मदिरा खाए काेरोना निको हुन्छ भन्ने अफवा फैलिएपछि…
डोटी । कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए काेरोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो । यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरमा मदिरा खपत बढेको स्थानीयवासी बताउँछन् । कोरोनाबाट जोगिन भन्दै मदिरा नपिउनेहरुले पनि हिजोआज मदिरा पिउन थालेको केआइसिंह गाउँपालिका–६ सेलेनाका स्थानीयवासी रमेशबहादुर बलायरले बताए । उनले भने, “मदिरा पिए कोरोना लाग्दैन भन्ने भ्रम चलाएका कारण गाउँमा मदिरा पिउने बढेका छन्, जसले गर्दा समाजमा अन्य घटनासमेत घट्न थालेका छन् ।” मदिरा नियन्त्रणका लागि यहाँको स्थानीय प्रहरी प्रशासनले थुप्रै प्रयास गरेपनि सफल हुन सकेको छैन । मदिराकै कारण जिल्लामा यो आर्थिक वर्षमा मात्रै एक दजर्न बढी घटना भएको प्रहरीको तथ्याङ्कमा छ । यहाँको स्थानीय प्रहरी प्रशासनले गाउँमा मदिराको बिक्रीवितरण तथा ओसारपसारलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेपनि त्यो कागजमा मात्रै सिमित भएको छ भने गाउँमा झनै समस्या उत्पन्न हुन थालेको छ । गाउँघरमा हुने अधिकांश घटनाको प्रमुख कारण मदिरा भएपनि यहाँका गाउँमा बिक्रीवितरण हुने मदिरा रोक्न खासै कसैले पहल नगरेको स्थानीयको आरोप छ । मदिरा नियन्त्रणका लागि गाउँगाउँमा आमा समूह गठन भएपनि लुकी छिपी तथा कोरोनाबाट बच्न भन्दै मदिरा पिउनेहरु बढेका कारण रोक्न र नियन्त्रण गर्न नसकिएको ती समूहमा आबद्ध महिला बताउँछन् । जिल्ला सदरमुकामलगायत यहाँका ग्रामीण क्षेत्रमा बिना इजाजत खुलेआम रुपमा नियम बिपरित मदिरा बिक्रीवितरण भई रहेको दिपायलका स्थानीयवासी उत्तम द्धारीयाले बताए । उनले भने, “बजारदेखि गाउँसम्म बिना इजाजत खुलेआम मदिरा बिक्रीवितरण भइरहेको छ, रोक्नको साटो नेता नै पक्राउ परेका छुटाउन खोज्नछन्, त्यसले झनै चुनौती थपिएको छ ।” मदिरा सेवनका कारण ठूलै घटना नभएपनि सामान्य घटनाहरु दैनिक जसो गाउँमा घट्न थालेको आदर्श गाउँपालिकाका स्थानीय योगेन्द्रबहादुर बोहराले बताए । उनले भने, “प्रहरीको सामुन्ने कसैले पनि मदिरा बेच्दैनन, प्रहरी नभएको बेला मदिरा बिक्री भइरहेको छ ।” यहाँका ग्रामीण क्षेत्रमा राजनैतिक दलका नेताको आडमा खुलेआम रुपमा मदिरा ओसारपसार हुने तथा बिक्रीवितरण हुने गरेको स्थानीयवासीको आरोप छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार यो आर्थिक वर्षमा मदिरा सेवनसँग सम्बन्धित एक दर्जन बढी उजुरी परेका छन् । डोटीमा स्थानीय प्रशासनले मदिरा बिक्री गर्न इजाजत प्राप्त व्यापारीलाई बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र मदिरा बिक्रीवितरण गर्न पाइने नियम लागु गरेपनि यहाँ अन्य समयमा समेत मदिरा कारोबार भइरहेको पाईएको छ । जिल्ला सदरमुकाममा मदिरा व्यवस्थित हुन नसकेपछि जिल्लाको ग्रामीण भेगमा खुलेआम अवैध मदिरा कारोबार हुने गरेको छ । बजारका गोदामबाट दैनिक जसो मदिरा गाउँघरमा बिक्रिवितरणका लागि जाने गरेपनि यहाँको प्रहरी प्रशासनले रोक्नेभन्दा पनि व्यापारीसँगको मिलेमतोमा गाउँ जान दिने गरेको स्थानीयको आरोप छ । उता जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख तथा डिएसपी इन्द्रबहादुर मल्लले गाउँमा मदिरा कारोवार तथा बेचबिखन बन्देज गरेको दाबी गरे । उनले भने, “अबैध मदिरा कारोवारीलाई कारवाही सुरु गरेका छौँ, बन्द भन्नाले पूर्णरुपमा निर्मूल पार्न सकेका छैनाैँ, पहिलेभन्दा अहिले मदिरा बेचबिखन नियन्त्रणमा आएको छ, अबैध मदिरा बन्द गर्नमा प्रहरी सक्रिय रुपमा लागेको छ ।” रासस
प्लाज्मा थेरापीका लागि काेराेना निकाे भएकाहरुलाई रक्तदान गर्न अपिल
भरतपुर । भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ । कोरोना सङ्क्रमणबाट निको भएकाले गम्भीर सङ्क्रमितहरुका लागि रक्तदान गर्न अपिल गरिएको हो । कोभिड सङ्क्रमित भई आइसोलेसनबाट निको भएकाले १४ दिनपछि रगत दिन सक्छन् । अस्पतालले प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचारका लागि तयारी गरिसकेको छ । कोरोनाभाइरस सङ्क्रमित केही व्यक्ति उक्त विधिबाट उपचार गराई निको भएपछि यो विधिबाट उपचार गर्न देशका विभिन्न अस्पताललाई सरकारले अनुमती दिएको छ । भरतपुर अस्पतालका फिजिसियन डा. कल्याण सापकोटाले जटिल प्रकारका सङ्क्रमितको सङ्ख्या बढिरहेकाले उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने भएकाले रक्तदानका लागि अनुरोध गरिएको बताए । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोनाभाइरसबाट हुने मृत्युदर कम हुने डा सापकोटाले बताए । प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो । अठार वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना सङ्क्रमण मुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो । रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा हो । छुट्याइएको प्लाज्मा सङ्क्रमितलाई दिने विधि प्लाज्मा थेरापी भएकाले प्लाज्मा थेरापीका लागि रगत दिँदा र लिँदा दुवैलाई कुनै असर नपर्ने बरु उपचारमा सहयोग पुग्ने डा. सापकोटा बताउँछन् । क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले दाताहरु रक्तदानका लागि इच्छुक रहेको बताए । उनले आज मात्रै माडीका ३ जनाले रक्तदान गर्ने जानकारी दिए । भरतपुर अस्पतालले डा सापकोटाको संयोजकत्वमा प्लाज्मा थेरापीका लागि समितिसमेत बनाएर काम गरिरहेको छ । आवश्यकता र रगतको मौज्दातको आधारमा रगत सङ्कलन गरिने अस्पतालमा प्लाज्मा थेरापीका लागि सम्पर्क व्यक्ति गोपालप्रसाद पौडेलले जानकारी दिए ।
बिरामीले उपचार नपाएपछि प्रशासनले अस्पतालमा थाल्याे अनुगमन
चितवन । जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएर मृत्यु भएको समाचार बाहिर आएसँगै स्थानीय प्रशासनले अनुगमन थालेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैयाको अवस्था, दक्ष जनशक्तिको अवस्था, संस्थाले दिँदै आएको सेवा, कोरोना सङ्क्रमितको अवस्था, सङ्क्रमितका लागि छुट्याईएको बेड लगायतका विषयमा अनुगमन गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माको नेतृत्वमा भरतपुर क्षेत्रका ६ निजी अस्पतालको अनुगमन गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार दुईवटा मेडिकल कलेज, मनकामना अस्पताल, नारायणी सामुदायिक हस्पिटल, सिटी अस्पताल लगायतमा अनुगमन गरेको हो । शर्माले अस्पतालमा आएका बिरामीले उपचार नपाएको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको बताए । अनुगमन नियमित रुपमा प्रत्यक्ष र अप्रत्यक्ष गरिने बताइएको छ । केही दिन अघि जिल्लाका निजी अस्पतालले बिरामी भर्ना नलिएपछि भरतपुर अस्पतालमा पुगेको केही समयमा तीन जनाको एकै दिन मृत्यु भएको थियो । कोरोना सङ्क्रमणको समयमा अस्पतालले बिरामीलाई उपचार नगर्नु भनेको जिम्मेवारीबाट पन्छिनु भएकाले त्यस्तो हुन नदिनका लागि अनुगमन गरिएको उनको भनाई थियो । रासस