समयमा निर्माण सम्पन्न नभएपछि ठेक्का रद्द, निर्माण व्यवसायी अदालतमा
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अन्योलमा परेको छ । ४ किलोमिटर सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै सडक डिभिजन कार्यालय भक्तपुरले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा अदालतमा मुद्दा हालेका थिए । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिउको गौरी-पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो । उक्त सडकखण्डको ठेक्का रद्द गरेपछि अदालत गएका व्यवसायीको मुद्दामा केही दिनअघि अदालतले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी रकम जफतलगायत ‘कारबाही नगर्न तथा हालको जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश दिएपछि खण्डखण्डको काममा अन्योलता छाएको हो । जिल्ला सदरमुकाम धुलिखेलदेखि-खावासम्मको सडक विस्तारको काम उक्त कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्प प्रायः नै थियो । कार्यालयका प्रमुख डिजिनल सिनियर इञ्जिनियर सुमन योगेशले अदालतबाट अन्तरिम आदेश आए पनि पुनःठेक्का प्रक्रियाको काम अघि बढिरहेको बताए । ‘कानुनतः पुनः ठेक्का खोल्ने प्रक्रियामा अघि बढ्न मिल्छ, यसका लागि मन्त्रालयस्तरमा निर्णयको प्रक्रिया अघि बढिरहेको छ,’ उनले भने । उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिने तयारीमा छ भने यसपछि अर्थ मन्त्रालयले बजेट विनियोजन गर्नेछ । यसैबीच ठेक्का रद्द गरिएको तथा अदालतले हाललाई कुनै पनि काम अघि नबढाउने अन्तरिम आदेश दिएपछि स्थानीयले धुलोका कारण जनजीवन प्रभावित भएको जनाउँदै बिहीबार तीन घण्टा सडक अवरूद्ध गरेका थिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सडक डिभिजन कार्यालय भक्तपुरबीच पुनःसडक निर्माणको काम सुरू नभएसम्मका लागि दैनिक दुई ट्याङ्कर पानी हाल्ने सहमतिपश्चात् सडक अवरूद्ध गर्न बसेका स्थानीय पछि हटेका थिए । कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो । हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन-वाल लगाउने काम गरिएको छ । जिपलाइन स्थानदेखि तल खावासम्मको करिब सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । गत जेठमा धुलिखेलतर्फबाट बेश, सब-बेश हाल्ने काम सुरू गरिए पनि वर्षामा सबै बगाएर खण्डहर झैँ बनाएको थियो । समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनः निर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल-खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो ।
७.३७ करोड लागतमा पक्की पुल निर्माण, अब बाढी आएको बेला पनि खोला पार गर्न सकिने
काठमाडौं । एखुवा खोलामा ७ करोड ३७ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको छ । हतुवागढी हसनपुर-९ र आमचोक गाउँपालिका-८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरले निर्माण गरेको हो । एउटा स्पानमा निर्माण भएको उक्त पुलको लम्बाइ ३७ मिटर रहेको छ । विसं २०७९ चैतदेखि निर्माण सुरु भएको सो पुलको निर्माण अवधि २ वर्ष रहेको थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले बताए । पुल निर्माण सम्पन्न भएपछि सवारीसाधन सञ्चालनमा आएका छन् । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ । प्रादेशिक सडक, पुल आयोजना कोशी प्रदेशका संयोजक सूर्यनारायण चौधरीका अनुसार पानीको बहावलाई ख्याल गरी पुल निर्माण गरिएको छ । पुल बनेपछि दक्षिणी क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको हतुवागढी-९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले बताए । पुल निर्माण भएर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीको वर्षौंदेखिको समस्या अन्त्य भएको उनको भनाइ छ । वडाध्यक्ष राईले भने, ‘पुल नहुँदा धेरै जोखिम थियो । बाढी आएको बेला खोला पार गर्ने अवस्था थिएन । अब सहज भएको छ ।’ वर्षौंदेखि सास्ती भोग्दै आएको खोलामा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन् । भौगोलिक रुपमा विकटतासँगै उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल नहुँदा सामग्री ढुवानी गर्न समस्या भएको थियो ।
स्याङ्जाको भीरकोट नगरपालिकाले २ सडक कालोपत्र गर्दै
काठमाडौं । स्याङ्जाको भीरकोट नगरपालिकामा चालु आर्थिक वर्षमा २ सडक कालोपत्र गरिएका छन् । भीरकोट-६ को सुन्दरबजार-मोहनडाँडा-ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्र गरिएको छ । सुन्दरबजारदेखि-स्वरेक मैदान सडकको सडक कालोपत्र गर्ने काम सकिँदै छ । सुन्दरबजारदेखि पर्वतको हातेमालोचोक जोड्ने सडक कालोपत्रको काम भइरहेको भीरकोट नगरपालिकाका इञ्जिनियर सरोज पराजुलीले बताए । आगामी असार २० गतेसम्म सडक कालोपत्र सक्ने गरी काम भइरहेको उनको भनाइ छ । सडक कालोपत्रसँगै पक्की नाली र पर्खाल निर्माण गर्ने काम भइरहेको छ । त्यस्तै सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडक स्तरोन्नति गरिएको छ । विसं २०८१ पुस २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त सडक आगामी जेठ मसान्तसम्ममा सक्नुपर्ने भए पनि तोकिएको समयअगावै सम्पन्न भएको योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले बताए । उक्त सडकमा पर्खाल बनाउने, जाली हाल्ने र पक्की नाली निर्माण गरिएको छ । नगरपालिकाले नगरका गौरवका सडकलाई प्राथमिकताका आधारमा निर्माण गर्दैआएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । सुन्दरबजारदेखि पर्वतको हातेमालोचोक जोड्ने सडक ५० प्रतिशत सङ्घीय समपूरक अनुदान र ५० प्रतिशत नगरपालिकाको लागत सहभागितामा सञ्चालन भएको उनको भनाइ छ । त्यस्तै सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडक गण्डकी प्रदेश सरकारको समपूरक अनुदान ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण सम्पन्न भइसकेको छ ।