कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख २० हजार ९६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ८३ हजार ९ सय ५७ जनाको मृत्यु भइसकेको छ भने ५१ लाख ६९ हजार १ सय ४१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २४ हजार २ सय ७९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २४ लाख ६३ हजार १ सय ६८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४ लाख ७२ हजार ९ सय ८५ पुगेको छ भने अहिलेसम्म १४ हजार ९ सय ७ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १० हजार ७ सय २८ जना संक्रमित भएका छन् भने २४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ३ सय ३८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सल्यान अस्पताल बन्द

सल्यान । जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालमा आपत्कालीनबाहेक सबै सेवा बन्द गरिएको छ । जिल्लाका विभिन्न स्थानमा क्वारेन्टिन बसेकाहरुको स्वाब सङ्कलनमा संलग्न ४५ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सङ्क्रमण न्यूनीकरणका लागि सेवा बन्द गरिएको हो । यही असार ५ गते अस्पतालका सात स्वास्थ्यकर्मीको स्वाब संकलन गरी सुर्खेत पठाइएकामा एक स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रमुख डा अर्जुन बुढाले बताए ।

कर्णाली प्रदेशमा मात्रै काेराेना सङ्क्रमितको सङ्ख्या एक हजार नाघ्याे

काठमाडाैं । बुधबार कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै याे प्रदेशमा मात्रै काेराेना सङ्क्रमितको सङ्ख्या एक हजार ३३५ पुगेकाे छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २८ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । बुधबार थपिएका सङ्क्रमितमध्ये सुर्खेतका १३, जुम्लाका चार, दैलेखका तीन, जाजरकोट र कालीकोटका एक/एकजना रहेका छन् । यस्तै अन्य सङ्क्रमितहरुमा दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक/एक जना महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए । उनका अनुसार प्रतिष्ठान जुम्लामा सङ्क्रमित हुनेहरुमा चार जना स्वास्थ्यकर्मी रहेका छन् ।