महाकाली ४ लेन पुलसँगै बनेको ‘भाइरल रोड’
काठमाडौं । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको ८ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल पुग्ने गरेका छन् । पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । पुल अवलोकन गर्न आएका शुक्लाफाँटा नगरपालिका-१ का मदन रानाले सामाजिक सञ्जालबाट महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित यहाँ घुम्न आएको बताए । ‘फेसबुक र टिकटकमा धेरैले यहाँको फोटो/भिडिओ राखेको देखेर मलाई पनि आउन मन लाग्यो,’ उनले भने, ‘साँझका बेला यहाँ घुम्न अत्यन्त रमाइलो ठाउँ रहेछ ।’ पछिल्लो समय यहाँ फोटो र भिडियो बनाउनेको भीड लाग्ने गर्छ । स्थानीयका अनुसार यहाँ छिमेकी मुलुक भारतबाट पनि पर्यटक आउने गरेका छन् । पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी अमिर तिरुवा बताउँछन् । ‘यहाँ महेन्द्रनगर, भारतीय सीमावर्ती सहर र बाहिरी जिल्लाबाट पनि मानिस आउने गरेका छन् । पछिल्लो समय दोधारा चाँदनी झोलुङ्गे पुल जाने पर्यटक पनि यहाँ पुग्ने गरेका छन्,’ उनले भने । यहाँ विभिन्न म्युजिक भिडियोसमेत छायाङ्कनका हुने गरेको उनको भनाइ छ । पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ । साँझका बेला सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्बिर कैद गर्न सकिने भएकाले पनि साँझको समय फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ । विसं २०७४ देखि निर्माण सुरु भएको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि पुलसँगै बन्ने अन्य संरचना निर्माणाधीन अवस्थामा छन् । पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गर्न लागेको छ । त्यसकै छेउछाउमा ५ हजार बिरुवा रोप्ने योजना छ । महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले पुलसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्न टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको जानकारी दिए । ‘पुलको वारिपारि चारवटा पोखरी निर्माण हुन्छन्, त्यसमा टापु पनि छ, पर्यटकले बोटिङ गरेर त्यो टापुमा जान सक्छन् । पोखरीसँगै हरियाली बनाउन ५ हजार बिरुवा रोप्छौँ, यसले पर्यटक आकर्षित हुनेछन्,’ उनले भने । पछिल्लो समय पुल अवलोकनका लागि दैनिक २/३ सय जना पुग्ने गरेको उनको भनाइ छ । महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलको उत्तरपट्टि एक वर्ग किलोमिटरभन्दा ठूला २३ तथा दक्षिणतर्फ ०.३ वर्गकिलोमिटरका २ गरी ४ वटा पोखरी निर्माण हुँदैछन् । अहिले पोखरीका लागि बाँध बाँध्ने काम निर्माणाधीन अवस्थामा छ ।
मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु
काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्र थालिएको हो । दमौली बजारकै मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र भइसकेको छ । दमौली बजारमा अहिले एकतर्फी कालोपत्रको काम चलिरहेको मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पूर्वी खण्डका अन्य ठाउँमा कालोपत्रको काम अन्तिम चरणमा पुगेपनि दमौली खण्डमा घरटहरा हटाउन ढिलाई हुँदा काममा ढिलाई भएको थियो । यो खण्डको काम ८२ दशमलब ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । चार लेनतर्फ ३३ दशमलब ५६ र दुई लेनतर्फ ३।२ किलोमिटर दूरीमा अन्तिम कालोपत्र सकिएको छ । उनले भने, ‘हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दूरी कालोपत्र भएको छ ।’ पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ
चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण
गोलबजार (सिरहा) । चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा छवटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा पुगेको छ । लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ । सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्रगतिमा जारी छ । शम्भुनाथ नगरपालिका- ११ देवधारमा छ करोड ५७ लाख ८२ हजार, छिन्नमस्ता गाउँपालिका घोडदह नदीमा एक करोड ९१ लाख ९२ हजारको लागतमा पुल निर्माण भएका छन् । यसैगरी, कनकटा–९ र बेल्ही–५ जोडिने सडकमा पर्ने मुत्तनी खोलामा रु चार करोड चार लाख ५४ हजारको लागतमा पुल निर्माण गरिएको छ भने राजविराज–छिन्नमस्ता सडकबाट बेल्हा–६ र ५ भएर बग्ने सप्तरीको घोडदह खोलामा रु चार करोड ८५ लाख ६३ हजारको खर्चेर पुल बनाइएको छ । छिन्नमस्ता गाउँपालिका–५ राजविराज–छिन्नमस्ता सडकअन्तर्गत खिरखौका नदीमा पनि पुल निर्माण सम्पन्न भएको छ । यो पाँच करोड ४२ लाख २० हजारको लागतमा सम्पन्न भएको हो । राजविराज–कुनौली सडकमा पर्ने महुली घाडन खोलामा छ करोड १३ लाख ५४ हजारमा लागतमा पुल निर्माण भएको प्रमुख कर्णले बताए । सप्तरीमा निर्माणाधीन पुलमध्ये सातवटाको काम अन्तिम चरणमा पुगेको छ । छिन्नमस्ता गाउँपालिका–१ ललापट्टी–बुटनपोखरी भलवाही पुल तीन करोड ७३ लाख ८२ हजारको लागतमा ९७ प्रतिशत सम्पन्न भएको छ । यस्तै, सोही निर्माण कम्पनीले रु तीन करोड ६२ लाख ७४ हजारको लागतमा विसहरिया- १ स्थित भलवाही खोलामाथि बनाइरहेको पुलको काम काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुरेन्द्र दासले बताए । यस्तै, रूपनी गाउँपालिका–६ दुधैला खोलामा नयाँ वस्ती नजिकै रु छ करोड ५३ लाख ७५ हजारका लागतमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । फकहा–बरदहीको बीच मुत्तनी नदीमा पनि धमाधम पुल निर्माण भइरहेको छ । उक्त पुलको वित्तीय प्रगति ८३.५८ प्रतिशत छभने भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । त्यसैगरी, रुपनी गाउँपालिका–६ दुधैला खोला पुलको भौतिक प्रगति ९० प्रतिशत भएको छ । उक्त पुल नौ करोड ७५ लाख ९८ हजारको लागतमा निर्माण भइरहेको हो । शम्भुनाथ नगरपालिका–९ भएर बग्ने भवररा नदीमा चार करोड ७५ लाख ३१ हजारको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति ८२ प्रतिशत भएको छ ।