कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन, दैनिक १८ घण्टासम्म विद्युत् उत्पादन

काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । सुक्खायाम सुरु भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रोे युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । ‘आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ,’ कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले भने, ‘यही चैत ३ गतेदेखि तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन आएका छन् ।’ आवश्यकतानुसार विद्युत् उत्पादन भइरहेको उनको भनाइ छ । रनअफ रिभरमा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका कुलेखानी जलविद्युत् केन्द्र प्रथमका सहायक इन्जिनियर रामकुमार बुढाथोकीले बताए । ‘वर्षात्को समयमा रनअफ रिभरमा आधारित आयोजना पूर्ण रूपमा सञ्चालनमा हुन्छ,’ सहायक इन्जिनियर बुढाथोकीले भने, ‘त्यतिबेला हामी ड्याममा पानी सञ्चित गरेर राख्छौँ र सुक्खायाम सुरु भएसँगै रनअफरिभरमा आधारित आयोजनाको विद्युत् उत्पादन घट्छ ।’ सुक्खायाममा कुलेखानी जलविद्युत्का युनिटहरू सञ्चालनमा आउने उनले बताए । ‘विद्युत भार व्यवस्थापन केन्द्रको आवश्यकतानुसार हामीले पूर्ण क्षमतामा सञ्चालन गर्दै आएका छौँ,’ बुढाथोकीले भने, ‘अहिले दैनिक १४ देखि १८ घण्टासम्म विद्युत् उत्पादन गरिरहेका छौँ, आवश्यक पर्यो भने हामी चौबीसै घण्टा विद्युत् उत्पादन गछौँँ ।’ सहायक इन्जिनियर बुढाथोकीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि फागुनसम्ममा कुलेखानी जलविद्युत् केन्द्र प्रथमले ८१ हजार २०९ मेगावाट विद्युत् उत्पादन गरेको छ । आव २०८०/८१ मा ३४ हजार ३८८ मेगावाट मात्र विद्युत् उत्पादन गरेको थियो ।

दृष्टिविहीन श्रीमती र छोराहरूलाई आवतजावत गर्न कठिन भएपछि चन्द्रवीरले खनेको त्यो बाटो…

काठमाडौं । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि दाङको तुलसीपुर उपमहानगरपालिका-३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खने । न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो । एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खनेका चन्द्रवीरलाई अहिले भने निकै सहज भएको छ । चन्द्रवीरले खन्नुभएको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ । विसं २०७३ मा वलीले दुई वर्ष लगाएर खनेको गोरेटोबाटो सडकमा परिणत भएको हो । अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटोमा गुड्छन् । त्यहाँबाट खमारी जान त्यही छोटो बाटो प्रयोग हुने गरेको छ । चन्द्रवीरले दृष्टिविहीन श्रीमती र चार छोराका लागि बाटो खनेका हुन् । ‘श्रीमती पनि आँखा नदेख्ने, छोराहरुपनि आँखा नदेख्ने थिए, बजार जानलाई बाटो थिएन,’ उनले भने, ‘श्रीमती र छोरा लड्लान भनेर त्यो बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्ने भए ।’ उनका पाँच छोरा र एक छोरी थिए । एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो । अहिले भएका चार छोरामध्ये कान्छो छोराले मात्रै आँखा देख्छन् अन्य तीन छोराले आँखा देख्दैनन् । अहिले उनका जेठो छोरा काठमाडौंमा दोहोरी साँझमा काम गर्छन् भने माइलाले तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्छन् । कान्छो छोरा काठमाडौंमै छन् । उनले पनि दृष्टिविहीनलाई बाटो देखाउने काम गर्छन् । चन्द्रवीरका लागि अहिले घरैमा कसैकसैले सहयोग दिन्छन् । त्यही सहयोगबाट उनको दैनिकी चलेको छ । ‘कहिले मास्टर आउनुहुन्छ, कहिले इञ्जिनियर आउनुहुन्छ । यसरी नै आउने सबैले चामल, दाल ल्याइदिनुहुन्छ, हाम्रो जीवन यसरी चलेको छ,’ उनले भने ।

मन्त्रालय र प्राधिकरणबीचको विवादबाट नेपालसँग पर्याप्त बिजुली नभएको स्पष्ट भयो : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताएका छन् । आइतबार काठमाडौंमा अयोजित कार्यक्रममा बोल्दै उनले अहिले पनि उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र विद्युत प्राधिकरणबीचको विवादलाई हेर्दा पनि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताएका हुन् । उनले अहिले पनि नेपालमा लोड सेडिङ हुन्छ की हुँदैन भनेर विवाद गर्नु भनेको पर्याप्त बिजुली नरहेको बताए । घरमा मात्र नभइ उद्योग क्षेत्रमा पनि पर्याप्त बिजुली दिनका लागि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताए । उद्योग क्षेत्र रजलविद्युत क्षेत्र चल्नको लागि उत्पादनमा बढी जोड दिनुपर्ने जानकारी दिए । उनले जलविद्युतमा लगानीकर्ताहरु दिनप्रतिदिन बढिरहेको बताए । २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढ्नुपर्नेमा जोड दिए । जलविद्युत क्षेत्रमा लगानी बढाएर काम गर्नसके नेपालमै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने जानकारी दिए । अध्यक्ष कार्कीले भने, ‘आजका दिनमा थुप्रै डिबेटहरु छन् । यति हुँदाहुँदै पनि हामी लोडसेडिङ हुन्छ, हुँदैन रु र भारतले दिनभरको बिजुली मात्रै दिन्छ भनेर छलफल गरिरहेका छौँ । के भन्छ सरकार र विद्युत प्राधिकरण भन्नेकुरामा डिबेट गरिरहेका छौँ ।’ अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने कुरामा आफूहरु अघि बढिरहेको बताए । उनले यसका लागि करिव २० वटा सुझाव आफूहरुले पनि सरकारलाई दिएको जानकारी दिए । उर्जा उत्पादन बढाउनका लागि शक्तिशाली उर्जा मन्त्रालय हुनुपर्ने र एकद्वार प्रणाली कायम हुनुपर्ने बताए । वनमा छिर्नै नपाउने नीति रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने बताए । अब आउने विद्युत विधेयकले नै जनताले जलविद्युतमा लगानी गर्ने की नगर्ने भनेर निर्धारण गर्ने जानकारी दिए । अध्यक्ष कार्कीले भने, ‘वास्तवमा हामी २८ हजार ५ सयको कुरामा अघि बढिरहेका छौँ । त्यो पूरा गर्न भनेर हामीले २० वटा जति कुराहरु लेखेर हामीले मन्त्रालयमा दिएका छौँ । शक्तिशाली उर्जा मन्त्रालय हुनुप¥यो । एकद्वार प्रणाली हुनुपर्छ । वनमा छिर्नै नपाउने नीति छ, अहिले भर्खरै नेपाल सरकारले वा नेपालका सांसदहरुले बनाएको एउटा ऐनलाई अदालतले खारेज गरिसकेको छ ।’ अध्यक्ष कार्कीले नेपाललाई समृद्ध बनाउने पाटो जलविद्युत नै रहेको बताए । उर्जाको उत्पादनलाई बढाउनसके डिजेल र पेट्रोलको आयात घटाउन सकिने बताए । उर्जा क्षेत्रमा अहिले ६५ लाख भन्दा बढी नेपालीले लगानी गरेको जानकारी दिए ।