रुसुवागढी बाढीले क्षति पुर्याउँदा ९ कम्पनीमा २९ करोड रुपैयाँ बीमा माग दाबी, सबैभन्दा धेरै शिखरमा

काठमाडौं । रुसुवागढीमा आएको बाढीले क्षति गर्दा २९ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । असार २३ गते भोटेकोसी नदीमा आएको बाढीले नेपाल चिन मितेरी पुलसँगै बन्दरगाहमा रहेका सवारी साधन र केही हाइड्रोपावर कम्पनीहरुमा क्षति पुर्याएको थियो । बाढीले पुर्याएको क्षतिबाट २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको ६३ वटा प्रारम्भिक बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सामुद्रिक बीमा लेखका ६ वटा बीमा बापत १५ करोड ७० लाख १० हजार रुपैयाँ बराबरको दाबी परेको छ । यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा लेखका ४ वटा दाबी बापत ५ करोड ५५ लाख रुपैयाँ, सम्पत्ति बीमा लेखका १० वटा दाबी बापत ४ करोड १८ लाख ५० हजार रुपैयाँ, मोटर बीमा (सार्वजनिक)लेखका ३२ वटा दाबी बापत २ करोड ३१ लाख ५० हजार रुपैयाँ र मोटर बीमा (निजी) लेखका ११ वटा दाबी बापत १ करोड १७ लाख ५० हजार रुपैयाँ माग गरिएको बीमा प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्समा दाबी भुक्तानी परेका छन् । शिखर इन्स्योरेन्समा १० वटा दाबी बापत १६ करोड १२ लाख १० हजार रुपैयाँ माग गरिएको छ । यस्तै, नेको इन्स्योरेन्समा ३ वटा दाबी बापत ५ करोड १२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७ वटा दाबी बापत ३ करोड ४१ लाख ५० हजार रुपैयाँ माग गरिएको छ ।  यस्तै, नेपाल इन्स्योरेन्समा १२ वटा दाबी बापत १ करोड २८ लाख ५० हजार रुपैयाँ, सानिमा जीआइसी इन्स्योरेन्समा ६ वटा दाबी बापत ७७ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ९ वटा दाबी बापत ७५ लाख ५० हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दाबी बापत ६८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा बीमा दाबी बापत ४७ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा दाबी बापत ३१ लाख रुपैयाँ माग गरिएको छ । 

राप्ती हाइड्रोले साउन १३ गतेदेखि ७ लाख कित्ता सेयर बिक्री गर्ने, मूल्य १ सय रुपैयाँ

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले ७ लाख ४ हजार १११ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ ।  कम्पनीले असार १ गतेदेखि असार २४ गतेसम्म चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ रुपैयाँको १ सय प्रतिशत तथा १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र संस्थापक समूहतर्फ १ लाख ४० हजार १०१ कित्ता सेयर बिक्री भएको थिएन । कम्पनीका अनुसार उक्त सेयर भदौ ८ गतेसम्म लकइनमा रहनेछ । कम्पनीले सोही साउन १३ गतेदेखि साउन २० गतेसम्म बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको सेयर बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ठिमी-भक्तपुर, कुमारीपाटी-ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही-दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । 

बाढीले अवरुद्ध स्याफ्रुबेंसी-रसुवागढी सडक दुई सातापछि एकतर्फी सञ्चालनमा

काठमाडों । भोटेकोशीको सहायक नदी ल्हेन्दे खोलामा आएको बाढीले करिब दुई सातादेखि अवरुद्ध स्याफ्रुबेंसी-रसुवागढी सडकखण्ड आइतबारदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।   असार २४ गते राति आएको बाढीपहिरोले सडक बगाउँदा टिमुरे र रसुवागढी नाकासँगको सम्पर्क विच्छेद भएको थियो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाअन्तर्गत पर्ने उक्त खण्ड आइतबार अपराह्न ४ बजेदेखि अस्थायी रूपमा खोलिएको हो ।  सडक खुलेपछि साना तथा यात्रुवाहक सवारीसाधन चल्न थालेका छन् भने टिमुरे र रसुवागढीमा रोकिएका खाद्यान्नलगायत सामग्रीको आपूर्ति पुनः सुरु भएको छ । यद्यपि, भारी सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ । वर्षा जारी रहेकाले सम्भावित जोखिमका कारण रात्रिकालीन समयमा पनि सवारी चलाउन निषेध गरिएकोप्रमुख जिल्ल अधिकारी पौडेलले जानकारी दिए ।  बाढीपहिरोले यस सडकखण्डको करिब १२ सय मिटर सडकमा क्षति पुर्‍याएको थियो । सडक विभाग र विभिन्न जलविद्युत् आयोजनाको सहकार्यमा असार २६ गतेदेखि मर्मत र नयाँ ट्र्याक खोल्ने काम थालिएको थियो ।  सबैभन्दा बढी क्षति भएको लिङलिङ भीरमा पहिरोले बगाएको १ सय २० मिटर सडक, चट्टानी भीर काटेर नयाँ ट्र्याक खोलेपछि सडक सञ्चालनमा आएको हो । सडक खुलाउन सडक विभागका साथै लाङटाङ भोटेकोशी, रसुवागढी र लाङटाङ जलविद्युत् आयोजनाका जेसिबी, एक्स्काभेटर, ब्रेकरजस्ता भारी उपकरण प्रयोग गरिएको थियो ।