बुटवल कोरोना अस्पतालबाट चार जना घर फर्किए, प्रदेशमा ७९ जना निको भए
काठमाडाैं । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट बुधबार एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना सङ्क्रमण निको भएको छ । कपिलवस्तुका तीन र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी निको भएर घर फर्किएको अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले जानकारी दिए । निको हुनेमा अर्घाखाँची तथा कपिलवस्तुका मायादेवी, बुद्धभूमि र यशोधरा गाउँपालिकाका छन् । उनीहरू सबै गत वैशाख २९ गते अस्पतालमा भर्ना भएको डा. थापाले बताए । यससँगै धागो कारखानाको अस्पतालबाट निको भएर घर फर्किनेको संख्या १९ पुगेको छ । रासस
केएमसी अस्पतालकाे आकस्मिकसहित सम्पूर्ण सेवा बन्द
काठमाडौं । काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालले प्रकाशन गरेको सूचनामा २ जना स्वास्थ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको जानकारी दिइएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिने व्यवहोरा रहेको थियो । अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भए । बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।
डडेल्धुरास्थित क्वारेन्टाइनमा रहेकी एक महिलाको मृत्यु
काठमाडौं । डडेल्धुराको क्वारेन्टाइनमा एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ की ३० वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। गए राती १ श्रीमनसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएको केही समय पछि उनको मृत्यु भएको जनाएका छन् । मृतक महिला ४ दिन अगाडि गौरीफन्टा नाका हुँदै भारतबाट आएकी हुन् । श्रीमान् र बच्चासहित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ ले निमार्ण गरेको असिग्राम आधारभूत विद्यालय रौनाकोटको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । घटनास्थलमा स्वाथ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरिएको र कोरोना परीक्षणको लागि उनको स्वाब संकलन गर्ने तयारी गरिएको जनाएको छ ।