कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो
काठमाडौं । नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५ सय थान ज्याकेट वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ज्याकेट वितरण गरिएको हो । सङ्घका अध्यक्ष विनोद पौडेल, उपाध्यक्ष मानबहादुर साउद, महासचिव सुमन पाण्डेसहितको टोलीले सोमबार आयुर्वेद चिकित्सक सङ्घ नेपालका अध्यक्ष डा प्रकाश ज्ञवाली र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष देवराज लामिछानेलाई ज्याकेट हस्तान्तरण गरे । उत्पादक सङ्घका अध्यक्ष पौडेलले नेपालमा आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रभावकै कारण कोरोनाको सन्त्रास कम देखिएको उल्लेख गर्र्दै पछिल्ला दिनमा यसको महत्व बढ्दै गएको बताए । चिकित्सक सङ्घलका अध्यक्ष डा ज्ञवालीले वितरित ज्याकेटले औषधि उत्पादक, चिकित्सक, स्वास्थ्यकर्मी एक ठाउँमा छन् भन्ने सन्देश दिएको बताए । उनले भने, “हामी आयुर्वेदलाई स्वास्थ्य क्षेत्रको पहिलो चिकित्सकीय पद्धतिकै रूपमा विकास एवं विस्तार गर्न चाहन्छौँ, सरकारको माथिल्लो निकायमा रहेकाहरुले यो कुरो बुझिदिनुपर्छ ।” यतिबेला विश्व नै कोरोनाको महामारीबाट अक्रान्त छ । कोरोना कहरको यो समयमा एलोप्याथी अर्थात् आधुनिक मेडिसिन नै प्रयोग गर्नेहरु पनि आयुर्वेद तथा वैकल्पिक चिकित्समा फर्किसकेका छन् । यही बेला आयुर्वेद चिकित्सकले अधिकतमरूपमा आयुर्वेदलाई आम मानिसमाझ पुर्याउनुपर्ने बेला आएको चिकित्सकहरुको भनाइ थियो । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष लामिछानेले अब आयुर्वेद औषधि उत्पादक, व्यवसायी, चिकित्सक एवं स्वास्थ्यकर्मीले आयुर्वेदलाई साझा एजेण्डा बनाएर अगाडि बढ्नुपर्ने बताए । सरकारले भर्खरै आयुर्वेद ‘गाइडलाइन’ बनाएर आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रवद्र्धनमा ध्यान दिएको छ । नेपालीको रोेगप्रतिरोधात्मक क्षमता आयुर्वेद तथा जडीबुटीहरुकै कारण उच्च रहेको प्रमाणित भइसकेको आयुर्वेद चिकित्सकको भनाइ थियो । रासस
स्याङ्जा र पर्वतमा थप १० जनामा कोरोना, गण्डकी प्रदेशमा ३७ जना पुगे संक्रमित
काठमाडौं । स्याङ्जा र पर्वत जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वत जिल्लामा भने पहिलो पटक एकैचोटी ५ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार पर्वतको फलेवास नगरपालिकाका २० र ४० वर्षिय पुरुष, र महाशिला गाँउपालिका निवासी ३ जना १९, २०, २१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । त्यस्तै स्याङ्जाको चापाकोट नगरपालिका निवासी ४ जना २२, २६, ३२, ४० वर्षिय पुरुषहरु र विरुवा गाँउपालिकाका २० वर्षिय पुरुषसहित ५ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । हालसम्म ३ जना उपचारपछि निको भइ घरफर्किएका छन् ।
इजरायली प्रधानमन्त्री कार्यालयकाे कर्मचारीमा कोरोना
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले यो जानकारी दिएको हो । ७० वर्षीय प्रधानमन्त्री नेतन्याहु ती संक्रमित कर्मचारीको सम्पर्कमा थिए कि थिएनन् भन्ने जानकारी भने दिइएको छैन । प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा यसबारे अनुसन्धान जारी रहेको उल्लेख छ । त्यसपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुलाई आवश्यक दिशानिर्देशन गर्ने विज्ञप्तिमा उल्लेख छ । यसभन्दा अगाडी पनि प्रधानमन्त्री नेतन्याहुले दुई पटक कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । गत मार्च महिनामा उनका सल्लाहकारमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि अप्रिल महिनामा तत्कालीन स्वास्थ्यमन्त्रीमा कोरोना परीक्षण गरिएको थियो, यद्यपि उनको रिपोर्ट नेगेटिभ आएको थियो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इजरायलमा हालसम्म १७ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ८५ जनाको मृत्यु भएको छ ।