८८ लाखमा बन्यो कैलाश र वैकुण्ठ जोड्ने जिपलाइन, लम्बाई १ हजार २०० मिटर

काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिकाले कैलाश र वैकुण्ठ क्षेत्र जोड्ने गरी जिपलाइन निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले ८८ लाख रुपैयाँ लागतमा करिब एक हजार २०० मिटर लामो जिपलाइन निर्माण गरिएको बताए । वडा नं २ बैकुण्ठमा निर्मित कैलाश वैकुण्ठ जिपलाइनको पहिलो चरणको परीक्षणसमेत सम्पन्न भएको र यसले धादिङको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका नागरिकसमेत लाभान्वित हुने उनको भनाइ छ । जिपलाइन र्मिाणमा सङ्लग्न प्राविधिकसहित गाउँपालिका अध्यक्ष मुक्तान, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, इन्जिनियर अनिल जोशीलगायतको टोलीले पहिलो चरणको परीक्षण गरेका हुन् । गाउँपालिका योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्टले पालिकाले बहुवर्षीय योजना बनाई दुई स्थानमा स्टेसन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरिएको उहाँले बताउनुभयो । अब चाँडै नियमित जिपलाइन नियमित सञ्चालनमा आउने उनले जानकारी दिए । जिपलाइन प्राविधिक एवं प्रशिक्षक बद्री घिमिरेले पहिलो चरणमा ब्रेकिङ सिस्टम (सोलोप) सम्बन्धी कार्यको परीक्षण गरिएको र अब दोस्रो चरणको परीक्षणपछि नियमित सञ्चालनमा ल्याइने बताए ।

१.१६ करोड सहयोगमा बनेको पक्की पुल सञ्चालन, उपहारका नाममा धमाधम सहयोग गर्दै भारतको महावाणिज्य दूतावास

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही-भरवलिया-८ मा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ । ‘नेपाल-भारत विकास सहयोग’अन्तर्गत सामुदायिक विकास परियोजनाको रूपमा सार्वजनिक पूर्वाधार क्षेत्रअन्तर्गत निर्माणाधीन पुल सञ्चालनमा ल्याइएको हो । भारतका महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मीना र सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले संयुक्त रूपमा उद्घाटन गरे । भारत सरकारले सो पुल निर्माणका लागि १ करोड ९६ लाख रुपैयाँ खर्चेर निर्माण सम्पन्न गराएको हो । महावाणिज्यदूत मीनाले नवनिर्मित आरसिसी पुलले अब भलुही-भरवलिया, फेटा र छिमेकी गाउँका नागरिकलाई वीरगञ्ज महानगरपालिकासँग सिधा सम्पर्क गर्न सहज हुने बताए । ‘पुल निर्माण भएसँगै स्थानीयवासीको जीविकोपार्जन र यातायातको सहज पहुँच सृजना भएको छ । यहाँका स्थानीय समुदायको आवश्यकतालाई ध्यानमा राखेर पुल निर्माण गरेका हौँ,’ उनले भने । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका सुपरिटेन्डेन्ट इन्जिनियर न्यौपानेले पुल बनेसँगै यहाँको जनताको जनजीवनमा थप सहजता प्रदान गर्ने बताए । ‘पहिला पुल नहुँदा र अहिले पुल बनेपछि यहाँका जनताको आर्थिक र सामाजिकलगायत गतिविधिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । सडक र पुलजस्ता पूर्वाधारले अन्य गतिविधिलाई समेत चलायमान बनाउने गर्छ,’ उनले भने । महावाणिज्य दूतावासले नवनिर्मित आरसिसी पुलले अब भलुही-भरवलिया, फेटा र छिमेकी गाउँका नागरिकलाई वीरगञ्ज महानगरसँग सोझो सम्पर्क गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ । सन् २००३ देखि भारतले नेपालमा ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउँदै आइरहेको छ । नेपालका सातै प्रदेशको तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक उपयोगिताको निर्माणका क्षेत्रमा ४९३ परियोजना पूरा गरिसकेको छ । यीमध्ये भारत सरकारले भारतको महावाणिज्य दूतावास, वीरगञ्जको क्षेत्राधिकारअन्तर्गत ७४ वटा कार्यक्रम स्वीकृत गरेको छ । तीमध्ये ५६ वटा हालसम्म पूरा भइसकेका छन् । यीमध्ये तीनवटा बारामा छन् । भारत सरकारले वाणिज्य दूतावासको क्षेत्राधिकारअन्तर्गत विभिन्न संस्थालाई १९७ एम्बुलेन्स र ३८ स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । यीमध्ये भारत सरकारले बाराका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १३ एम्बुलेन्स र ४ स्कुल बस उपहारस्वरूप प्रदान गरेको जनाएको छ । महावाणिज्यदूत मीनाले भारत र नेपालबीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेकाले पनि भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई प्रतिविम्बित गर्ने बताए । यस परियोजनाको कार्यान्वयनले नेपाल सरकारको पूर्वाधार विकासजस्ता प्राथमिकता क्षेत्रमा पूर्वाधार निर्माण गर्ने प्रयासमा टेवा पुग्ने विश्वास लिएको जनाएको छ ।

उपत्यकाको विद्युत आपूर्ति सुधार्न ६ सबस्टेसन निर्माणाधीन, थप २० वटा निर्माण गरिने

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सबस्टेसन निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभीका ६ वटा सबस्टेसन निर्माण गरिरहेको छ । यसमध्ये काठमाडौंको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ । फुटुङ र मुलपानी सबस्टेसन अन्तिम चरणमा छन् । दुवै सबस्टेसनलाई दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । भक्तपुरको चाँगुनारायण सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । सबस्टेसनलाई सञ्चालन ९चार्ज०मा ल्याउन मात्र बाँकी रहेको छ । चोभार सबस्टेसन आगामी असारभित्र र भक्तपुरको ठिमी सबस्टेसन ८ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेका छन् । प्रत्येक सबस्टेसनको क्षमता ९०/९० एमभिए रहेको छ । सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा थप करिब ५ सय मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुने छ । हाल काठमाडौं उपत्यकाको विद्युत माग ५ सय मेगावाटको हाराहारीमा छ ।  भविश्यमा बृद्धि हुन सक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५०को समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्ररुमा चरणवद्ध रुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग ३ हजार १ सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले २२०, १३२, ३३ र ११ केभी तहका २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको हो । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । २२० केभी प्रसारण संरचनाले काठमाडौं उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षणलगायतका पूर्व तयारीका काम सम्पन्न भइसकेका छन् । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा आपूर्तिका लागि ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ । काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका स्वस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजनाहरु सञ्चालित छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन सबस्टेसनको अनुगमन गरी काठमाडौं उपत्यकाभित्रको विद्युत बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणलाई जतिसक्म्दो छिट्टो सम्पन्न गर्न निर्देशन दिए । निर्माणाधीन सबै सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौंको विद्युत् माग र आपूर्ति व्यवस्थापनमा धेरै सहज भई विद्युत् आपूर्ति थप भरपर्दो एवम् गुणस्तरीय हुने उनको भनाइ छ । काठमाडौंको दक्षिण-पूर्वी क्षेत्रको विद्युत् आपूर्ति सुधारका लागि कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा १३२/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छ । चपली–भक्तपुर १३२ केभी प्रसारण लाइनलाई मुलपानी सबस्टेसनमा छिराएर विद्युत् आपूर्ति दिइने छ । उक्त सबस्टेसनबाट जडीबुटी, पेप्सीकोला, काँडाघाँरी, गोठाटार, मुलपानी, जोरपाटी, साँघु, ठिमीलगायतका क्षेत्रमा विद्युत आपूर्तिका लागि ११ केभीका ८ वटा फिडर निकालिएको छ । सबस्टेसन चैतभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेसन निर्माण अन्तिम चरणमा छ । बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिने छ । दुई महिनाभित्र उक्त सबस्टेसन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उक्त सबस्टेसन सञ्चालन आएपछि बालाजु, नेपालटार, गोलढुङ्गालगायतका क्षेत्रको विद्युत् आपूर्ति थप सुधार हुनेछ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुङमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनमा मातातीर्थ सबस्टेसनबाट विद्युत् आपूर्ति दिइनेछ । उक्त सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने लक्ष्यकासाथ काम भइरहेको छ । चोभारमा सबस्टेसनबाट चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्याइने छ । लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धीमा लाइन लगिने छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र विश्व बैंको सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको हो ।