एकैदिन १ सय ५६ काेराेना संक्रमित थपिए, साेलुखुम्बुमा पनि देखियाे संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । यस्तै साेलुखुम्ब, दाेलखा, बझाङ र दार्चुला पहिलाेपल्ट संक्रमण देखिएकाे छ । याे सँगै संक्रमित जिल्ला ५१ पुगेकाे छ । देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्। याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितकाे संख्या १ हजार ४२ पुगेकाे छ ।
प्रदेश नं २ मा एकैदिन ७६ जनामा देखियाे सङ्क्रमण, संख्या ४०० पुग्यो
काठमाडाैं । प्रदेश नं २ मा बिहीबार बिहान ९ बजे थप ७६ जनामा काेराेना सङ्क्रमण भएकाे पुष्टि भएकाे छ । यससँगै यस प्रदेशमा कोभिड-१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० पुगेको छ । यसअघि बुधबारसम्म ३२४ मा सङ्क्रमण पुष्टि भएको थियो । गत मङ्गलबारसम्म यो सङ्ख्या २६८ रहेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ । पछिल्लोपटक सङ्क्रमण पुष्टि भएकाहरुमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका सात, सिरहाका छ र रौतहटका तीन रहेका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । पछिल्लो पुष्टिसँगै प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित रौतहटमा ११२ पुगेका छन् । त्यसैगरी पर्सामा ९५, बारामा ४६, धनुषामा ४२ र सर्लाहीमा ४० पुगेका छन् । त्यसैगरी सप्तरीमा २९, महोत्तरीमा २२ र सिरहामा १४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । अहिले प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती नाकामा घर फर्कनेको लाम बढ्दो छ । भारतमा सञ्चालन गरिएको रेल सेवासँगै घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको हो । प्रदेशमा सङ्क्रमण पुष्टि भएका धेरैजसो भारतबाट नै फर्केका पाइएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झा बताउँछन् । प्रदेशमा पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य तीव्र बनाइएको छ । बुधबारमात्र प्रदेशका आठ जिल्लामा गरी ७४३ को स्वाब सङ्कलन गरिएको छ । प्रदेशभित्र १० हजार ५८९ को स्वाब सङ्कलन भएको निर्देशनालयले जनाएको छ । यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको स्वाब सङ्कलन अन्य प्रदेशमा भएको जनाइएको छ । प्रदेशका आठै जिल्लाका क्वारेन्टिन केन्द्रमा आज पनि स्वाब सङ्कलन गरिँदैछ । स्वाब परीक्षण गरिएकामध्ये आज बिहान ९ बजेसम्म ४०० जनाको नतिजा पोजेटिभ आएको छ । प्राप्त नतिजामध्ये सात हजार ९१५ को नेगेटिभ र दुई हजार २७४ को रिपोर्ट आज साँझसम्म आइपुग्ने उनले जानकारी दिए । प्रदेशका आठै जिल्लामा गरी अहिले ३०१ क्वारेन्टिन केन्द्र बनाइएका छन् । सीमा क्षेत्रबाट मुलुक भित्रिने क्रम बाक्लिएसँगै जेठ दोस्रो सातामै १२० क्वारेन्टिन केन्द्र थपिएका हुन् । यसअघि १८१ केन्द्र सञ्चालित थिए । अहिले ३०१ केन्द्रमा १६ हजार ९१४ श्यया छन्, जसमा १३ हजार ४०२ शङ्कास्पद बसेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा होम क्वारेन्टिनमा चार हजार ९०३ रहेका उनले बताए । त्यसैगरी प्रदेशमा ६४५ आइसोलेसन श्यया तयार छन् । अहिले १८९ जना शङ्कास्पद आइसोलेसनमा छन् । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कने पनि ९७ जना पुगेका छन् । प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण सघन हुनसकेको छैन । यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । निर्देशनालयले भएको सामग्री र दक्ष जनशक्ति स्वाव सङ्कलनमा लगाइँदै आइएको जनाएको छ । रासस
प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ३२४ पुग्यो
काठमाडाैं । प्रदेश नं २मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । थपिएका नयाँ सङ्क्रमितमा रौतहटका ३५, बारामा एक महिलासहित आठ, सप्तरीमा एक महिलासहित ११ र सिरहाका दुई जना छन् । मुलुकभरिमा कोरोना सङ्क्रमणबाट १५५ निको भएको छ । सोमध्ये सबैभन्दा बढी प्रदेश नं २ बाट ९३ जना निको भएको जानकारी गराउँदै सचिव डा घिमिरेले डिस्चार्ज भएका मध्येबाट शिशुका साथै उच्च रक्तचाप, मधुमेहको बिरामी पनि सो सङ्क्रमणबाट निको भएर घर फर्केका हुन् । यस प्रदेशअन्तर्गत सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा एक महिलासहित १५, सिरहाको महेन्द्र गेनाइ अस्पतालको आइसोलेसनमा छ, महोत्तरीको जलेश्वर अस्पतालमा तीन, प्रादेशिक अस्पताल जनकपुरमा दुई महिलासहित २६ र सर्लाहीको अल्पमाई रामनारायण यादव नर्सिङ क्याम्पसको आइसोलेसनमा १३ जनाको उपचार भइरहेको छ । त्यस्तै रौतहटको गौरस्थित गौरी नर्सिङ क्याम्पसको आइसोलेसनमा तीन महिलासहित २८, रौतहटको राजपुर फरहदवा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा २५, रौतहटको देवाही गौनाही–१४ स्थित धरहरीको पोलिटेक्निक क्याम्पसको आइसोलेसनमा १४, बाराको कलैया अस्पतालमा एक महिलासहित ३९ र पर्साको गण्डक अस्पतालमा दुई महिलासहित नौ जनाको उपचार भइरहेको छ । बुधबार ७४३ जनाको स्वाब सङ्कलन प्रदेश नं २ मा बुधबार ७४३ जनाको स्वाब सङ्कलन गरिएको छ । यस प्रदेशमा अहिलेसम्म १० हजार ५८९ को स्वाब सङ्कलन गरिएकामा सात हजार ९१५ को रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार ३५० को रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ छ । अहिलेसम्म छ हजार २८७ को आरडिटी गर्दा २० जनाको रिपोर्ट पोजिटिभ आएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमित बढ्दै गइरहेको कारण क्वारेन्टिन र आइसोलेसन श्ययामा पनि व्यापकरूपमा वृद्धि गरिएको छ । प्रदेशमा ३०१ क्वारेन्टिनमा १६ हजार ९१४ श्ययाको व्यवस्था गरिएको छ । यतिखेर क्वारेन्टिनमा १३ हजार ४०२, होम क्वारेन्टिनमा चार हजार ९०३ र आइसोलेसनमा २०३ जना बसेका छन् । यस प्रदेशमा ६४५ आइसोलेसन श्यया रहेको छ । रासस