बागलुङमा एकैदिन ६ जनामा देखियाे कोरोना

काठमाडौं । बाग्लुङ जिल्लामा एकैदिन थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमको प्रवक्ता तथा निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड र तमनखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना देखिएको हो । उनका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० वर्षका दुई जना पुरुषमा कोरोना देखिएको हो । त्यस्तै, बाग्लुङ्ग जिल्ला तमनखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ वर्षका ४ जना पुरुषमा कोरोना भएको पुष्टि भएको हो । उनीहरु सबैलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउन तयारी भैरहेको प्रवक्ता शर्माले जानकारी दिए ।

मङ्गलबार भारतबाट आएका युवक आइसोलेसनमा भर्ना

काठमाडाैं । कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आएका बागलुङ नगरपालिका-१३ का २३ वर्षीय युवकमा उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि हिजै साँझ आइसोलेसनमा भर्ना गरिएको हो । जिल्ला भित्रिएपछि उनी बागलुङ नगरपालिका-१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका थिए । ‘ज्वरो देखिएको छ, अवस्था स्थिर छ, धेरै आत्तिनुपर्ने छैन’, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने । मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना जाँचका लागि स्वाबको नमूना सङ्कलन गरिएको र आजै पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइने उनको भनाइ छ । जाँचको रिपोर्ट बिहीबारसम्म आइपुग्ने जनाइएको छ । प्रयोगशालामा चाप बढेकाले रिपोर्ट आउन समय लाग्ने गरेको छ । रासस

सुनचाँदी महासंघले ईलाममा वितरण गर्यो २५ थान पीपीई तथा माक्स 

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले ईलाम जिल्लामा २० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) र ५ हजार थान माक्स वितरण गरेको छ । ईलामको सीडीओ तुलसी राम सेडाई र सशस्त्र पहरी उपरीक्षक रोशन श्रेष्ठलाई महासंघको १ नं प्रदेश कमिटीको संयोजक विशन शाक्य, कोषाध्यक्ष रूद्व बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा उक्त सहयोग हस्तान्तरण गरेका हुन् । उक्त पीपीई र माक्र्स ईलामका सरकारी अस्पताल र स्वास्थ चौकीहरूको फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सकहरूलाई प्रदान गर्ने सीडीओ तुलसी राम सेडाईले जनाएका छन् । महासंघको १ नं प्रदेश कमिटीका संयोजक बिशन शाक्यले महासंघले सामाजिक दायित्व अन्तर्गत यस अगाडि पनि धरान वि.पि कोईराला स्वास्थ प्रतिष्ठानको लागि धरान महानगरपालिकामा र मोरङ जिल्ला विराटनगरको कोशी अस्पतालको लागि माक्र्स र पीपीई प्रदान गरिएको जानकारी दिए ।