कोभ्याक्स सुविधाको खोप ल्याउँदै सरकार, २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने

काठमाडौं । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी दिए । उनका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक पठाउने छ । विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइअन्स’ (गाभी) लगायत संस्थाले निम्न आय मुलुक भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ । ‘कोभिशिल्ड’ खोप विश्व स्वास्थ्य सङ्गठनमा सूचिकृत भएकोले नै कोभ्याक्सले सोही खोप पठाउन थालेको हो । यसअघि नेपालमा उक्त खोप लगाउन थालिएको छ । भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो । सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ । केही दिनअघि मात्र सरकारले कोभिशिल्ड २० लाख मात्रा खोप किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त खोप केही हप्तामा आउने आउने उहाँले बताउनुभयो । सोही किनेको खोप यही फागुन २३ गतेदेखि ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने भएको छ । यस्तै चीन सरकारले पनि सरकारलाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ । उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचिकृत गरिसकेको छ । खोप सोमबारसम्म यसैगरी पहिलो चरणको खोपअन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आगामी सोमबारसम्म खोप लगाइने भएको छ । आजसम्म मात्र खोप लगाइएकाले थप दुई दिन खोप लगाउने समय बढाएको खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए । दोस्रो चरणमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई खोप लगाइरहेका छन् । उनका अनुसार अहिले तीन लाख ८४ हजार जनाले खोप लगाइसकेको छन् ।

नर्भिक अस्पतालमा स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया सुरु

काठमाडौं । थापाथली नर्भिक इन्टरनेशनल हस्पिटलमा अब महिला सर्जनबाटै महिलाहरुको स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा रहेर महिलाहरुमा विकराल बन्दै गएको स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डा. बानिरा कार्कीले नर्भिकमा ब्रेस्ट क्यान्सरबाट पीडित बिरामीहरुको उपचार थालेकी हुन् । उनले हाल नर्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार र बुधबार स्तन क्यान्सर पीडित महिलाहरुलाई लक्षित गरी ओपिडी सेवा दिन थालेकी छिन् । उनको ओपिडी सेवा लिन चाहने महिलाहरुले दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि अस्पतालमा फोन गरेर अग्रिम नाम लेखाउनुपर्ने अस्पतालले जनाएको छ । डा. कार्कीका अनुसार प्रत्येक ४ महिलामध्ये १ महिला स्तन क्यान्सरबाट पीडित हुने गरेका पछिल्लो एक अध्ययनले देखाएको छ । यस्तै विश्वका ६ महिलामध्ये एकजनाको स्तन क्यान्सरकै कारण ज्यान जाने गरेको छ । यो अनुपात अझै बढ्ने संभावना देखिएकोले समेत नेपालमा स्तन क्यान्सरको विषयमा राम्रो जनचेतना आवश्यक रहेको डा. कार्की बताउँछिन् ।      

नेपालमा आकस्मिक प्रयोगका लागि चिनियाँ खोपले पनि पायो अनुमति

काठमाडाैं । सरकारले चिनियाँ कम्पनीले उत्पादन गरेकाे काेभिड खाेपलाई नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति दिएकाे छ । बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको कोभिडविरुद्धको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’लाई औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि अनुमति दिएकाे हाे । विभागले आकस्मिक प्रयोगका लागि मंगलबार उक्त खाेपलाई अनुमति दिएकाे हाे । विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगको लागि अनुमति प्रदान गर्ने प्रक्रियामा रहेका खोपहरुको सूचीमा यो खोप पहिलो नम्बरमा रहेकाे छ ।