‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार

गलकोट । बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको हो । करिब ३४ करोड रुपैयाँ लागतमा पूर्वाधार बनाउने लक्ष्य रहेको ‘ब्लु हिल’ पहिलो चरणमा ७० लाख रुपैयाँ र दोस्रो चरणमा साढे दुई करोड गरी तीन करोड २० लाख रुपैयाँको पूर्वाधार निर्माण गत वर्षदेखि सुरु भएको हो । उक्त पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न गत वर्ष मात्रै ७० लाख रुपैयाँको पूर्वाधार निर्माण भइसकेको र यस वर्ष रु साढे दुई करोडको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न ठेक्का आह्वान गरिएको नगर कार्यालयले जनाएको छ । पर्यटकीय गन्तव्य बनाउन पालिकाले गत वर्षदेखि गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पूर्वाधार निर्माण गर्न २४ करोड ५६ लाख २२ हजार रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको थियो । मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको बागलुङ–९ का वडाध्यक्ष राजु थापाले बताए । ‘नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ । यहाँ सडक स्तरोन्नति आवश्यक छ’, उनले भने, ‘पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउने छन् ।’ गत वर्ष जग्गा सम्माउने, जग निर्माण गर्नेलगायत पूर्वाधार निर्माण गरेको बागलुङ नगरपालिकाले यस वर्ष भवनमाथि विशाल शिवमूर्ति निर्माण गर्ने योजनासहित बोलपत्र आह्वान गरेको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार ब्लु हिल क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जिम हल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गरिनेछ । दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्याउन नगरपालिकाको ठूलो बजेट लगानी गरिरहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरले गत वर्ष यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन ७० लाख रुपैयाँ बजेट विनियोजना गरी उक्त बजेटबाट चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने काम सम्पन्न गरिसकेको छ । यस वर्ष बहुउद्देश्यीय भवन निर्माण र मूर्ति बनाउन ठेक्कामा दिने तयारी थालिएको नगरप्रमुख श्रेष्ठले उल्लेख गरे । ‘नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय वातावरणीय हिसाबले हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ, प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी गत वर्ष शिलान्यास गरेको ठाउँमा यस वर्ष रु साढे दुई करोडको पूर्वाधार निर्माण हुनेछन्’, नगरप्रमुख श्रेष्ठले भने, ‘ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी नामकरण गरेका छौँ, मौसम खुलेको समयमा यहाँबाट हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमाल देख्न सकिन्छ ।’ समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको छ । डिपिआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ । रासस

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

म्याग्दी । धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरे । गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधी र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो । जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रुपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए । ‘विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माणस्थल तयार पारिसकेको छ’, उनले भने, ‘विसं २०८३ फागुन २१ गते विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युत्गृह निर्माणको कामलाई तीव्रता दिएका छाैँ ।’ विसं २०८१ भदौ १२ गतेदेखि धवलागिरी–४ छहरीमा सुरु भएको १९८ दशमलव ९० मिटर लामो अडिट नम्बर २ को सुरुङ खनेर थप ५३० मिटर मुख्य सुरुङ निर्माण भइसकेको आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेले बताए । पाँच किलोमिटर ७०० मिटर सुरुङमध्ये केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरु गर्ने तयारी गरिएको उनले बताए । सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने रु ११ अर्ब २३ करोड २७ लाख छ हजारको लागतमा निर्माण हुने आयोजनाको विद्युत्गृह मालिका–७ भारवाङमा रहनेछ । भारवाङदेखि एक दशमलव पाँच किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सवस्टेशनमा यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव शुन्य एक गिगावाट घण्टा विद्युत् केन्द्रिय लाइनमा जोडिनेछ । बाँध निर्माण स्थल नजिकै १०० मिटर लामो र १५ मिटर अग्ला तीन वटा पानी थिग्राउने पोखरी निर्माण गर्न जग्गा व्यवस्थापन भइरहेको छ । हालसम्म १६ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युत्गृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ । ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुुसन प्रालि परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । अपर म्याग्दी–१ को प्रवद्र्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ । भारवाङदेखि बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विनियोजन गरेको छ करोड २० लाख बजेटबाट प्रभावित क्षेत्रमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, मठमन्दिरका लागि हालसम्म रु एक करोड नौ लाख १५ हजार सहयोग गरेको जनाएको छ । रासस

शिवम सिमेन्टले सरकारलाई तिर्‍यो ८६ लाख जरिवाना, ड्यामेज भएको विनयी पुल छिट्टै मर्मत हुने

काठमाडौं । पूर्व-पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्डमा पर्ने विनयी खोलाको पुल भाँचिनेगरी गह्रौं भार बोकेको भारतीय ट्रक ल्याउने कम्पनी शिवम सिमेन्टले सरकारलाई क्षतिपूर्ति तिरेको छ । एनएल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेभी ट्रकमा सामान ल्याउने शिवम सिमेन्टलाई सरकारले ८६ लाख रुपैयाँ क्षतिपूर्ति तिराएको सडक विभाग अन्तर्गतको पुल महाशाखाका उपमहानिर्देशक ललिजन खनालले जानकारी दिए । उनका अनुसार शिवम सिमेन्टले नेपाल लाइन्स प्रालिमार्फत ८६ लाख रुपैयाँ सडक डिभिजन भरतपुरको खातामा जम्मा गरेको छ । गत पुस २६ गते गह्रौं भारसहितको ट्रक पुल पार गर्नेक्रममा भाँचिएको थियो । मुख्य राजमार्गको पुल भाँचिदा लामो समयसम्म यात्रुले सास्ती पाएका थिए । उपमहानिर्देशक खनालले भने, ‘पुल भाँचिएपछि अध्ययन गर्न मेरै संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । हामीले पुलबारे प्रतिवेदन पठाइसक्यौं । अनुसन्धानमा पुल मर्मत गर्नुपर्ने देखियो । पुल मर्मत गर्न झण्डै ९० लाख खर्च लाग्ने भएपछि सो रकम क्षतिपूर्तिका रूपमा तिराएका हौं ।’ ८६ लाख रुपैयाँले तत्कालका लागि मर्मत गरेर गाडी चलाउन सकिने भएकाले शिवम सिमेन्ट सस्तोमा परेको छानविन उपमहानिर्देशक खनालको भनाइ छ । उनले सडक विस्तारको क्रममा रहेको र नयाँ पुल पनि बन्दै गरेकाले धेरै क्षतिपूर्ति नतिराइएको बताए । गत पुसमा भारतीय हेभी ट्रक पुल पार गर्ने क्रममा विनयी खोला पुल एक्कासि भाँचिएको थियो । क्षतिपूर्ति तिरेसँगै अब पुलले थेग्न सक्ने भारमात्र बोक्न निर्देशन दिएर उक्त भारतीय ट्रकलाई छोडिएको सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर हाल उक्त आयोजनाका प्रमुख नारायणप्रसाद लामेछानेले बताए । उनले भने, ‘हाल ड्यामेज भएको ठाउँमा मर्मत गर्ने गरी तयारी भइरहेको छ । काम अब मर्मतको छिट्टै अघि बढ्छ । लगभग डिजाइनको काम सकिसकेको छ ।’ कोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए। जीर्ण अवस्थामा रहेका यी पुलहरू विगत १० वर्षदेखि मर्मत गर्दै सञ्चालनमा आइरहेका छन् । ब्रिटिस सरकारको अनुदानमा बनेको पुल ५० वर्षमै ‘ड्यामेज’, कसरी गुड्न दिइयो ११० टनको ट्रक ?