कोरोना संक्रमणको उच्च जोखिममा बैंकका कर्मचारीहरु

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थामा संक्रमणको दर बढ्न थालेको छ । धेरै मान्छेको भीडभाड हुने भएकाले बैंक तथा वित्तीय संस्था सम्भावित बढी जोखिमका क्षेत्र हुन् । हालसम्मको तथ्याङ्क अनुसार पछिल्लो समय सबैभन्दा बढी संक्रमण स्वाथ्यकर्मीमा देखिएकोछ । त्यसपछि बढी संक्रमण देखिनेमा बैंकरहरु रहेका छन् । अत्यावश्यक सेवा अन्तर्गत पर्ने र निषेधाज्ञाको समयमा पनि खुल्ने भएकाले पनि उनीहरुमा कोरोना संक्रमणको जोखिम रहेको र संक्रमणको दर पनि बढ्दै गएको हो । ग्राहकहरुको धेरै भीडभाड हुने र बैंकका कर्मचारीलाई नै संक्रमण देखिन थालेपछि पछिल्लो समय सर्वसाधारणमा त्रास फैलिँदै गएको छ । पहिले उपत्यका बाहिरका बैंकका कर्मचारीमा कोरोना संक्रमणको दर उच्च रहेको थियो भने हाल उपत्यका भित्रका बैंकका कर्मचारीहरुमा संक्रमणको जोखिम बढ्दै गएको छ । तनहुँको बन्दीपुरस्थित बैंकमा कार्यरत एकै घरका दुई बैंकर श्रीमान् श्रीमतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । तनहुँमा गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा कार्यरत श्रीमानमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैंकलाई एक हप्ताको लागि कार्यालय बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै, नवलपुरको प्रभु बैंक शाखाका एक कर्मचारी पनि कोरोनाबाट संक्रमित भएको थिए । सिद्धार्थ बैंकको पोखरा लेकसाइड शाखाका एक कर्मचारीमा संक्रमण देखिएर उक्त शाखा एक हप्तासम्मको लागि सिल गरिएको थियो । त्यस्तै, उक्त संक्रमित व्यक्तिकै एक परिवार जो तालचोकको राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी थिए, उनमा पनि संक्रमण पुष्टि भएको थियो । बर्दियाको गुलरिया र बाँसगढी नगरपालिका तथा बढैयाताल गाउँपालिका गरेर चार बैंकका ९ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ । गुलरियाको एक बैंकका २ जना, बाँसगढीको २ वटा बैंकमा १ र ५ जना तथा बढैयाताल गाउँपालिकाको एक बैंकमा १ जना कर्मचारी कोरोनाबाट संक्रमित भएका थिए । त्यस्तै, उपत्यका पनि विभिन्न बैंकका विभिन्न शाखाका कर्मचारीहरु कोरोनाबाट संक्रमित भएका छन् । थापाथलीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्राइम बैंकको केन्द्रीय कार्यालयमा कार्यरत करिब २० जना कर्मचारी पनि कोरोनाबाट संक्रमित भएका थिए । लुम्बिनी विकास बैंकको मुख्य कार्यालयमा पनि संक्रमण देखिएको छ । बैंकका डेपुटी सीईओ उमेश रेग्मीका अनुसार उक्त कार्यालयका सबै कर्मचारी आइसोलेसनमा रहेका छन् । त्यस्तै, बैंक अफ काठमाण्डूका ३ वटा शाखाका स्टाफलाई संक्रमण देखिएको छ । उता एभरेष्ट बैंकको मुख्य कार्यालयमा पनि संक्रमण देखिएको थियो । उक्त कार्यालयमा कार्यरत दुई कर्मचारीका संक्रमण पुष्टि भएसँगै बैंकले दुई दिनसम्म उक्त कार्यालय बन्द गरेको थियो । त्यस्तै, सनराइज बैंकको गोंगबु शाखाका १० जना कार्यरत कर्मचारी मध्ये ६ जना कर्मचारीमा कोभिड १९ पोजेटिभ देखिएको थियो । यी त केही उदाहरण मात्र हुन् । हालसम्म दर्जनौंभन्दा बढी बैंक तथा वित्तीय संस्थाका कर्मचारी कोरोनाबाट संक्रमित भइसेकेका छन् । हालसम्म कुन बैंकका कति कर्मचारीमा संक्रमण देखियो भन्ने तथ्याङ्क नरहेको नेपाल बैंकर्स संघका सीईओ अनिल शर्माले बताए । ‘तथ्याङ्क राख्ने कि भन्ने प्लान भइरहेको थियो । तर अहिलेसम्म राखिएको छैन । दिनका दिन चेञ्ज भइरहन्छ । डेल्ली रिर्पोटिङ साध्य नहुने भएर अपडेट राख्नै गाह्रो । त्यसैले राखेका छैनौं’, उनले विकासन्युसँग भने । यससँगै नेपाल राष्ट्र बैंकका कर्मचारीमा पनि संक्रमण भएको थियो । संक्रमण पुष्टि भएपछि बैंकले अत्यावश्यक कर्मचारीलाई मात्र कार्यालय बोलाएर अन्य कर्मचारीलाई घरबाटै काम गर्नेगरी कार्ययोजना बनाएको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि होम आइसोलेशनमा बसेका थिए । उनीसँग सम्पर्कमा आएका एक इञ्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी स्वेच्छिक रूपमा आफूआइसोलेशनमा बसेका हुन् । कोरोना संक्रमणको दर बढेसँगै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई पनि आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गरी वित्तीय सेवा दिन र घरबाट काम गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । ‘कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने । संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक टे«सिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले बेहोर्नु पर्नेछ’ परिपत्रमा भनिएको थियो । दुई सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी कार्यसम्पादन गराउन समेत निर्देशन दिएको थियो । राष्ट्र बैंकले अहिले डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन निर्देश गरेको थियो । इलाका बाहिर खटिएका कर्मचारी सस्थामा फर्कदा पीसीआर परीक्षण गराई रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैंक तथा वित्तीय संस्थाले गर्नुपर्नेछ । बाँकी कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाई सो अवधिको हाजिरी हुने व्यवस्था गर्दै पूरा तलब दिन निर्देश गराएको थियो । त्यसपछि बैंकर्स संघले पनि साधारण कामका लागि पनि बैंक नआई डिजिटल माध्यमलाई नै बढी प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको थियो । बैंकिङ कारोबार गर्नका लागि डिजिटल बैंकिङ्गको माध्यमबाट प्रायः जसो सबै प्रकारका दैनिक कारोबार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्गसेवाको अझ बढी प्रयोग गर्नुपर्ने संघले बताउँदै आएको छ । यस्तै, डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राविधिक समस्या भएमा, पासवर्ड बिर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शाखामा फोन मार्फत् सम्पर्क गर्न समेत संघले अनुरोध गरेको छ । ‘हामीले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड भित्रै बसेर काम गरिरहेका छौं । सरकारको प्रोटोकल हुन्छ । त्यसबाहेक हामीले ग्राहकसँग डिल गर्दा गर्नुपर्ने प्रोटोकल फलो गरेर काम गरिरहेका छौं । बाँकी इन्टर्नल गाइडलाइन्स तयार गरेका छौं । हाल त्यसरी नै काम गरिरहेका छौं’, संघका सीईओ शर्मा बताउँछन् ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. रविन खड्का नियुक्त

काठमाडाैं । कर्णाली प्रदेशको सामाजिक विकाश मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. रविन खड्का नियुक्त भएका छन्। प्रदेश सरकारले सोमबार डा. खड्कालाई निर्देशकको जिम्मेवारी दिएको हो। चिकित्सक संघका अध्यक्ष समेत रहेका उनी यसअघि भरतपुर अस्पताल र कर्णाली प्रादेशिक अस्पतालका निर्देशक समेत भइसकेका छन्। याेसँगैं यसअघि उक्त स्थानमा रहेकी डा. रिता जोशी भण्डारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।  

अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका ३ सङ्क्रमितको मृत्यु

चितवन । जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरु तीनै जनामा कोरोना सङ्क्रमण देखिएको छ । राति अबेर नतिजा आएको थियो । भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो । बिहान ७ बजे अस्पताल ल्याइपुर्याएकी खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आकस्मिक कक्षमै मृत्यु भएको हो । दुवै मेडिकल कलेज पुर्याए पनि भर्ना नलिएपछि ती महिलालाई भरतपुर अस्पताल ल्याइएको उनका आफन्तले बताएको तिवारीले जानकारी दिए । त्यस्तै भरतपुर–११ का ६५ वर्षीय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल पठाइएको थियो । दिउँसो २ः३० बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुगेका उनको ३ बजे मृत्यु भएको तिवारीले बताए । उनले भने, “चितवन अस्पतालले एक्सरे गरेपछि पिसीआर परीक्षण गर्नुपर्छ भनेर पठाएको रहेछ । हेर्दाहेर्दै बिरामीको मृत्यु भएको हो ।” भरतपुर–११ कै अर्का एक १८ वर्षकी युवती सबै परीक्षणपछि नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो । तिवारीका अनुसार दिउँसो १ बजेतिर भरतपुर अस्पताल ल्याएकामा उनको ३ बजे मृत्यु भएको हो । गम्भीर बिरामी सामुदायिक अस्पतालमा सिटिस्क्यानदेखि सबै परीक्षण गरेर सघन उपचार कक्ष खाली नभएको भन्दै बिरामीका आफन्तले मेकिडल कलेजमा लगेको भए पनि सघन उपचार कक्ष नभएको भनेर फिर्ता गरेपछि सरकारी अस्पताल आइपुगेको तिवारी बताउँछन् । तिवारीले भने, “हाम्रो सघन उपचार कक्ष खाली छैन । खाली हुनेले जहाँ खाली छ त्यहाँ उपचार गरिदिनुपर्यो ।” भरतपुर अस्पतालका २० वटा सघन उपचार कक्ष सबै बिरामीले भरिएको छ । आइतबार राति पनि एक जना बिरामीलाई यहाँका अस्पताल डुलाउँदा डुलाउँदै कसैले भर्ना नलिएपछि बिहान मृत्यु भएको थियो । चिकित्सक सङ्घ चितवनका पूर्वअध्यक्ष प्रा डा कृष्ण पौडेल अहिले अस्पतालहरुले भर्ना नलिँदा बिारमीले उपचार नपाएको स्वीकार गर्छन् । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने बिरामी आकस्मिक कक्षमा आएपछि समन्वय गरेर नपठाउँदा समस्या भएको बताउँछन् । आफूले कलेजको खर्चमा एप तयार गरिदिने बताएको भन्दै उनले त्यसमा शय्या खाली भए/नभएको हेरेर एक अस्पतालबाट अर्कोमा पठाएमा समस्या नहुने उनको भनाइ छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सिफारिसदेखि उपचारसम्ममा समस्या भएको स्वीकार गर्छन् । सरकारी संयन्त्रले सरकारी अस्पतालमा बिरामी पठाउनुपर्ने भन्दै बिरामी बोक्ने एम्बुलेन्सले सघन उपचार कक्ष र भेन्टिलेटर भन्दै हिँड्दा समस्या उत्पन्न भएको उनको बुझाइ छ । अस्पतालको आकस्मिक कक्षमा आएपछि के–कस्तो सेवा बिरामीलाई चाहिने हो सम्बन्धित अस्पतालले समन्वय गर्नुपर्ने उनको भनाइ छ । कोरोना सङ्क्रमणका कारण सघन उपचार कक्ष निर्मलीकरण, चिकित्सक, स्वास्थ्यकर्मी, आइसोलेसन राख्नुपर्नेजस्ता कारण क्षमता घटेर पनि समस्या देखिएको अधिकारी बताउँछन् । । जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीले उपचार नपाउने गुनासो बढेपछि सोमबार सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालले बिरामी प्रेषण गर्दा पठाउन लागिएको अस्पतालमा शय्या खाली भए/नभएको यकिन गरेर मात्र पठाउनुपर्ने, सघन उपचार कक्ष खाली नभएको अवस्थामा बिरामी आकस्मिक कक्षमा भर्ना गरेर उपचार प्रक्रिया शुरु गरेर मात्र अन्यत्र पठाउनुपर्ने भएमा सम्बन्धित अस्पतालले नै समन्वय गर्नुपर्ने बताउँछन् । प्रशासनले सूचनामा एम्बुलेन्स चालकले व्यक्तिगत स्वार्थका लागि अस्पतालहरु घुमाएमा कारवाही गर्ने, सबै अस्पतालको सघन उपचार कक्ष र भेन्टिलेटर भरिएको र खाली रहेको सङ्ख्या दैनिकरूपमा बेलुका ५ बजे सार्वजनिक गरी जिल्ला प्रशासन पठाउनुपर्ने उल्लेख छ । त्यसैगरी सञ्चारमाध्यमले दुवै पक्षको धारणा र भरपर्दो प्रमाणसहित सूचना सम्प्रेषण गर्नुपर्ने सूचनामा जनाइएको छ । सूचनामा भनिएको छ, “सङ्कटको घडीमा उपचार गर्ने अस्पताल तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने गरी समाचार सम्प्रेषण नगराैँ ।” स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीका अनुसार जिल्लामा ५० शय्यामाथिका १९ वटा अस्पताल छन् । दुई ठूला मेडिकल कलेजसहित सबै अस्पतालमा गरेर १७६ सघन उपचार कक्ष र ५० भेन्टिलेटर शय्या छन् । आइसोलेसन शय्या सङ्ख्या झण्डै ३०० रहेका छन् । केही एनआइसीयू र पीआइसीयू छन् । समग्र जिल्लामा ५०० चिकित्सक, एक हजार ५०० नर्स, करिब ४०० पारामेडिक्स र ल्याबमा काम गर्ने जनशक्ति ३५० हाराहारीमा छ तर जटिल उपचारका लागि अहिले भएको जनशक्ति कम भएको तिवारी बताउँछन् ।  उनका अनुसार करिब २०० आइसीयू र ८० भेन्टिलेटर यहाँको न्यूनतम आवश्यकता हो । रासस