हितेन्द्रले निकाले लोडसेडिङको तालिका, अब दैनिक ६ घण्टा बत्ती नआउने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । देशभर अघोषित लोडसेडिङ गरिरहेको प्राधिकरणले अब भने तालिका नै सार्वजनिक गरेर लोडसेडिङ हुने जानकारी गराएको हो । प्राधिकरणले सुरुमा चितवनदेखि लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । अब चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ हुनेछ । अब चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुने भएको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको तर्क प्राधिकरणको छ । चनौली वितरण केन्द्रले नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ हुने जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणले यो तालिका भने क्षणिक समयका लागि भएका जानकारी दिएको छ । प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा हितेन्द्रदेव शाक्य आएपछि देशमा अघोषित लोडसेडिङ सुरु भएको हो । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि शाक्यले भने लोडसेडिङको तालिका नै सार्वजनिक गरेर फेरि सर्वसाधारणलाई त्रसित बनाएका हुन् । उनले प्राधिकरणको नेतृत्व गरेपछि इन्भर्टर तथा जेनेरेटरको व्यापार बढेको छ । उनले व्यवसायीलाई खुसी बनाएर लोडसेडिङ गरेको आरोप पनि उनीमाथि छ । उसो त उनले यसअघि लोडसेडिङ गर्ने अवस्था नरहेको बताउँदै आएका थिए । उनले समय-समयमा प्राविधिक समस्या सिर्जना हुँदा विद्युत् कटौती गर्नुपरे पनि लोडसेडिङ नै गर्नु पर्ने अवस्था नरहेको बताउँदै आएका थिए । उनले प्राधिकरणको नेतृत्व गरेलगत्तै विद्युत् कटौती गरेपछि चौतर्फी रूपमा विरोध हुँदै आएको छ । त्यसको जवाफ दिँदै उनले यस्तो बताएका थिए । तर, उनी अहिले लोडसेडिङको तालिका नै सार्वजनिक गर्न बाध्य भएका हुन् । यस विषयमा उनीसँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । यस्तो छ लोडसेडिङको तालिका -नारायणी-माडी फिडरहरू : बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म । - मेघौली-विजयनगर-शुक्रनगर फिडरहरू : बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म । -जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म । सम्बन्धित सामग्री : अघोषित लोडसेडिङपछि बिल तिर्ने प्रणालीमा पनि सकस, कर्मचारी भन्छन्- दबाब आउन थाल्यो लोडसेडिङ बढेसँगै इन्भर्टर र जेनेरेटरको माग दोब्बर उद्योगको लोडसेडिङ ५ घण्टामा झर्यो, उद्योगीले हितेन्द्रलाई बनाए बधाईका पात्र हितेन्द्रले प्राधिकरणको ५ अर्ब बढी घाटा देखाएर बनाए १० अर्ब ऋण लिने योजना, यस्तो छ श्वेतपत्र हितेन्द्रदेव शाक्य भन्छन्स् अब लोडसेडिङ हुदैँन, इन्भर्टर र मैनबत्ती प्रयोग नगर्नु कुलमान र हितेन्द्र स् दुई सहकर्मीको १७ वर्षे ‘हेड टु हेड’ प्रतिस्पर्धा
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य
रसुवा । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको थियो । चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ । पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिए । पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ । चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लाने काम अगाडि बढाइसकेको छ । बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिए । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।
पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने समय थपियो
काठमाडौं । पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ । असार २२ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा अब लगानीकर्ताहरुले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको हो । कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो । त्यसैले असार १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।