तामाकोशी पाँचौँको कामकाज ठप्प, ठेकेदार कम्पनीले लापरबाही गरेको आरोप

दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको काम ठेकेदार कम्पनीको अकर्मण्यताका कारण ठप्प भएको छ । कम्पनीमा कार्यरत श्रमिकहरूसँग विभिन्न समयमा भएका सहमति ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले कार्यान्वयन नगर्दा आयोजनाको काम ठप्प पारिएको हो । आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन नगरेपछि बुधबार (फागुन २८) देखि सम्पूर्ण कामकाज ठप्प पारिएको त्यहाँ कार्यरत श्रमिक जीवन मगरले जानकारी दिए । उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान अनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए । उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच यही फागुन १६ गते सहमति भएको थियो। स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीहरूको रोहवरमा भएको सो सहमति कार्यान्वयन गर्न कम्पनीले उदासिनता देखाएपछि कामकाज ठप्प पार्न बाध्य भएको उनको भनाइ छ । ‘एक हप्ताभित्र सबै नेपाली श्रमिकहरूलाई रोजगार सम्झौताको पत्र उपलब्ध गराउनुपर्ने सहमति हामीसँग भएको थियो । तोकिएको समयमा कम्पनीले सो काम नगरेपछि हामीले फागुन १९ गते कम्पनी व्यवस्थापलाई पुनः ध्यानाकर्षण गराएका थियौँ । त्यसपछि पनि अहिलेसम्म कुनै काम भएको छैन,’ अर्का कामदार मदन कुमार श्रेष्ठले भने, ‘हामीसँग भएको सहमति कार्यान्वयन नहुँदासम्म कामकाज ठप्प पार्ने हामी सबै नेपाली श्रमिकको निर्णय भएको छ । त्यसै अनुसार अघि बढ्छौँ ।’ श्रमिकहरूले हिजो बुधबार संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गरी कामकाज ठप्प पार्दा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार अडिट–१ र २ को ठेकेदार कम्पनी हुनुपर्ने पनि स्पष्ट पारेको छ । उनीहरूले यसअघि रोजगार सम्झौता वा नियुक्तिपत्र उपलब्ध गराउनुपर्ने, सेवासुविधा, उपदान, दुर्घटना बीमा, चिकित्सा बीमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलव वृद्धिरग्रेड तथा सार्वजनिक, साप्ताहिक, प्रतिस्थापन, घर, बिरामी र सुत्केरीलगायत विदाको बारेमा स्पष्टता खोजेका थिए । त्यस्तै, काम गर्ने घण्टा, ओभरटाइम सुविधा, निर्माण मजदुरको समस्या, स्वास्थ्य र सुरक्षा तथा कार्य विवरणको बारेमा पनि स्पष्ट बन्नरबनाउन कम्पनीसमक्ष लिखित आग्रह गरेका थिए । नेपालको श्रम कानुन अनुसार श्रमिकले पाउनुपर्ने सेवासुविधालाई समेटेर ठेकेदार कम्पनीसमक्ष १३ बुँदे मागपत्र बुझाएको तर अहिलेसम्म कुनै पनि विषयको सम्बोधन नभएको उनीहरूको भनाइ छ । हाल तामाकोशी पाँचौंमा करिब पाँच सय जना श्रमिक कार्यरत छन्। त्यसमध्ये ४०० जना नेपाली मात्रै छन् ।

दरखोलामा मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुुरु भएको छ । मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गत जेठ महिनामा दुई करोड ३१ लख ३६ हजार सात सय ५० रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले मुनातर्फको जिप निर्माण सकेको र दरतर्फ अन्तिम चरणमा पुर्याएको छ । पचास प्रतिशत निर्माण सकिएको यो पुलबाट धवलागिरी–३ र ४ मा पर्ने एक हजार दुई सय घरपरिवारका साथै धौलागिरी चक्रीय पदमार्गमा जाने पर्यटकहरु लाभान्वित हुने धवलागिरी–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए । दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दालाई गाउँपालिकाको केन्द्र मुना आउन जान तीस मिनेट घुमाउरो र उकालो बाटो पाँच मिनेटमा छोटिने उनले बताए । यसैगरी दर गाउँका विद्यार्थीहरुलाई मुनाको धवलागिरि र फलीयागाउँको धनजनता माविमा आउन जान पनि सहज हुने भएको छ । विसं २०८२ को मंसिर महिनासम्मको म्याद भएपनि यसै आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए ।

चीन जोड्ने कोरला सडकमा ९ मध्ये ४ योजना कार्यान्वयनमा आए, ५ योजना ठेक्का सम्झौताको चरणमा

काठमाडौं । उत्तर र दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि छनोट भएका ९ वटा योजनामध्ये ४ योजना कार्यान्वयनमा आएका छन् । पहिरो नियन्त्रण, ४ वटा पुल र १ कालोपत्र योजनासहित यहाँ ९ योजना रहेका छन् । आयोजनाका सूचना अधिकारी इञ्जिनियर बिष्णु चापागाईंले ती योजनामध्ये ४ वटा ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको र ५ योजना ठेक्का सम्झौताको चरणमा रहेको बताए । मुस्ताङको थासाङ-४ स्थित कैकु खोला, थासाङ-२ को लार्जुङ खोला, जोमसोम-मुक्तिनाथ खण्डको पान्डा खोलामा पुल र म्याग्दीको राहुघाट खोलामा बेलिब्रिजका लागि ठेक्का सम्झौता भएको हो । आयोजनाका अनुसार मुस्ताङको थासाङ-४ स्थित २० मिटर लम्बाइको कैकु खोला पुलको बाँकी निर्माण सम्पन्न गर्न ५ करोड ३९ लाख रुपैयाँमा बिके केसी, जिसी जेभी निर्माण कम्पनीसँग १३ फागुनमा ठेक्का सम्झौता भएको हो । थासाङ-४ लार्जुङ खोलामा निर्माणाधीन २० मिटर लामो पुलको अधुरो निर्माणसम्पन्न गर्न २ करोड २२ लाख रुपैयाँमा एसके धौलागिरी निर्माण सेवासँग ११ फागुनमा ठेक्का सम्झौता भएको थियो । यस्तै, पान्डा खोला पुलमा खोलाको धार एकीकृत गराउन नयाँ ठेक्का सम्झौता भएको हो । पान्डा खोला पुलमा पानीको सर्कुलर जोड्ने गरी खोला च्यानलाइजिङ गर्न ११ फागुनमा ५८ लाख ५७ हजार रुपैयाँमा सोली थुम्का निर्माण सेवासँग ठेक्का सम्झौता भएको सूचना अधिकारी चापागाईंले बताए । राहुघाटमा अवस्थित बेलिब्रिज व्यवस्थापन तथा मर्मतका लागि बिआरटी साया जेभीसँग ३ करोड ३९ लाख रुपैयाँमा १३ फागुनमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।