जोशी हाइड्रोको हकप्रद सेयर बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज साउन १५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २४ लाख १४ हजार १०० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।  केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

झापा इनर्जीको आईपीओ बिक्री बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । झापा इनर्जीले आज साउन १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ८० हजार १९० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । जसमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरका बासिन्दालाई र १ लाख ९० हजार ९५ कित्ता सेयर झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दालाई छुट्याइएको छ ।  साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ लाख २ हजार ९०० रुपैयाँको ५७ हजार २९ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । ​​​​​इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

दसैंअघि नै रसुवागढी नाका सञ्चालन आउने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैंअघि नै सञ्चालन गर्ने गरी ल्हेन्दे खोलामा बेलीब्रिज जडान सुरु भएको बताएका छन् ।  त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु बेसी-रसुवागढी सडक योजना’को अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिए । गत असार २४ मा ल्हेन्दे खोलामा उर्लिएको बाढीले नेपाल-चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो । ‘गल्छी-रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ,’ मन्त्री दाहालले भने, ‘रसुवातर्फ स्याफ्रु बेसी-रसुवागढी सडक खण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ ।’  मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य तीब्र पार्न निर्देशन दिए । नदीबाट हुने क्षति समेत नियन्त्रण तर्फ पनि ध्यान दिन उनको भनाइ छ ।  रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनिया पक्षसँग समन्वय गरि चीन तर्फ रोकिएका नेपालीहरू ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए ।