दक्षिण अमेरिका कोरोना महामारीको नयाँ केन्द्रविन्दु

काठमाडौं । दक्षिण अमेरिका कोरोना भाइरस महामारीको नयाँ केन्द्रविन्दु बनेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । दक्षिण अमेरिकामा कोरोना भाइरसको प्रकोपले ब्राजिलमा भयावह सिर्जना गरेको छ । डब्ल्यूएचओका अनुसार अफ्रिकाका ती देशहरूमा पनि महामारीको प्रभाव तुलनात्मक रूपमा कम भएको ठाउँमा पनि संक्रमणका घटनाहरू द्रुत गतिमा बढेको जानकारी दिएको छ । विज्ञप्ती जारी गर्दै डब्ल्यूएचओको आपतकालीन विशेषज्ञ डा.माइक रायनले भने, ‘दक्षिण अमेरिका महामारीको नयाँ केन्द्र बनेको छ भने ब्राजिल सबैभन्दा बढी प्रभावित भएको छ ।’ विश्वभरी नै सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिका पछि ब्राजिल रहेको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या ३ लाख ३२ हजार ४ सय जनामा कोरोना लागेको छ भने २१ हजार १ सय १६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै अफ्रिका महादेशका केही देशमा कोरोना बढेको देखिएको छ । शुक्रबार बेलुकीसम्म उक्त महादेशमा ३ हजार १ सय जनाको मृत्यु भएको र १ लाखभन्दा बढी काेराेना संक्रमित छन् । (बीबीसी)

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५२ लाख ९८ हजार १ सय २२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ३९ हजार ४ सय १५ जनाको मृत्यु भइसकेको छ भने २१ लाख ५१ हजार ७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९७ हजार ६ सय ३७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १६ लाख ४५ हजार ११ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९४ पुगेको छ भने अहिलेसम्म ३ हजार ७ सय २६ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५ सय १६ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ७० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आउने

धनकुटा । धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आउने भएको छ । यही जेठ ४ गते कोरोना भाइरस सङ्क्रमण देखिएपछि जेठ ५ गते प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित सरोकारवालाको बैठकले जिल्ला अस्पताल सिल गर्ने निर्णय गरेको थियो । धनकुटाको अवस्था अहिले सामान्यतर्फ उन्मुख रहेकाले आइतबारदेखि अस्पताल सञ्चालन गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताए । जिल्ला अस्पताल सिल गरिएपछि मन्त्रालयले प्रदेश नं १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताको नेतृत्वमा सो अस्पतालको स्थलगत अध्ययन, कन्ट्याक ट्रेसिङ, टेष्टिङ, सिल गरिएको अस्पतालसम्बन्धी कार्ययोजना तय गर्न टोली पठाएको थियो । विज्ञ टोलीको सुझावअनुसार सामाजिक विकासमन्त्री घिमिरेसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहनी, स्वास्थ्य सेवा विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डे, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक मेहता, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा मेहता, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका महामारी रोग विज्ञ डा.प्रज्वल प्याकुरेल, जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा पुजन विश्वकर्मा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागार्इं, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि हरिकृष्ण भट्टराईसहितको अनलाइन बैठकले अस्पताल पूर्ववत्रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति सामाजिक विकास मन्त्रालयको संयोजनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको प्रवक्ता डा मेहताले बताए । धनकुटामा आजसम्म १८० जनाको थ्रोट स्वाब सङ्कलन गरिएकामध्ये सात जनाको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितको अहिले कोशी अस्पतालमा कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ । रासस