भारतमा कोभिड–१९ बाट एकैदिनमा झण्डै २० हजार संक्रमित
काठमाडाैं । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा संक्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी अधिकारीहरुले आइतबार विहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ९ सय ६ जना सङ्क्रमित भएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ५ लाख २८ हजार ८ सय ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २ लाख ३ हजार ५१ पुगेको छ । त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भई घर फर्केकाहरुको सङ्ख्या तीन लाख ९ हजार ७ सय ३१ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसका कारण ४ सय १० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या १६ हजार ९५ पुगेको जनाइएको छ । कोरोना भाइरसबाट सवैभन्दा प्रभावित महाराष्ट्र प्रदेशमा मात्रै अहिलेसम्म १ लाख ५९ हजार १ सय ३३ जना सङ्क्रमित भएका छन् । त्यसैगरी केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा भने ८० हजार १ सय ८८ जना सङ्क्रमित भएको जनाइएको छ । रासस
प्रदेश नं २ मा थप २९ जना काेराेना सङ्क्रमित थपिए
काठमाडाैं । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना तथा पर्सा जिल्लामा दुई जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टिनमा १९, २२ र ३५ वर्षका पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । यसैगरी, महोत्तरीको सम्सी नगरपालिकामा १४ वर्ष देखि ३३ वर्षका चार जना पुरुष, औरही नगरपालिकाको क्वारेन्टिनमा एक वर्षकी एक बालिका र एकै वर्षका अर्का एक बालकसहित ३९ देखि ४५ वर्षका १० जना तथा लोहपट्टी नगरपालिकामा २० वर्षदेखि ३८ वर्षसम्मका १० जना पुरुषमा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी, पर्साको कामु प्यालेस होटलमा ३२ वर्षका पुरुष तथा ३२ वर्षका महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका सचिव डा घिमिरेले जानकारी दिए। पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकासहित सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार १९ जना पुगेको छ । जसमा २ सय महिला तथा ३ हजार १ सय १९ जना पुरुष रहेका छन् । पछिल्लो पटक सङ्क्रमितबाट घर परिवारमा पनि सरेकाले बालबालिकामा सङ्क्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले जानकारी दिए । सङ्क्रमितहरु घर परिवारको सम्पर्कमा आउनु चिन्ताको विषय भएको उनले उल्लेख गरे । प्रदेश नंं २ को विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचारमा रहेका २४ जना कोरोनाका बिरामीहरु सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ हजार ४ सय १५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रासस
कर्णालीका २ सय १४ सङ्क्रमितले जिते कोरोना
काठमाडौं । कर्णाली प्रदेशका २ सय १४ जना सङ्क्रमित कोरोना जितेर घर फेर्केका छन् । यसमा दैलेखबाट मात्रै २ सय ५ जनाले कोरोनामाथि विजय गरेका छन् । कोरोना जितेर फर्कनेहरुमा २ सय १ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १ सय २९ पुरुषगरी १ सय ३२ जनाले एकैदिन कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एकरएक जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको महाशाखाका प्रमुख डा.तिवारीले बताए । उनका अनुसार शनिबार २ सय १४ ले कोरोना जितेसँगै हालसम्म कर्णालीमा यो सङ्क्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या ९ सय ३४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको पिसिआर परीक्षणमा सुर्खेत पञ्चपुरीका १५ महिनाका बच्चासहित सात जनामा कोरोना पुष्टि भएको बताउँदै महाशाखा प्रमुख डा तिवारीले कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ४० पुगेको बताए ।