कोरोनाबाट भैरहवामा एक ६५ वर्षीय महिलाको मृत्यु
भरैहवा । कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको गए राति मृत्यु भएको हो । कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई आइसीयु आवश्यक रहेकाले तीन दिनअघि भीम अस्पतालमा भर्ना गरी उपचार भइरहेकामा गए राति मृत्यु भएको डा पोखरेलले जानकारी दिए । हाल भीम अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । डा पोखरेलका अनुसार आइसीयुमा चार र सामन्य वार्डमा १७ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।
कोरोना निकाे भएपछि मात्रै क्यान्सरको उपचार हुने
भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले कोरोना परीक्षणपछि मात्र उपचार गरिने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले कोरोना सङ्क्रमितलाई अन्य बिरामीसँग राखेर उपचार गरेको खण्डमा सो बिरामीबाट अन्य बिरामी र कर्मचारीलाई सर्ने र अवस्था भयावह हुनसक्ने बताए । कोरोनाको उपचार दुई हप्तामा निको हुनसक्ने अवस्थामा निको भइसकेपछि मात्र क्यान्सरको उपचार शुरु गर्दा फरक नपर्ने गौतमले जानकारी दिए । “क्यान्सरका बिरामीलाई कोरोना सङ्क्रमितसँग उपचार गर्दा मृत्युदरमा २५ देखि ३५ प्रतिशतसम्म बढ्ने खतरा हुन्छ, त्यसकारण पनि क्यान्सर उपचारपूर्व कोरोना अनिवार्य परीक्षण गराउनुपर्छ”, उनले भने । कोरोना प्रमाणित भएका बिरामीलाई कोरोना निको भइसकेपछि मात्रै उपचार गरिने गौतमले बताए । अस्पतालले कोरोनाको सङ्क्रमणबाट जोगाउन एक बिरामी एक कुरुवाको नियम अनिवार्य गरेको छ । अस्पतालका आकस्मिक र बहिरङ्ग सेवा नियमित पूर्ववतरूपमा सञ्चालन भइरहेको निर्देशक गौतमले जानकारी दिए। उनले पिसीआर परीक्षण ल्याब केही दिनभित्र सञ्चालनमा ल्याइने तयारी भइरहेको बताए । क्यान्सर अस्पतालका मात्रै ४२ स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड–१९ पुष्टि भएको छ । तीमध्ये सात जना निको भइसकेका छन् । सामान्य अवस्थामा दैनिक ७०० देखि ८०० बिरामीले उपचार गर्ने क्यान्सर अस्पतालमा अहिले एक चौथाइ बिरामी मात्र उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । रासस
मानसिक रोग बल्झँदै र नयाँ बिरामी थपिँदै
देशभर कोभिड-१९ को सङ्क्रमणसँगै पहिलेदेखि मानसिक रोगको औषधि खाइरहेकालाई रोग बल्झन थालेको छ भने र कतिपय नयाँ बिरामीसमेत थपिन थालेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिडका कारण एन्जाएटी (छटपटी), स्टेस डिसअर्डरलगायत मानसिक समस्या बढेको छ । बालबालिकामा झिँझो मान्ने, जुनसुकै समयमा इन्टरनेट प्रयोग गर्न नपाउँदा लतको समस्या देखिएको छ । धेरैमा मानसिक समस्या बढ्दै गए पनि यातायातको अभावका कारण धेरै अस्पतालसम्म आउन नसकेको हुनसक्ने पाटनस्थित मानसिक अस्पतालका जनाएको छ । कोभिड-१९ भनेको के हो र यसको असर कतिसम्म हुन्छ भन्ने विषयमा सञ्चारमाध्यममा फरकफरक कुरा आइरहँदा नागरिकमा अन्योल छाएको अस्पतालमा प्रमुख कन्सल्टेन्ट साइक्याटिक्स डा अनन्तप्रसाद अधिकारीले बताए । उनका अनुसार नेपाल सरकारले औपचारिक रुपमा सङ्क्रमितको सङ्ख्या बढीरहेकाले सर्तक रहन भनिरहेको छ । कतिपय विज्ञले भने यो रोग भनेको केही होइन भन्ने किसिमका धारणा राख्दा धेरै व्यक्तिमा अन्योल भएको उहाँको भनाइ छ । उनले भने, “मानिसलाई दिगभ्रमित हुँदा समस्या अझै बढीरहेको छ ।” मानसिक रोगको केन्दीय अस्पतालका रुपमा यस अस्पतालमा बिरामीहरु काठमाडौं उपत्यका मात्रै नभएर अन्य जिल्लाबाट आउने गरेको भए पनि जारी निषेधाज्ञाका कारण अहिले ‘फलो अप’ का लागि आउन सकेका छैनन् । समयमा अस्पताल आउन नसकेका र औषधि नपाएका व्यक्तिलाई रोग बल्झने खतरा भएको उनको भनाइ छ । उनले भने, “अस्पताल आउन नसक्दा नयाँ व्यक्तिमा रोग देखिने र पुरानालाई बल्झने दुवै जोखिम छ ।” मानसिक रोगको जोखिम सबै वर्ग, उमर र समूहमा रहको डा. अधिकारीले बताए। खासगरी पहिलेदेखि नै मानसिक रोग भएकाले अहिले औषधि खाइरहेका व्यक्ति, सहने शक्ति कम भएका व्यक्ति र मादक पदार्थको बढी प्रयोग गर्ने व्यक्ति बढी जोखिममा हुने उनको भनाइ छ । बालबालिकामा पनि मानसिक रोगको जोखिम रहेको पाइन्छ । विद्यालय बन्द भएका कारण लामो समयदेखि घर बसीरहेकाले उनीहरुमा इन्टरनेटको बढी प्रयोग गर्ने र नपाउँदा झर्कने गरेका छन् । उनले भने, “कतिपय बालबालिकामा टाउको दुख्ने, निद्रा गडबढ हुने समस्या पनि पाइएको छ ।” मानसिक रोग लाग्ने विभिन्न कारणमध्ये वातावरणीय प्रभाव पनि एक हो । कोभिड-१९ का कारण हुने समस्यालाई यसै किसिमको समस्या मानिन्छ । अझै पनि मानसिक स्वास्थ्यलाई सबै क्षेत्रले कम प्राथमिकतामा राखेको पाइन्छ । केही प्रदेशमा मात्रै सामाजिक विकास मन्त्रालयले मनोचिकित्सक चाहिन्छ भन्ने बुझेको पाइन्छ । देशभरमा नै मनोचिकित्सक जम्मा २०० भन्दा कम भएकाले तल्लो तहसम्म पुग्न कठी भएको उनको भनाइ छ । कतिपय स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृतलाई मानसिक रोगसम्बन्धी आधारभूत तालिम दिएमा मुख्य समस्या पहिचान हुनसक्ने उनको भनाइ छ । अबको केही समयसम्म सङ्क्रमणको जोखिम भएकाले त्यसरी मात्रै स्थानीय स्तरसम्म उपचार सम्भव भएको उनले औंल्याए । उनले भने, “अहिलेको अवस्थामा बिरामी काठमाडौंसम्म आउन कठीन भएकाले त्यहीका स्वास्थ्य संस्थामार्फत सेवा दिनुपर्छ ।” कोभिडको सङ्क्रमण अझै लामो समयसम्म जानसक्ने भएकाले मानसिक रोगको उपचारका लागि विकल्पका बारेमा सोच्न जरुरी छ । टेलिमेडिसिन वा कार्यरत मेडिकल अधिकृतलाई दिइने तालिम बिकल्प हुनसक्ने डा. अधिकारीको भनाइ छ । अस्पतालले अहिले बिरामी वा उनीहरुका आफन्तले टेलिफोन गर्दा सुझाव दिइरहेका छन् । मानसिक रोगको औषधि मनोचिकित्सकको पूर्जा नभइ नदिने भएकाले आफूले टेलिफोनबाट पनि समन्वय गरिरहेको उनले बताए । सम्पर्कमा आएका बिरामीलाई यसो गर्नुहोस् भनेपनि सम्पर्कमा नआउने धेरै भएको उनले बताए । कतिपय बिरामी र उनीहरुको आफन्तले मानसिक रोगको यस अघि खाँदै आएको औषधि सकिएको र औषधि पसलमा नपाइएको बताउने गरेका छन् । यसको औषधि धेरै जिल्ला जिल्लामा पुग्न नसकेका कारण धेरैको औषधि छुटेर समस्या थपिएको हुनसक्छ । अस्पतालले सबै किसिमका सेवा भने जारी राखेको छ । रासस