इनरुवा-न्यू पूर्णिया र दोदोधरा-बरेली प्रसारण लाइन निर्माण गर्न सम्झौता, नेपालमा ६० किमि मात्रै
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइन विस्तारमा महत्त्वपूर्ण सम्झौता भएको छ । ऊर्जामन्त्री खड्काको निमन्त्रणमा दुई दिने भ्रमणका लागि नेपाल आएका भारतीय विद्युतमन्त्री खट्टर र ऊर्जामन्त्री खड्काको उपस्थितिमा दुई देशबीच ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण सम्झौता भएको हो । गत माघ ३० गते भारतको नयाँ दिल्लीमा नेपाल-भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठकले ४०० केभीको इनरुवा-न्यू पूर्णिया र दोदोधरा-बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति गरेसँगै उक्त कम्पनीलाई अगाडि बढाउने बारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षरमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रीड लिमिटेड भारतका निर्देशक डा यतिन्द्र दुवेदीले संयुक्त हस्ताक्षर गरेका छन् । समझदारीअनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहने उल्लेख छ । बाँकी ४९ प्रतिशत दोस्रो पक्षको रहनेछ । प्रसारण लाइनमध्ये इनरुवा-न्यू पूर्णियाको लम्बाई नेपालतर्फ करिब २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर रहेको छ भने दोदोधरा-बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ किलोमिटर र भारततर्फ १५० किलोमिटर रहेको छ । ऊर्जामन्त्री खड्काले दुई देशको ऊर्जा विकासमा यो सम्झौता महत्त्वपूर्ण भएको बताए । उनले नेपालको ऊर्जा विकासको क्षेत्रमा भारतले पुर्याएको सहयोगप्रति धन्यवाद दिए । उनले इनरुवा-न्यू पूर्णिया र दोदोधारा-बरेली प्रसारण लाइनलाई केवल संरचना नभई आपसी विश्वास र दीगो विकासतर्फको साझा यात्रा भएको उल्लेख गरे । ऊर्जामन्त्री मन्त्री खड्काले अरुण तेस्रो, तल्लो अरुण, अरुण चौथो, फुकोट कर्णाली, अपर कर्णाली, पश्चिम सेतीजस्ता ठूला जलविद्युत् परियोजनामा भारतको निरन्तर सहयोगप्रति आभार प्रकट गरे । उनले सन् २०२४ नोभेम्बर १५ को दिनलाई नेपालको ऊर्जा इतिहासमा स्वर्णिम अध्यायको रूपमा उल्लेख गरे । उक्त दिन नेपालबाट पहिलोपटक भारतको प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात भएको थियो । भारतका विद्युतमन्त्री खट्टरले दुई देशबीच ऊर्जा क्षेत्रमा भएको प्रगति भारत र नेपालको गहिरिँदो सम्बन्धको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गरे । उनले सन् २०२२ मा नेपाल–भारतबीच जारी गरिएको संयुक्त दृष्टिकोणपत्रको स्मरण गर्दै तीन प्रमुख आधार–संयुक्त उत्पादन, सीमापार पूर्वाधार र विद्युत् व्यापारमा उल्लेखनीय प्रगति भएको बताए । विद्युतमन्त्री खट्टरले गोरखपुर–बुटवल प्रसारण लाइन निर्माण सुरू भएसँगै नयाँ परियोजनाहरूले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । नेपाली विद्युत् भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुनु ऐतिहासिक उपलब्धि भएको उनको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालमा जलविद्युत् क्षेत्रको प्रचुर सम्भावना भएको बताए । नेपालमा उत्पादित जलविद्युत्लाई स्वदेशमा मात्र क्षेत्रीय मुलुकहरूमा हरित ऊर्जाको रूपमा प्रयोग गर्न सकिने भन्दै यसका लागि अन्तरदेशीय प्रसारण लाइनको सम्झौता कार्यक्रम कोसेढुङ्गा सावित भएको उल्लेख गरे ।
प्रभावित परिवालाई मर्स्याङ्दी जलविद्युतले वितरण गर्याे २१ करोड ७८ लाख रुपैयाँ मुआब्जा
काठमाडौं । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ । केन्द्रका अनुसार १४ परिवारका जग्गा र ५ घरसहित ९ रोपनी १० आना २ पैसा ३ दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो । जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार ९६७ रुपैयाँ प्रदान गरिएको केन्द्रका प्रमुख इञ्जिनियर पशुपति गौतमले जानकारी दिए । उनका अनुसार जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार ६५२ रुपैयाँ र घर टहराका लागि ३ करोड ९० लाख ९९ हजार ३१५ रुपैयाँ वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार प्रतिरोपनी १ करोड ८४ लाख ९२ हजार ६८० रुपैयाँका दरले जग्गाको मुआब्जा निर्धारण गरिएको थियो । आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटका बासिन्दा डुबानमा परेपछि मुआब्जाका लागि आन्दोलन गर्दै आएका थिए । अहिले मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका छन् । केन्द्रको बाँध किनारमा रहेका स्थानीयको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि निर्धारण गरिएको मुआब्जा वितरण कार्य पूरा भएको केन्द्रका प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार ६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले सो क्षेत्रको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरिएको हो । मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए । मुआब्जा पाउन सङ्घर्ष गर्नुपरेको भन्दै ढिलै भएपनि मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
दोर्दी खोला जलविद्युतको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज वैशाख ८ गते अन्तिम दिन रहेको छ । गत चैत १९ गतेदेखि कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमुजुङ र नक्साल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।