सङ्क्रमितकाे सङ्ख्या बढेसँगै ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

काठमाडाैं । मुलुकमा कोभिड-१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेलले सङ्क्रमित सङ्ख्या अनुमानभन्दा बढ्ने भएकाले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरिएको बताए । उनले सङ्क्रमितको सङ्ख्या सोचेकोभन्दा बढ्ने भएकाले तीन महिनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको बताए । हिजोसम्म एक हजार ५६७ जना सङ्क्रमित देखिएका थिए । उनका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि इपिडिमियोलाजिष्टको समूह गठन गरेर उक्त समूहले कति आवश्यक सामग्री चाहिन्छ भनेर पहिचान गर्नेछ । ‘सङ्क्रमितको सङ्ख्या हाम्रो हातमा रहेको छैन । केही दिनको तथ्याङ्क हेर्दा यो सङ्ख्या बढ्छ’, उनले भने, ‘त्यसैले पटकपटक किन्नुभन्दा पनि एकैपटक तीन महिनालाई पुग्ने ठूलो मात्रामा औषधि किन्ने तयारीमा छाैं ।’ उनका अनुसार पहिले एक हजार ५०० सङ्क्रमित हुने अनुमान गरेका थियौं । केही दिनअघि मात्र पाँच हजारको सङ्ख्यामा सङ्क्रमित हुने अनुमान गरिएको छ । दैनिक १५० जनाभन्दामाथि सङ्क्रमित देखिन थालेको र विदेशमा रहेका अलपत्रलाई नेपाल ल्याउने सरकारको निर्णयसँगै सङ्क्रमितको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । अहिले महाशाखासँग एक लाख ७० हजार व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), १४ लाख मास्क, एक लाख ८० हजार एन ९५ मास्क, २८ हजार भिटिएम र ४० हजार आरडिटी मौज्दात रहेको उनले बताए । रासस

थप २ सय २६ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । साेमबार २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २ सय २६ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् । झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए। याेसँगै नेपालमा काेराना संक्रमितकाे संख्या १७ सय ९८ पुगेकाे छ जसमा २ सय २१ जना निकाे भएर घर गईसकेका छन् र ८ जनाकाे मृत्‍यु भएकाे छ ।

सरकारी विद्यालयलाई निजीको जिम्मा दिएको बुझ्नु गलत होः अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री डा‍.युवराज खतिवडाले सरकारी विद्यालय व्यवस्थापनको जिम्मा नीजिलाई दिन खोजिएको कुरा गलत रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले  धेरै मानिसहरुमा सरकारी विद्यालय व्यवस्थापनको जिम्मा नीजिलाई दिन खोजिएको भन्ने बुझाई रहेकाेले त्याे गलत रहेकाे स्पष्ट पारे । बजेटमा सरकारी विद्यालयको शैक्षिक गुणस्तर नीजि विद्यालयले गर्ने उल्लेख भएपछि चौतर्फी विरोध भइरहेको बेलामा उनले नीजिलाई जिम्मेवारी दिन नखोजिएको बताएका हुन् । उनले नीजि क्षेत्रलाई हस्तान्तरण गर्न खोजिएको विषय हुँदै नभएको स्पष्ट पारे । सामाजिक उत्तरदायीत्वमार्फतको एक प्रतिशत रकम बाट नीजि विद्यालयले सरकारी विद्यालयमा सहयोग गर्न चाहेकाले स्विकार गरिएको मात्रै उनले बताए ।