नुवाकाेटमा अग्रपङ्क्तिमा खटिएकाकाे खोप लगाउने संख्या लक्ष्यभन्दा आधा कम

त्रिशूली । नुवाकोटमा अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिशील्ड)को पहिलो डोज लगाएका छन् । जिल्लामा हालसम्म दुई समूहमा सञ्चालन गरिएको खोप कार्यक्रममा आठ हजार ७९ जनाले कोरोना रोग विरुद्ध खोप लगाउन नाम सूचीकृत गरे पनि कार्यक्रम सम्पन्न हुदाँसम्म तीन हजार ८८६ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए । दोस्रो चरणको खोप कार्यक्रम सोमबार सम्पन्न भएको छ । फागुन २ देखि शुरु भएको दोस्रो चरणको लागि ६ गतेसम्म तोकिएको भए पनि लक्ष्यभन्दा निकै कमले सहभागिता जनाएसँगैँ ८ गतेसम्म समय थप गरिएको थियो । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार नाम दर्ता गराएको लक्ष्यभन्दा आधाभन्दा कमले मात्रै खोप लगाउनुलाई खोप लगाउँदा तोकिएको मापदण्ड (दीर्घरोग सम्बन्धी औषधि सेवनकर्ता, कोरोनाको सक्रिय सङ्क्रमित, गर्भवती तथा स्तनपान गराउँदै आएका सुत्केरीलाई नहुने) अनुसार नाम दर्ता गराउने धेरै र सेवा लिनेको सङ्ख्या कम देखिएको हुनसक्ने अनुमान छ । यद्यपि खोप लगाएपछि देखिने शारीरिक प्रतिक्र्रिया र खोपप्रतिको विश्वाससमेत कम भएर लगाउनेको सङ्ख्या लक्ष्यभन्दा कम भएको हुनसक्ने स्वास्थ्य कार्यालयको भनाइ छ । नुवाकोटमा पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि र दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि चलाइएको थियो । सरकारी कर्मचारी, स्थानीयतहका जनप्रतिनिधि, पत्रकार, जिल्लास्थित बैंकको शाखा कार्यालय र सहकारी तथा वित्तीय संस्थाका कर्मचारीसमेत गरेर पाँच हजार ६५८ जनाले खोप लगाउन नाम सूचीकृत गरे पनि सो अवधिमा दुई हजार ८१ जनाले खोप लगाएका थिए । त्यसअघि पहिलो चरणको खोप कार्यक्रममा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंयसेविका, एम्बुलेन्स र शवबाहनका चालक, सरसफाइकर्मीलाई लक्षित गरेर चलाइएको खोप कार्यक्रममा दुई हजार ४२१ जनालाई खोप लगाउने लक्ष्य राखे पनि एक हजार ५७६ जनाले मात्रै खोप लगाएका थिए । दुवै समूहमा छुट भएकालाई समावेश गरेर सोमबार चलाइएको खोप कार्यक्रममा २२९ जनाले सेवा लिएका थिए । बाह्र स्थानीय तह रहेको नुवाकोटमा त्रिशूली अस्पताल खोप केन्द्रमार्फत नौ र खरानीटार अस्पतालमार्फत बाँकी तीन स्थानीयवासीलाई सेवा दिने गरेर खोप कार्यक्रम चलाइएको थियो । रासस

ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

काठमाडाैं । ज्योति विकास बैंकले सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिकास्थित सामरी स्वास्थ्य चाैकीलाई  एक थान बेबी वार्मर प्रदान गरेको छ । सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरेकाे हाे । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ। बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल, शाखा प्रबन्धक सुजन बज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँले संयुक्त रुपमा म्यागङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट सामरी स्वास्थ्य चौकी, सामरीमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ।

चितवनमा बिना अनुमति औषधि ओसारपसार गर्ने ३ जना पक्राउ

चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका छन् । प्रहरीले भरतपुर–३ मा कोठा गरी बस्ने दिनेश तामाङको कोठाबाट लागुऔषध बिक्री वितरण गरेको सूचनाको आधारमा उनीहरुलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । कार्यालयले जारी गरेको सूचनामा तामाङको कोठाबाट अनुमति बिना ल्याइएको ट्रामा एक हजार १६३ ट्याब्लेट, अनार्गन २५ लेखिएको ४३६ ट्याब्लेट, स्टागन ४४० ट्याब्लेट फेला परेको जनाइएको छ । यस्तै दिनेशको कोठामा रहेका समीरको साथबाट रु पाँच हजार ३२५ र मोबाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ । यस्तै प्रदीपको साथबाट रु एक लाख २९ हजार ८२२ बरामद गरिएको र उनको घरमा चेकजाँच गर्ने क्रममा ट्रामा आठ हजार ७८० ट्याब्लेट, स्टागन ८०० ट्याब्लेट र नगद रु ११ हजार बरामद गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज पठाइएको उनले जानकारी दिए ।