइड्रोबाट विद्युत उत्पादन गर्नभन्दा सोलारबाट उत्पादन गर्न केही सहज हुने अनुभव सुनाउँछन् । ‘चुनौती दुवैमा छ । तर, हाइड्रो परियोजनाभन्दा सोलारको परियोजना केही सहज हुन्छ, अहिले हाइड्रो पहाडी र सोलार तराइ क्षेत्रमा निर्माण गर्ने अभ्यास छ,’ उनले भने । लमजुङ, मुस्ताङ लगायतका क्षेत्रमा तराईभन्दा राम्रो उत्पादन पनि हुन्छ । तर, सोलारका धेरै परियोजना तराईमा सञ्चालित छन् । उनका अनुसार पहाडको तुलनामा तराईमा बढी विद्युतको माग हुन्छ । मर्मत सम्भार पनि पनि पहाडको तुलनामा तराईमा सहज हुन्छ, त्यसैले पनि तराइमा अधिकांश परियोजनाहरु निर्माण हुने गरेको उनको अनुभव छ । समयको हिसाबले पनि हाइड्रोमा लामो अवधि लाग्छ भने सोलारबाट बिजुली उत्पादन गर्दा पीपीए भएको ६ महिनामा सकाउन सकिन्छ । अर्याल सोलारबाट ऊर्जा निकाल्दा समय कम लाग्ने बताउँछन् । समयसँगै हाइड्रो र सोलारबाट उत्पादन हुने बिजुलीमा समेत फरक हुन्छ । १० मेगावटको सोलारबाट उत्पादित बिजुली र १० मेगावटको हाइड्रो परियोजनाबाट उत्पादन भएको बिजुलीमा धेरै फरक हुने उनी बताउँछन् । सोलार ऊर्जा प्राथिमकतामा पछिल्लो समय सरकारले सोलार ऊर्जामा चासो दिँदा व्यवसायीको ध्यान पनि सोलार ऊर्जामा छ । सरकारले हजार मेगावाट विद्युत सोलारबाटै उत्पादन गर्ने योजनासमेत अघि सारेको छ । सोलार बिजुलीले दिउँसोको समयमा फुल उत्पादन दिँदा धेरै सहज हुने अर्याल बताउँछन् । प्रविण अर्याल । ‘मर्स्याङ्दी, कालीगण्डकी कुलेखानी लगायतका परियोजना पेकिङ मोडमा चलाउन सोलार पावरले सहयोग गर्छ, अहिले नेपाल विद्युत प्राधिकरणले भारतबाट ल्याइरहेको विद्युत दिउँसोको सयममा ल्याइरहेको छ,’ उनले भने । अर्याल यो बिजुली पनि सोलारबाट आइरहेकाले नेपालमै उत्पादन गर्न सके फाइदा हुने बताउँछन् । ‘भारतले दिइरहेको बिजुली महँगो छ,’ उनी भन्छन्, ‘त्यसैले पनि सोलार बिजुलीलाई प्रोत्साहन गर्नुपर्छ ।’ अहिले विश्वमै हाइड्रोभन्दा सोलारबाटै बिजुली उत्पादन गर्ने कुरा अगाडि आइरहेको छ । भारतले ७० हजार मेगावाट बिजुली उत्पादन गरिसकेको छ भने चीनमा ३ लाख मेगावाटभन्दा बढी बिजुली सोलारबाट निकालेको छ । अर्याल अहिले विश्वव्यापी रूपमा सोलारबाट बिजुली निकाल्नेक्रम बढिरहेकाे छ । अब नेपाल सरकारले पनि सोलार ऊर्जामा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । नेपालमा अहिलेसम्म सय मेगावाटभन्दा बढी सोलार सञ्चालनमा छ, त्यसमा २५ मेगावाट एक्लै नेपाल विद्युत प्राधिकरणको छ भने २० मेगावाट गोल्यानको र बाँकी अन्य कम्पनीको छ । विदेशीसँग सहकार्य ऊर्जा क्षेत्रमा काम गर्न उत्कृष्ट इन्जिनियरिङ चाहिन्छ । यसका लागि सिभिल, मेकानिकल, सबै विधाका विज्ञहरू आवश्यक पर्छ । यो विषयमा काम गर्न नेपालमा मानव संसाधन छ । तर, त्यो जनशक्ति दक्ष भइसकेको छैन । नेपालले यस्ता परियोजनामा काम गर्दा केही विज्ञहरू बाहिरबाट ल्याउनुपर्ने बाध्यता अहिले पनि छ । त्यसका लागि नजिक र यो क्षेत्रमा धेरै काम गरिसकेको देश भारत हो । नेपालमा यस्ता काम गराउन ल्याउने मानव संसाधन भनेको भारतबाटै हो । ‘कुनैपनि विकासकर्ताले यत्रो लगानी गरेर बनाउँदा गलत तरिकाले बनाउँ, गलत तरिकाले सामान राखौँ भन्ने सोच हुँदैन, त्यसका लागि विज्ञहरू चाहिन्छ, ’ अर्याल भन्छन्, ‘नेपालमा यसको विकास भइरहेको छ, हामीले पनि भारतबाटै विज्ञहरूलाई ल्याउने गरेका छौं ।’ सोलारबाट ऊर्जा निकाल्न गोल्यान समूहले भारतीय कम्पनी प्रोजिल ग्रिन इनर्जीसँग सहकार्य गरेको छ । यो कम्पनीले १३ वर्षमा भारतमा २२ सय मेगावाट बिजुली उत्पादन गरिसकेको छ भने करिब ८ सय मेगावाट अहिले निर्माणाधीन अवस्थामा छ । उसको सबैभन्दा ठूलो परियोजना ३ सय ३९ मेगावाटको सोलार परियोजना हो । उसँग राम्रो विज्ञहरू छन् । यस कम्पनीले गोल्यान ग्रुपलाई सोलार ऊर्जा उत्पादन गर्न प्राविधिक सहयोग गर्नेछ । इनर्जी पोर्टफिलियोमा राम्रो उपस्थिति देखाउँदै आएको गोल्यान ग्रुपले १ हजार मेगावाटको परियोजना सञ्चालन गरिरहेको छ । त्यसमध्ये ३६ मेगावाटको परियोजना उत्पादनमा आइसकेको छ । ९७ मेगावाटको परियोजना डेढ वर्षभित्र उत्पादन गरिसक्ने तयारी भइरहेको उनले जानकारी दिए । अमेरिकाको फेडरल बैंकको सहयोगमा अनुदान प्राप्त भएको र सोही अनुदानले पश्चिम नेपालमा दुइटा ठूलो परियोजना अगाडि बढाउने योजना रहेको उनले सुनाए । यो परियोजनामा ५ मिलियन अमेरिकी डलर अनुदान छ । नेपालको इतिहासमा परियोजनाको अध्ययनको लागि कम्पनीले अनुदान पाएको यो पहिलो पटक रहेको उनको दाबी छ । उनी नेपालको आर्थिक सम्वृद्धिका लागि ऊर्जा नै महत्त्वपूर्ण क्षेत्र रहेको धारणा राखे । उनले सरकारले ल्याएको २८ हजार पाँच सय मेगावाटको रोडम्याप बनाउनुपर्ने धारणा राखे । नेपालमा अहिलेसम्म ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ । तर, माग १८/१९ सय मेगावाटमात्र छ । अहिले नेपालले बिजुली निर्यात गर्दै आएको छ । ‘सरकारपिच्छे नीति नियमहरू परिवर्तन हुने हुँदा पनि समस्या हुन्छ,’ उनी भन्छन्, ‘सुरुमा लाइसेन्स पाइसकेको २० हजार परियोजना सर्वोच्चको फैसलाले रोकेको छ, यसलाई सम्बोधन गर्नुपर्छ, अगाडि बढिसकेको २० हजार मेगावाटको परियोजना रोक्नुले राज्यलाई ठूलो क्षति हुन्छ, सरकारले यो बाटो खोल्नुपर्छ ।’
पर्यटक भित्र्याउन सडक निर्माण
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका- ३ मा रहेको पर्यटकीयस्थल मुना मालिका जोड्ने सडक निर्माण थालिएको भएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले मुनादेखि मालिका धुरी जोड्ने सडक निर्माण थालेका हुन् । भौगोलिक विकटता र यातायातको असुविधाका कारण ओझेलमा परेको मुना मालिकामा पर्यटक भित्र्याउनका लागि सडक निर्माण गर्न लागिएको धवलागिरी गाउँपालिका- ३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए । ‘गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको १५ लाख बजेटबाट उपभोक्रा समिति मार्फत मुना देखि साइलाखर्क सम्म दुई किलोमिटर एक सय मिटर सडक निर्माण सकिएको छ’, उनले भने,’गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको २० लाख बजेटबाट साइलाखर्क देखि मालिका धुरीतर्फ थप तीन किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का आव्हानको तयारी गरेको छ ।’ दुई योजनामार्फत पाँच किलोमिटर सडक निर्माण भएपछि पाँच घण्टाको यात्राअवधी ४५ मिनेटमा छोटिने वडा अध्यक्ष रोकाले बताए । मुनादेखि मालिका धुरी पुग्न हाल कम्तीमा छ घण्टा जङगलको उकालो बाटोमा पैदलयात्रा गर्नुपर्छ । सडक निर्माण भएपछि एक घण्टा भन्दा कम समय पैदलयात्रा गरेर मालिका पुग्न सकिनेछ । सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने मुना मालिका समुन्द्रि सतहदेखि तीन हजार सात सय मिटर उचाईमा छ । पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, निलगिरि हिमशृङखलाको अवलोकन गर्न सकिने मुना मालिका सुनसान छ । म्याग्दी र बागलुङका बस्तिहरु देखिन्छ । बादल र पहाडको लुकामारी हेर्न पाइन्छ । मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ बन्यजन्तु रेडपाण्डा (हाब्रे) को बासस्थान पनि भएको वडा अध्यक्ष रोकाले बताउनुभयो । मुना मालिकामा हरेक वर्षको वुद्धपूर्णिमाका दिन मेला लाग्ने गर्छ । जालिका, मालिका र कालिका देविको थान रहेको छ । वुद्ध पूर्णमाका दिन मुना मालिकामा पुजाआजा गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । मालिका गाउँपालिकाको देविस्थान र धवलागिरीको मुनाका बासिन्दाहरु यहाँ पुजाआजाका लागि जाने गर्दछन् । पहिले पहिले यहाँ धार्मिक मेला लाग्ने र ठेलो फाल्ने प्रतियोगिता हुने गरेको बुढापाका बताउछन् । यो क्षेत्रमा मुनाका कृषकले गाईभैसी र भेडाबाख्राको गोठ लैजाने चलन थियो । पाहुना, पर्यटक र भक्तजन आश्रयस्थलमा बास बस्छन् । होटल तथा रेष्टुरेन्ट नभएकाले खाने र बन्दोबस्तीका सामान आफै लैजानुपर्ने हुन्छ । यात्राअवधी र बाटो छोट्याउने, आश्रयस्थल बनाउने, चिया पसल सञ्चालन, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन भैरहेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । /रासस
बलेफी हाइड्रोको १८ लाख कित्ता सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । बलेफी हाइड्रोपावरले १८ लाख कित्ता सेयर बिक्री खुला गरेको छ । कम्पनीले आज फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनी गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म कम्पनीले चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । अथात् कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता गरी कुल १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लाजिम्पाट काठमाडौं, चिप्लेढुंगा पोखरा, बुटवल, वीरगंज र विराटनगर शाखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर फागुन १९ गतेसम्म बिक्री खुला रहनेछ । म्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले कम्तिमा १ सय कित्ता र अधिकतम १० अंकले भाग जाने वा नियामकले तोकेको प्रतिव्यक्ति सीमाको अधिनमा रही आवेदन दिन सक्नेछन् ।