एक महिनादेखि हुम्लाको सर्केगाड गाउँपालिकाकाे स्वास्थ्यचौकी कर्मचारी विहीन
सिमकोट । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै आआफ्ना कामले जिल्ला बाहिर जाँदा गाउँमा बिरामीलाई सास्ती भएको छ । एकएक इञ्चार्ज, अनमी र कार्यालय सहयोगी भए पनि सबै आफ्नो निजी काममा जिल्ला बाहिर गएकाले पन्छिन खोजेको स्थानीयवासी भीषण कार्कीले बताए । एक महिनादेखि बन्दस्वास्थ्यचौकीमा कार्यालय सहयोगी समेत नहुँदा बन्दको बन्दै छ । गाउँमा सामान्य बिरामी हुँदा सिटामोल दिने स्वास्थ्यकर्मीसमेत नभेटिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । सेवा लिन स्वास्थ्यचौकी पुगेका बिरामीले तीन महिनादेखि रित्तो हात लिएर घर फिर्ता हुनुपरेको बताइएको छ । रिपबासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे तीन घण्टाको पैदल हिँडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका छन् भने कोही जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको स्थानीयवासीको गुनासो छ । रिपबासी मात्रै नभएर वडा नं ३ उनापानीका सेवाग्राहीले समेत रिप स्वास्थ्यचौकीबाट सेवा लिने भएको हुँदा गाउँपालिकाका दुई वटा वडाका नागरिकलाई थप समस्या बनाएको छ । स्वास्थ्यचौकी इञ्चार्ज आफ्नो घर बनाउन सुर्खेत गएको र एक अनमी आफ्नै काममा व्यस्त रहेको स्थानीयवासीले आरोप लगाएका छन् । स्वास्थ्यचौकी इञ्चार्ज चन्द्रसिंह कार्कीले भने, “म कामविशेषले तराई झरेको हुँ, अबको एक दुई हप्तामा कार्य क्षेत्रमा फिर्ता हुन्छु । आफू तराई झरेको दुई हप्तापछि स्वास्थ्यचौकीमा कार्यरत अनमीको दुई महिनाको तालीम भएकाले उनी पनि तराई झर्दा कार्यालय बन्द रहेको इञ्चार्ज कार्कीले स्वीकार गरेका छन् । रासस
कर्णालीमा कोरोना खोप: पहिलो चरणमा छुटेकालाई लगाइँदै
कर्णाली । कर्णालीमा पहिलो चरणमा कोरोना खोप लगाउन छुटेकालाई आज लगाउन थालिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा छुटेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ । कर्णालीमा पहिलो चरणमा पहिचान गरिएका दुई हजार ३६० जनाले विभिन्न कारणले खोप लगाएका थिएनन् । प्रदेश स्वास्थ्य निर्देशक डा रबिन खड्काले छुटेकालाई दोस्रो चरणको अभियानअन्तर्गत पहिलो दिन अर्थात् आज खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार दोस्रो चरणका लागि २० हजार जनालाई पुग्ने खोप माग गरिएको छ । “पहिलो चरणमा मौज्दात रहेको खोप लगाउँदैछौँ, केन्द्रबाट आइपुगेको छैन्”, निर्देशक डा खड्काले भने, “दुई मात्रामा लगाउनुपर्ने हुँदा मौज्दात छ, तत्काल मौज्दात रहेकै खोप लगाउँछौँ ।” दोस्रो चरणमा खोप केन्द्र पनि बढ्ने बताइएको छ । जनशक्तिको व्यवस्थापन गरेर स्थानीय तहसम्म पुगेर खोप अभियान सञ्चालन गरिने उनको भनाइ छ । कर्णालीमा पहिलो चरणमा नौ हजार ४२० जना अर्थात् ८२ प्रतिशतले मात्र यो खोप लगाएका थिए । पहिलो चरणमा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी तथा सरसफाइकर्मी, एम्बुलेन्स चालक, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाउने व्यवस्था मिलाएको थियो । यसैबीच सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गर्दैछ । दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई प्रदेश अस्पताल कालागाउँबाट निःशुल्क कोरोना खोप लगाइने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले बताए । नगरपालिकाले पहिलो चरणमा छुटेका, स्थानीय तहका जनप्रतिनिधि, नगरका निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय समूहका कर्मचारी (अदालत, वकिल) र पत्रकारलाई यही फागुन ८ गतेसम्म खोप लगाउन मिति निर्धारण गरेको छ । यो खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि पुनः दोस्रो मात्रा लगाउनुपर्दछ । माघ १४ गतेबाट पहिलो चरणको खोप लगाउन थालिएको थियो । ‘कोभिशिल्ड’ नामक यो खोप भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो । विश्व स्वास्थ्य सङ्गठनबाट आपत्कालीन प्रयोगका लागि स्वीकृति पाएसँगै खोप लगाउन थालिएको हो ।
शनिबार नेपालभर ५७ जनामा संक्रमण पुष्टि
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ५७ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ६१४ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १ हजार ६३१ पुगेकाे छ । नेपालमा आजसम्म २१ लाख १३ हजार ५४९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १३३ जना निकाे भएसँगैं हालसम्म २ लाख ६८ हजार ९२९ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा कसैकाे पनि मृत्यु भने भएकाे छैन ।