नेपालमा काेराेना संक्रमितको संख्या ५ सय नाघ्याे

काठमाडौं । नेपालमा काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे जनाएकाे हाे । शुक्रबार साँझ  थप २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे हाे । यी नयाँ संक्रमितहरु डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष र कैलालीका तीन जना  र बाँकेका १४ जना पुरूष रहेकाे मन्त्रालय प्रवक्ता विकास देवकोटाले बताए। याेसँग नेपालमा काेराेना संक्रमितको संख्या ५ सय ७ पुगेकाे छ जसमा ७० जना निकाे भएर घर गएका छन् ।  

बूढानीलकण्ठमा २१ जनामा आरडिटी पोजेटिभ, पिसिआरकाे लागि टेकु पठाइयाे

काठमाडाैं । बूढानीलकण्ठ नगरपलिकामा २७६ जनामा गरिएको आरडिटीमा २१ जनाको कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाका १३ वडामा बन्दाबन्दीभर दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी, जनप्रतिनिधि र फोहोरमैला व्यवस्थापनमा संलग्नको पहिलो चरणमा आरडिटी गरिएको हो । आरडिटी पोजेटिभ देखिएका सबैलाई नगरपालिकाले व्यवस्था गरेको वडा नं ७ स्थित एकल महिला छहारी भवनको क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए । आरडिटी पोजेटिभ देखिएकामध्ये १५ जना पुरुष र छ महिला छन् । आरडिटी पोजेटिभ देखिएकामध्ये २० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइसकिएको नगरपालिकाले जनाएको छ । आरडिटीले नै पूर्ण कोरोना संक्रमण भएको यकिन गर्न नहुने र विश्वस्तताका लागि आरटीपिसिआर नै गर्नुपर्ने भएकाले आरडिटी गरी पोजेटिभ आएकालाई नआत्तिन, धैर्य गर्न र आत्मबल बलियो बनाउन नगर प्रमुख उद्धवप्रसाद खरेलले आग्रह गरे । रासस

एकैदिन २१ जनाले जिते कोरोना, आजै घर फर्किँदै

काठमाडाैं । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज-८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए । उनका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइने छ । सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरुलगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो । हाल सङ्क्रमित १०१ पुगेका छन् । थप दुईमा सङ्क्रमण बाँकेमा बिहीबार सङ्क्रमण देखिएका दुई जना पनि एकहप्ता अघि भारतबाट आएका थिए । नेपालमा आएलगत्तै क्वारेन्टिनमा रहनुभएका खजुरा गाउँपालिका वडा नं ३ का ४२ वर्षीया महिला र नरैनापुर गाउँपालिका वडा नं ३ का ३२ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर प्रयोगशालामा गरिएको स्वाब नमूना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार बिहीबार फेला परेका सङ्क्रमित एक हप्ताअघि भारतबाट आएर गाउँकै क्वारेन्टिनमा बस्दै आएका हन् । कोरोना सङ्क्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएपछि खजुराक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । खजुरा गाउँपालिकामा पहिलो पटक बुधबार वडा नं ५ निवासी एक व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो भने बिहीबार थप एक जनामा पुष्टि भएको छ । खजुरामा सङ्क्रमण नभई भारतबाटै सङ्क्रमित भई आएको पाइएकाले त्रसित हुनुपर्ने अवस्था नरहे पनि सजगता अपनाउनुपर्ने भएकाले थप उच्च सतर्कता अपनाइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । सङ्कलित स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ । रासस