रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । रौतहटमा थप २२ जना कोरोना संक्रमण पुष्टि भएको छ । २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेका छन् । संक्रमित सबै जना भारतबाट आएको र हाल सम्बन्धित नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए । सोमबार मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका मध्ये २६ जना संक्रमित पुष्टि भएका थिए । योसँगै रौतहटमा संक्रमित हुनेको सँख्या ६९ पुगेको छ ।
६ दिनदेखि स्वास्थ्यमन्त्री होम क्वारेन्टाइनमा
काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफूले भेटेर आएको विरामीलाई कोरोना पुष्टि भएसँगै ६ दिनदेखि होम क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालय स्रोतका अनुसार गत बिहिबारदेखि स्वास्थ्यमन्त्री ढकाल मन्त्रालय नआएको जनाएका छन् । मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलालाई बुधबार भेट्न ढकाल अस्पताल पुगेका थिए । कोरोनाको आशंका गरी बिहीबार स्वाब संकलन गरेसँगै ढकाल क्वारेन्टाइनमा गएको मन्त्रालयका अधिकारीहरूले बताए । ति महिलाको शनिबार रिपोर्ट पोजेटिभ आएको थियो । त्यस अगाडि सरुवारोग महाशाखाका चिकित्सकलाई कोरोना पुष्टि भएसँगै पनि मन्त्री ढकालको पिसिआर परीक्षण गरिएको थियो । मन्त्री ढकालको मंगलबार स्वाब संकलन गरिएको छ । बेलुकासम्म रिपोर्ट आएपछि साेही आधारमा मन्त्रीको आगामी सेडुल तय हुने अधिकारीहरूले बताए ।
२ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि
काठमाडौं । बारा जिल्लामा २ सैनिकसहित थप ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । मंगलबार बारा जिल्लाको पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ३ जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका २ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । २ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मंगलबार विहान सुर्खेतमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म नेपालमा ६ सय ९९ जनामा काेराेना पुष्टि भइसकेकाे छ ।