थप १९ जना संक्रमित थपिए, नुवाकाेटमा पनि देखियाे काेराेना

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण देखिएकाे बताएका छन् । आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्। यस्तै नुवाकाेट जिल्लामा पहिलाेपल्ट काेराेना देखिएकाे छ । यससँगै नेपालमा ४२ जिल्लामा काेराेना संक्रमण फैलिएको छ । १९ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ जसमा ८७ जना निकाे भईसकेका छन् ।

संक्रमितको पीडाः न त एम्बुलेन्स, न आइसोलेशन

जीतपुर । कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसोलेशन सेन्टर नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको छ । यससँगै नगरमा रहेका आधा दर्जन एम्बुलेन्सले बिरामी ओसार्न नमान्दा संक्रमितलाई कोरोना उपचार अस्पतालमा समयमै पुु¥याउन सकिएको छैन । नगरमा झण्डै २० संक्रमित भेटिसक्दा पनि आइसोलेशन सेन्टर निर्माण गर्ने विषयमा नगरपालिकाको नेतृत्व अन्योलमा छ । सरकारले लकडाउनले उपचारको तयारीका लागि पर्याप्त समय पाइरहेको बताउँदै गर्दा वाणगङ्गा नगरले आइसोलेशन सेन्टर कुन ठाउँ बनाउने भन्नेसमेत टुङ्गो लगाउन ढिलाइ गरेको छ । बाणगङ्गा नगरमै कोरोना संक्रमित १७ जना फेला परेपछि मात्र आइसोलेशन सेन्टर निर्माण गर्ने ठाउँ खोज्न शुरु गरिएको छ । शुक्रबार बिहान वाणगङ्गा–४ की आठ वर्षीया बालिकालाई कोरोना भाइरस पुष्टि भयो । पुष्टि भएको तीन दिन भइसक्दा पनि उनको आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था आजसम्म भएको छैन । संक्रमित बालिका आजसम्म पनि घरमै छिन् । सोही दिन बालिकासँंगै कोरोना संक्रमण पुष्टिको रिपोर्ट आएका बाणगङ्गा ११ का एक सञ्चारकर्मीलाई सोही दिन राति ९ः०० बजे मात्र जिल्ला सदरमुकामस्थित तौलिहवाको आइसोलेशनमा पुु¥याइएको थियो । वाणगङ्गा –४ स्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टिनमा रहेका तीन जनालाई अझै कहाँ लाने भन्ने टुङ्गो छैन । कपिलवस्तुको पिछडिएको क्षेत्र विजयनगर गाउँपालिकाले समेत आफ्नै पालिकामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष गोपाल थापाले भने, “यो बेला समस्या त हुन्छ तर हामीे समस्यालाई मात्र हेरेर बस्ने होइन ।” विपद्का समयमा स्थानयवासीको अभिभावक भनेकै जनप्रतिनिधि भएकाले विभिन्न संघसस्था समाजसेवीलगायत सबैको सहयोगमा २५ वार्डको आइसोलेशन निर्माण गरिएको बताए । संक्रमितलाई त्यही आइसोलेशन सेन्टरमा राखेर उपचार गरिएको उनले जानकारी दिए । गाउँपालिकामा संक्रमित भेटियो भनेर थाहा पाउनेबित्तिकै आफैँ सोही स्थानमा पुगेर उनीहरुको मनोबल बढाउने र सुरक्षित ठाउँमा राख्ने व्यवस्था मिलाइएको उनले बताए । त्यस्तै मायादेवी गाउँपालिकाले पनि आफ्नै पालिकामा १६ शय्याको आइसोलेशन निर्माण गरेको गाउँपालिका अध्यक्ष बजरंगीप्रसाद कुर्मीले जानकारी दिए । पालिकामा अझै एक सय शय्याको आईसोलेशन निर्माण गर्ने तयारी छ । यता कपिलवस्तुको सुगम क्षेत्रमा रहेको बाणगङ्गा नगरमा ६ एम्बुलेन्स सञ्चालित छन् । ती सबै एम्बुलेन्सका चालकलाई प्रदेशसभा सदस्य विष्णु पन्थी र नगरपालिकाले पिपिई उपलब्ध गराएको छ । दुई एम्बुलेन्स चालकलाई कोरोना पोजेटिभ बोक्न भनेरै नगरपालिकाले आफ्नै खर्चमा क्याबिन निर्माण गरिदिएको छ तर कोरोना संक्रमित फेला परेपछि उनीहरुलाई आइसोलेशनमा पु¥याउन एम्बुलेन्स चालक अनेक कारण देखाएर उम्कने गरेका छन् । शनिबार बिहान संक्रमित देखिएका एक जनप्रतिनिधिले नै दिनभरि एम्बुलेन्स पाउन नसकेपछि उहाँ आफ्नै स्कुटर चलाएर बुटवलस्थित कोरोना अस्पताल पुग्नुभयो । उनले भने,“सधैँभरि जनताको सेवामा खटियो, त्यही गर्दागर्दै पोजेटिभ भइयो । आफूलाई समस्या पर्दा कोही भएन साथ दिने, राति स्कूटर चलाएरै अस्पताल आउनुप¥यो ।” यस्तै शनिबार नै कोरोना संक्रमण पुष्टि भएकी महिला पत्रकारको पनि हालत उस्तै रहयो । दिनभरि खोज्दा पनि एम्बुलेन्स पाउन नसकेपछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले प्रहरीको सवारी व्यवस्थापन गरेर राति १० बजे उनलाई कोरोना अस्पताल बुटवल पुु¥याइयो । कपिलवस्तु जिल्लामा रहेका २९ एम्बुलेन्ससंँग केही दिनअघि प्रजिअले राखेको समन्वय बैठकमा सेवा प्रदान गर्ने तर आफूहरुको सुरक्षा हुनुपर्ने माग चालकले राखेका थिए । सोही मागअनुसार तिनलाई पिपिई, मास्क र सेनेटाइजर उपलब्ध गराइएको छ । केही एम्बुलेन्समा क्याबिन वनाएर चालकलाई सुरक्षित गरिएको छ । यता आज मात्र वाणगङ्गा नगरपालिकाले आइसोलेशन सेन्टर बनाउने तयारी थालेको नगर प्रमुख मंगलप्रसाद थारुले बताए । आइसोलेशन केन्द्र बनाउन नसकेको भनेर आलोचनामा परेको वाणगङ्गाले एकैसाथ दुई स्थानबाट बनाउने काम शुुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ५ को कोपवा स्वास्थ्यचौकीमा १५ शय्याको आइसोलेशन सेन्टर आज साँझसम्ममा बनाएर सेवा प्रारम्भ गर्ने गरी काम भइरहेको नगर उपप्रमुख चक्रपाणि अर्यालले बताए । अर्कातर्फ सिद्धार्थ क्याम्पसको सभाकक्षमा ३५ शय्याको आइसोलेसन सेन्टर निर्माणको तयारी शुरु भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघका पदाधिकारी छविरेश्मी मगरले वाणगङ्गा–४, जीतपुरमा निर्माणाधीन आफ्ना १८ कोठासहितको ६ तले घर नै आइसोलेसन सेन्टर निर्माणका लागि उपलब्ध गराउन तयार भए पनि निर्माण सम्पन्न हुँदासम्म ढिलाइ हुने भएकाले अन्य विकल्प खोजिएको बताए । रासस

कोरोना महामारीकाे साईकोडेमीक असरबाट कसरी बच्ने ?

काठमाडौं । विश्वमा कोरोना सक्रमितको संख्या बढ्दै जाँदा मानिसहरुमा यसको मनोसामाजिक असरहरु देखा पर्न थालेका छन् । संक्रमितको थुकको छिटाबाट सर्ने यो रोगले मानिसहरु नै अब एक अर्कोसँग नजिक हुन नसक्ने अवस्था ल्याइदिएको छ । दुई जना मानिस एक भएपछि चल्ने यो संसार अहिले मानिसहरु जति टाढा त्यति सुरक्षित हुने अवस्थाले मानिसहरुलाई मानसिक रुपमा ठूलो असर गरेको छ । कोरोना संक्रमणको त्रास लामो समय नहरला । तर, यसले ल्याएको असर दीर्घकालिन हुनसक्छ । त्यसैले यसले ल्याउने साईकोडेमिक असरबाट तपाई टाढा रहनुपर्छ । यसको लागि केही निश्चित विधिहरु अपनाउन सकिन्छ । आफूलाई शंका नगर्नुहोस् आफुलाई बिना कुनै कारण कोरोना लाग्यो भन्ने शंका नगर्नुहोस् । शंका तथा तनावले टाउको दुख्ने, ज्वरो आएजस्तो हुने तर नाप्दा ज्वरो नदेखिने र घाँंटी खसखस भएजस्तो लाग्ने जस्ता समस्या देखिन सक्छन् । यस्तै, रिंगटा लागेको भान हुने, कमजोरी अनुभव हुने, निद्रा नलाग्ने, मन खुसी नहुने, जोशजाँगर नहुने, छाती पोल्ने, खुट्टा पोल्नेलगायतका शारीरिक लक्षणहरु देखाउँछ जसले गर्दामलाइ साँच्चै कोरोना संक्रमण भएको हो कि भन्ने महसुस हुन्छ । त्यसैले कोरोनाको साईकोडोमीबाट बच्न आफूलाई विश्वास गर्नुहोस् । आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमताप्रति विश्वास गर्नुहोस् । म सजग छु त्यसैले मलाइ कोरोना संक्रमण हुँदैन भनेर ढुक्क हुने, निश्चिन्त हुने बानी विकास गर्नुहोस् । संक्रमितको संख्या सुनेर चिन्ता नगर्नुहोस् विश्वका धेरै देशको तुलनामा हामी निकै सुरक्षित छौं । संक्रमितको पहिचान हुनु राम्रो कुरा हो । किनभने यसले रोग रोकथाममा ठूलो सहयोग गर्दछ । यदि तपाईले सुरक्षाका विधि अपनाउनु भयो भने तपाईलाई संक्रमण हुने सम्भावना निकै कम हुन्छ । निको भएर घर गएका कोरोना संक्रमित आत्माबल नै सबैभन्दा ठूलो भएको बताउँदै आएका छन् । आफूलाई सधैं टिपटप राख्नुहोस् तपाईको कार्यस्थल बन्द भएपनि वा घरबाट काम गरिरहनु भए तापनि आफ्नो दैनिकीमा परिवर्तन नल्याउनुहोस् । दैनिक दाँत माझ्ने, मेकअप गर्ने, अन्य समयमा कार्यालयमा जाँदा जस्तै सफा चिटिक्क भएर आफ्नो काम सुरु गर्नुहोस् । यसरी दैनिकीहरुमा यथावत राख्दा तपाईलाई महामारीको त्यति वास्ता पनि हुँदैन र बिरामी भएको महसुस हुँदैन । योग तथा ध्यान गर्ने आफ्नो आत्मशान्ति र भित्री शीतलताको लागि योग तथा ध्यान गर्ने बानी बसाल्नुहोस । यसले तपाईमा जीवन र जगतप्रति सकारात्मक धारणा जागृत गराउँदछ । सामाजिक संजालमा धेरै प्रतिकृया दिने बानी बन्द गर्नुहोस् सामाजिक संजालमा समाचार सेयर गर्ने, जुनै पनि विषयमा प्रतिकृया दिने काम बन्द गर्नुहोस् । एक अध्ययन अनुसार जसले धेरै पटक सामाजिक संजालमा पोस्ट गरिरहन्छ, त्यो उसको भित्री चिन्ताको विस्फोट हो । सार्वजनिक समाचारलाई हामीले पोस्ट गर्ने, हरेक कुरामा आफ्नो बिचार राख्ने तथा लाइक, कमेन्ट र सेयरको गणना गर्ने बानीलाई अनुत्पादक र प्रतिक्रियात्मक मानिन्छ । यसले तपाईमा भित्र भएको शान्तिलाई पनि भंग गर्न सक्छ । त्यसैले सामाजिक संजाललाई सिमित समय मात्र दिनुहोस् । अनावश्यक विवाद नगर्नुहोस् यो महामारीको बेला आफ्नो परिवारको तथा देशको चिन्ता गर्नुपर्ने समयमा राजनीतिका अनावश्यक पक्ष, विपक्षमा विवाद गर्नुको कुनै औचित्य छैन । तसर्थ जीवन र जगतको पक्षधर बन्ने बानी विकास गर्नुहोस् । यसले तनाब मुक्तिमा सहयोग गर्दछ । भोलिलाई सम्झेर आजलाई खेर नफाल्नुहोस् यो महामारीले अधिकांश व्यक्तिको आर्थिक अवस्था चौपट पारेको छ । आर्थिक नोक्सानीको चिन्ता गरेर समाधान हुने होइन । यो नाफा र घाटाको चक्र दिन र रात जस्तै हो । त्यसैले आशा गरौँ यो रात ढलेपछि उज्यालो हुनेछ र त्यो उज्यालोको आलोकले हाम्रो गिरेको अर्थतन्त्र अझै सुदृढ भएर आउनेछ । त्यसैले भोलिलाई सम्झेर आजलाई खेर नफाल्नुहोस् । तपाई मानसिक र शारीरिक रुपमा स्वस्थ रहे तपाईले मनग्य धन कमाउँन सक्नुहुनेछ । आफ्नो रुचि र लुकेको क्षमतालाई उजागर गर्नुहोस् यो जिन्दगीको दौडधुपमा हामी यति धेरै व्यस्त भयौं कि हामी धेरैले आफ्नो लागि समय नै निकालेनौं । त्यसैले अहिले पाएको समयलाई अवसर मान्नुहोस । किनभने फेरि यस्तो समय आउनेछैन । यो समयमा आफ्नो रुची भएको विषयहरु सिक्नुहोस् । आर्ट गर्ने, गीत गाउने, नाच्ने, कविता लेख्ने, कथा लेख्ने, मनपरेका पुस्तक पढ्ने, मुभी हेर्ने गर्नुहोस् । यो पललाई एक एक गरेर बाँच्नुहोस् । मिडिया ब्रेक लिनुहोस् कहिलेकाँही मिडिया ब्रत बस्नुहोस् । समाचार हेर्ने, सुन्ने, पढ्ने, सामाजिक संजाल चाहार्ने दिनको ३ छाक मात्र गर्नुहोस् । जसरी धेरै खाए चिनी पनि तितो हुन्छ, खाना पनि अजिर्ण हुन्छ, रक्सीले पनि बेहोश बनाउँछ त्यसैगरी मिडियाले पनि तनाव सिर्जना गरेर दिमाग ह्याङ गराउँछ । आफूलाई माया गर्नुहोस् हामी दोस्रो व्यक्तिलाई माया गर्दा गर्दै आफूलाई माया गर्न नै बिर्सन्छौं । याद राख्नुहोस् तपाईले आफ्नो ख्याल गरेमात्र दोस्रो व्यक्तिको पनि ख्याल गर्नसक्नुहुन्छ । सरसफाई गर्ने, धोएका सुकिला कपडा लगाउने, घाममा बस्ने, पोषिलो खाने, छिटो सुत्ने, छिटो उठ्ने गर्नुहोस् । दिनको १ घन्टा शरीरलाई दिनुहोस । शरीरले दिनको २३ घण्टा तपाइंलाई दिनेछ । अर्थात १ घण्टा व्यायाम गरेर शरीरलाई चार्ज गर्दा बाँकी २३ घन्टा शरीरले राम्रोसँग काम गर्छ । यो दुर्लभ स्वच्छ हावामा समय बिताउने अवसर नगुमाउनुहोस् सास हुनु जीवनको प्रतिक हो । प्राणायाम गर्ने, स्वच्छ हावा सेवन गर्ने, बन्द कोठामा भन्दा हावा लाग्ने ठाउँमा धेरै समय बिताउने गर्नुहोस् । यो दुर्लभ स्वच्छ हावा सेवन गर्ने अवसर नगुमाउनुहोस् । क्यामरामा यादहरु कैद गर्नुहोस् यो समयलाई तस्विरमा कैद गर्न नबिर्सिनुहोस् । तपाईले युट्युब हेरेर बनाएको नयाँ परिकारको तस्विर खिच्नुहोस, तपाईको बुवाले नाचेको भिडियो खिच्नुहोस्, खेलेको भिडियो खिच्नुहोस् । धेरै यादहरुलाई आफ्नो मोबाईलको क्यामरामा कैद गर्नुहोस् । चराको मिठो चिरबीर सुन्नुहोस् । हावाको संगीत सुन्नुहोस्, जनावरको भाषा बुझ्नुहोस्, मंगलध्वनि सुनेर कानलाई सिंचित गर्नुहोस् । रक्सी, चुरोट, सुर्ती, गुट्खा तथा ड्रग नखानुहोस् । यी पदार्थले शरीर र मनलाई धुजाधुजा पार्छन् । रोगसँग लड्ने क्षमता घटाउँछन् । गमला, करेसाबारी तथा खेतबारीमा काम गर्नुहोस् । तरकारी, फूल, फलफूल लगाउनुहोस् । किनभने माटोसँग खेल्दा असिम आनन्दबोध हुन्छ । सहयोगी, सकारात्मक तथा प्रिय व्यक्तिसँग नियमित सम्पर्कमा रहनुहोस् । हल्ला र भ्रमको पछि नलाग्नुहोस् । सही र आधिकारिक जानकारी लिने बानी गर्नुहोस् । हल्ला सबैभन्दा छिटो फैलिने सरुवा रोग हो । त्यसैले यसको सिकार नबन्नुहोस् । घरमा तथा मनमा यो समय पनि बितेर जानेछ, त्यसपछि हाम्रो जीवन पूर्ववत लयमा फर्किनेछ भन्ने मन्त्र राख्नुहोस् ।