पर्यटन गन्तव्यका लागि जुगाडखोला करिडोर, करिडोरभित्र स्टेट लाइट, सिसी क्यामेरा र विश्रामस्थल

काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्य बनाउन सदरमुकाम खलङ्गा बजारको बीचमा उत्तर दक्षिण बग्ने जुगाडखोलामा करिडोर निर्माणको काम अघि बढाएको छ । सदरमुकाममा रहेको खोलालाई स्वच्छ सफा, हराभरा र व्यवस्थित बनाउनेदेखि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिडोर बनाउन थालिएको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए । चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले करिडोरको शिलान्यास गर्दै यसले जुगाडखोलालाई नयाँ पहिचान दिने बताए । पर्यटन पूर्वाधार निर्माणका लागि करिडोरको रेखाङ्कन यसअघि नै भइसकेको छ । खानेपानी उपभोक्ता समितिको कार्यालय नजिकैबाट डोजर प्रयोग गरी काम सुरु गरिएको नगरपालिका उपप्रमुख खड्काको भनाइ छ । बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षभित्रै ३ किलोमिटर क्षेत्रमा करिडोर निर्माण गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाको भनाइ छ । खानेपानी उपभोक्ता समितिको कार्यालयदेखि चन्दननाथ-४ मालाभिडसम्म दायाँबायाँ २ मिटर फराकिलो करिडोर निर्माण हुने छ । उक्त करिडोर निर्माणका लागि सहकारी विकास तथा भवन निर्माण आयोजना जुम्लाबाट २० करोड रुपैयाँ बजेट प्राप्त भएको छ । करिडोरभित्र स्टेट लाइट, सिसी क्यामेरा र विश्रामस्थल निर्माण गरिने छ । जुगाडखोलाको सफाइ र सौन्दर्यकरणसँगै यो करिडोर स्थानीयका लागि मात्रै होइन, बाहिरी आगन्तुकका लागि पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताए ।

मध्य चमेलिया जलविद्युत आयोजनाको शिलान्यास, ३ वर्षमा निर्माण सम्पन्न, लागत ६.२३ अर्ब रुपैयाँ

काठमाडौं । दार्चुलामा २८ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । जिल्लाको मार्मामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनाको शनिबार शिलान्यास गरिएको हो । दार्चुला पावर लिमिटेडले निर्माण गर्ने आयोजनाको शिलान्यास गरिएको हो । मार्मा गाउँपालिका–२ लाम्बगरमा रहेको जलविद्युतको ड्याम क्षेत्रमा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आयोजनाको शिलान्यास गरेका हुन् । जलविद्युत आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह सेरीमा रहने दार्चुला पावर लिमिटेडले जनाएको छ । ३ वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत ६ अर्ब २३ करोड ६२ लाख भन्दा बढी रहेको आयोजनाका सञ्चालक गुरु न्यौपानेले बताए । उनका अनुसार सेरीदेखि साढे ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ ।

पियोर इनर्जीले फागुन २० गतेदेखि आईपीओ बिक्री खुला गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । पियोर इनर्जीले फागुन २० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ६० हजार कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यस्तै, कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगार रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतममा १६ हजार कित्ता र वैदेशिक रोजारीमा रहेका नेपालीले अधिकतम ७ हजार २ सय कित्ता सेयरका आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा चैत ५ गतेभित्र आवेदन दिनु पर्नेछ । तर, आयोजना प्रभावित क्षेत्रलाई छुट्याएको सेयरमा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, नबिल बैंक र लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगञ्ज र वि पि चोक शाखा र कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।