प्रदेश २ : प्रादेशिक क्वारेन्टिन १४ दिनका लागि सिल

धनुषा । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजीकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बन्द गरिएको हो । उक्त क्वारेन्टिनमा बसेका कोरोना शङ्कास्पदमध्ये पटकपटक गरेर पाँच व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेपछि १४ दिनका लागि बन्द गर्ने निर्णय जिल्ला सङ्कट व्यवस्थापन समितिले बुधबार गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । नेपाली सेनाको रेखदेख तथा प्रदेश नंं २ सरकारले सञ्चालन गरेको उक्त क्वारेन्टिनमा शुरुका दिनमा प्रदेश नंं २ का विभिन्न जिल्लाका कोरोनाका आशङ्कित व्यक्तिलाई राख्ने काम हुँदै आएको छ । अहिले पनि क्वारेन्टिमा ८१ नागरिक धनुषा, महोत्तरी तथा भारतीय रहेको क्वारेन्टिनका इञ्चार्ज सन्तोषकुमार ठाकुरले जानकारी दिए । अब क्वारेन्टिनमा भएका सबैको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरेर हालका सबैलाई खाली गरिने र पुनः स्यानिटाइज गरी नयाँ शिराबाट सञ्चालन गरिने इञ्चार्ज ठाकुरले बताए । खासगरी क्वारेन्टिनमा दूरी अपनाइए पनि चेतनाको अभावले खानामा कतै लसपस भयो कि भन्ने आशङ्का भएकाले सबैको परीक्षण नगरेसम्मका लागि सिल गरिएको छ । धनुुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको व्यवस्थापन समिति धनुषाको बैठकले नगराइन नगरपालिकालाई अर्को क्वारेन्टिन सञ्चालन गर्न पत्राचारसमेत गरेको छ । रासस

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख ८२ हजार २ सय ४४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख २९ हजार २ सय ६० जनाको मृत्यु भइसकेको छ भने २० लाख २० हजार १ सय ५१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९४ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ९१ हजार ५ सय ७५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको छ भने अहिलेसम्म ३ हजार ४ सय ३४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४ सय २७ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ४५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

विश्वमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्याे

काठमाडौं । विश्वमा ५० लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।  नेपाली समयअनुसार बुधबार दिउँसो २ बजेसम्म विश्वमा भरी ५० लाख ६ सय जना मानिसमा कोरोना भाइरस पुष्टि भएको छ । चीनको वुहानमा उत्पत्ति भएको कोरोनाले हाल भयावह रुपमा संसारभरी फैलिएको छ । २ सय १५ देशमा फैलिएको कोरोनाबाट ३ लाख २५ हजार १ सय ५६ जनाको मृत्यु भइसकेको छ भने १९ लाख ७० हजार ९ सय १८ जना उपचार पछि निको भएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका तथा युरोपियन मुलुकहरु रहेको छन् । १५ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा ९३ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै साढे ३ लाख उपचारपछि निको भएका छन् । पछिल्ला दिनमा ब्राजिलमा कोरोना संक्रमणबाट उच्च संख्यामा मृत्यु भइरहेकाे छ । त्यस्तै रसिया, स्पेन, बेलायत, इटाली, फ्रान्स, जर्मनी, टर्की, इरान, भारतमा संक्रमितको संख्या उच्च रहेको छ ।  त्यस्तै मध्यपूर्वी देशहरु तथा दक्षिण एसियाली मुलुकमा पनि पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै आएको छ । कोरोना बढ्दै गएसँगै संसारमा बेरोजगारीको संख्या बढ्दै आएको छ । कोरोना फैलिएसँगै विश्वमा ६ करोड बढी मानिस गरिबीको चपेटामा पर्ने सम्भावना रहेकाे  विश्व बैंकले जनाएको छ । (तथ्यांक साभार : वल्डोमिटर)